१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

दाङको चार लेन सडक रद्द: ७ करोड खर्चेर सडक भत्काइयो, मर्मत गर्न साढे दुई करोड

झण्डै पाँच वर्ष अघि साँघुरो दाङको घोराही तुलसीपुर सडक खण्डलाई चार लेनमा बिस्तार गर्ने सरकारको महत्त्वाकाङ्क्षी योजना बन्यो। झण्डै डेढ अर्ब लागतमा निर्माण गर्ने भनिएको यो सडक बिस्तारका लागि भारतीय निर्माण कम्पनीलाई जिम्मा दिइयो। यो अवधि सम्म सडक निर्माणका लागि भन्दै सडक खनियो, तर विस्तार भएन। सडक विस्तारका नाममा भएको खनीखोस्रीमै करोडौँ रकम खर्च भयो। अन्ततः खनिएको सडकलाई टालटुल पारेर पुनः यो सडकलाई पहिलेकै अवस्थामा फर्काउन थालिएको छ, त्यो पनि करोड रकम खर्चिएर।

२०७५ माघ १४ गते देखि चार लेन सडक निर्माण गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले नेपाल सरकारबाट ठेक्का पाएको थियो। सडकलाई विस्तार गर्ने जिम्मा पाएको यो भारतीय कम्पनीले स्थानीय पेटी ठेक्का कम्पनी (नेपालका निर्माण कम्पनी) लाई निर्माणको जिम्मा दियो। भारतीय निर्माण कम्पनीबाट सुरुमा यो सडक विस्तारको जिम्मा अष्टभैरव निर्माण सेवा कम्पनीले पायो।

यो कम्पनीका मालिक एमाले केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डे हुन्। पाण्डेले सुरुवाती चरणमा काम ‘गरेको जस्तो’ देखाए। सडक चौडा पार्नका लागि खनीखोस्री गरे। तर उनी यो निर्माणको काममा बिस्तारै पछि हट्दै जान थाल्यो निर्माणका क्रममा मजदुरहरुलाई ठगी गरेको उजुरीका चाङ दाङ प्रहरीमा लाग्यो। पछि भारतीय निर्माण कम्पनीले अनुपसँगको सम्झौता तोड्यो, अनि अर्को पेटी ठेक्का कम्पनी चुन्यो। काम भने उस्तै शून्य प्राय।

‘फोरे’ लेन सडक आयोजनाका अनुसार सडक चार लेन गर्ने ठेक्का पाएको भारतीय निर्माण कम्पनीले ६/७ वटा कम्पनीलाई पेटी ठेक्का दिएको थियो। तर कुनै पनि कम्पनीले चार लेन सडक निर्माणको कामलाई गति दिनै सकेनन्।

‘भारतीय निर्माण कम्पनीले चार लेन सडक निर्माणका लागि भन्दै ६/७ वटा नेपालका निर्माण कम्पनिहरुसँग सम्झौता गरेको छ,’ आयोजना प्रमुख बिसुन्दास लामाले भने ‘तर कुनै पनि कम्पनीले चार लेन सडक बिस्तारको काम गर्नै सकेनन्, सबै जिम्मा लिने र भाग्ने मात्रै भए।’

सडक निर्माणका नाममा भएको दुर्दशाले स्थानीयवासी तथा यात्रुहरूले पाँच वर्ष सम्म सास्ती पाएरै बसे। सडक विस्तारका लागि भन्दै खनिएको सडक यात्रुहरूका लागि एम्बुस थापे सरह बन्यो। यो सडकमा खनिएका खाल्डाकै कारण दर्जनौँ सवारी दुर्घटना भए। दुई दर्जन बढिले ज्यानै गुमाए। यसै गरी धुलोका कारण नागरिकहरु उस्तै पिल्सए।

२०७८ साउन २७ मै निर्माण सकिसक्ने गरी सम्झौता भएको योजनाको सम्झौता अवधिलाई विभिन्न कारण देखाउँदै पटक पटक लम्ब्याइयो। पहिलो चरणमा कोरोना संक्रमणलाई कारण देखाएर २०७९ वैशाख सम्म म्याद थप भएको यो योजनाको अवधि यसै वर्ष सम्म पुग्यो। तर ५ वर्षको अवधिमा भएको कामको प्रगति भनेको जम्मा ९ प्रतिशत मात्रै रह्यो।

