७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

उपरदाङगढीको जीर्णोद्धार थालियो

चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्घार सुरु गरेको हो।

यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए। पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोद्घार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। उनले पुरातत्त्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको बताए।

‘गढीको पुरानो स्वरूप बिग्रँदैन’, उनले भने, ‘जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौं।’

उनले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताए। गाउँपालिकाको आन्तरिक स्रोतबाट जीर्णोद्घारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि संघ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताए।

उनले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताए। चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिएको छ।

गाउँपालिकाले यस वर्ष उक्त गढी लगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ। ‘उपरदाङगढीको विकासका लागि गाउँपालिकाको बजेट पर्याप्त छैन’, अध्यक्ष गुरुङले भने, ‘प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर यसको विकास गर्छौं।’

पुरानो सदरमुकाम तथा नेपाल अंग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिंराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा अघि बढाइने उनले बताए।

सडक सञ्जालले जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको संख्या बढेको छ। जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहज रूपमा उपरदाङगढी पुगिन्छ। शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन्।

स्थानीयवासी गणेशबहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको संख्या बढेको बताए। उनले दैनिक सयौंको संख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेको बताए। यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन्। उनका अनुसार गढीमा मासिक एक लाख रुपैयाँको टिकट बिक्री भएको छ। गढीमा घुम्न आउनेबाट पालिकाले ५० रुपैयाँ शुल्क लिने गरेको छ।

इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ। नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको बताए।

चितवनका डाँडाकाँडामा पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उनको भनाइ छ।

सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो। इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो। तल्कालीन बाइसे चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अंग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए।

गढी वरपर कुँदिएका ढुंगाको पर्खाल छ। भित्र हतियार घर, कुँवा र दुई कोठे घर छन्। समुद्री सतहबाट एक हजार दुई सय ७५ मिटर उचाइमा रहेको उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ। स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन्। यो रमणीय स्थानमा चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ। यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन्।

प्रकाशित: ११ श्रावण २०८० ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App