४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आज रक्तसञ्चार दिवस

फाइल तस्वीर

देशभर आज अन्ठाउन्नौं रक्तसञ्चार दिवस मनाइँदैछ। हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ।

विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो। रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत संकलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन्। केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा  रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।

यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए। केन्द्रको गत वर्षको तथ्यांक अनुसार नेपालमा वार्षिक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ। मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले बताए।

‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ। अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन्। त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा  जिल्लास्तरीय रक्तसञ्चार सेवा छन्।

केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पौडेलका अनुसार रगतसँगै रक्ततत्वको बढ्दो मागसँगै रक्तदाताको संख्या बढाउन, रगत परीक्षणमा नयाँ प्रविधिको प्रयोग गर्न, रक्त सेवा शुल्कको एकरूपता, रक्तसञ्चार केन्द्रको आर्थिक सवलीकरण र दीर्घकालीन सेवा प्रवाह चुनौतीको रूपमा रहेका  छन्। यस्तै रगतको चिकित्साजन्य प्रयोग चुनौतीका रूपमा रहेको छ। नियमित रूपमा रक्तदाताको संख्या बढाउन साझेदार निकायले आह्वान गर्दै आएका छन्।

प्रकाशित: १२ श्रावण २०८० ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App