‘चार लेन सडक निर्माणको कामको प्रगति कुनै पनि आधारमा सन्तोषजनक मान्न सकिने अवस्थै रहेन,’ आयोजना प्रमुख लामाले भने ‘यति लामो अवधि सम्म यो सडकको काम भएको भनेको जम्मा ९ प्रतिशत मात्रै हो।’

ठेक्का सम्झौता भएको ५ वर्षको अवधि सम्म पनि कामले गति लिन नसकेपछि सडक आयोजना ठेक्का रद्दको प्रक्रियामा लाग्यो। दुई महिना अघि सडक निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनीसँग सरकारले ठेक्का तोडेको छ।

‘फोर’ लेन सडक विस्तारको नाममा भएको सडक अधकचल्टै बन्यो। निर्माणका लागि सुनिश्चित भएको झण्डै डेढ अर्ब रकम मध्य ६/७ करोड रुपैयाँ खेर गयो। आयोजनाका अनुसार यो सडक निर्माणका लागि भन्दै झण्डै ७ करोड रकम खर्च भैसकेको छ।

‘सडक निर्माणका क्रममा अहिले सम्म झण्डै ७ करोड रुपैयाँ खर्च भएको छ,’ आयोजना प्रमुख लामाले भने।

फोर लेनका नाममा अहिले सम्म ७ करोड खर्चिएर झनै ध्वस्त बनेको सडकलाई चार लेनमा विस्तार गर्ने तत्कालको योजना सरकारसँग छैन। बरु यो सडकलाई पुरानै अवस्थामा फर्काउन फेरी करोडौँ बजेट खर्च गरिँदै छ। चार लेन सडकको ठेक्का तोडिएपछि सरकारले ध्वस्त बनेको यो सडकलाई मर्मत गरेर पुरानै अवस्थामा फर्काउने गरी मर्मतको प्रक्रिया पुरा गरिसकेको छ।

सडक डिभिजन कार्यालय दाङ मार्फत मर्मतको प्रक्रिया प्रारम्भ भएको यो सडकलाई अब पुरानै अवस्थामा फर्काइने छ, त्यो पनि झण्डै २ करोड ६० लाख रुपैयाँ खर्च गरेर। सडक डिभिजन कार्यालयका अनुसार यो सडकलाई मर्मत गरेर पुरानै अवस्थामा फर्काउनका लागि दुई क्लष्टरमा ठेक्का लगाइएको छ।

एउटा ठेक्का एक करोड ४२ लाख रुपैयाँको छ भने अर्को ठेक्का एक करोड १६ लाखको छ।

‘फोर लेन निर्माणको ठेक्का तोडिएपछि अहिले यो सडकको मर्मतको जिम्मा सडक डिभिजन कार्यालयले पाएको छ,’ सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले भने ‘अहिले हामीहरुले यो सडकको मर्मतको काम गर्ने गरी दुई निर्माण कम्पनीहरूलाई दुई क्लष्टरमा विभाजन गरेर जिम्मा दिएका छौँ।’

यो सडक मर्मतको काम आगामी असोज सम्म गरिसक्नु पर्ने गरी सम्झौता भएको छ। सडक मर्मतको जिम्मा पाएका निर्माण कम्पनीहरूले पहिलेको सडकको क्षेत्रफल भित्र मात्रै रहेर मर्मतको काम गर्ने छन्। उनिहरुले पहिले कायम सडकको क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्ने र अलि ठुलो क्षेत्रफलमा खनिएको सडक पुर्न कालोपत्रे सम्म गर्ने छन्।

‘अब हुने काम भनेको पहिले रहेको दुई लेन सडकको क्षेत्रफल भित्र मात्रै मर्मत हुने हो,’ सडक डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने ‘पहिलेको सडकको क्षेत्र भन्दा बाहिर गएर काम हुँदैन।’ 

सडक डिभिजन कार्यालयका अनुसार फोर लेन विस्तारका लागि खनीखोस्री गरिएको यो सडक अब पुनः पहिलेकै अवस्था दुई लेनमै कायम हुनेछ।

प्रकाशित: ११ श्रावण २०८० ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App