१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जहाज कुर्दा कुर्दै कोल्टीमा बिरामीको मृत्यु

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट एम्बुलेन्स नभएपछि जिपमा रिफर गरिर्दै बिरामी। फाइल तस्बिर /नागरिक

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन्। कार्कीको थप उपचारका लागि नेपालगन्ज वा धनगढी मध्ये सिटी स्क्यान सहीको सुविधा भएको अस्पतालमा रिफर गरिएको थियो।

रिफर गरिएका ६० बर्सिया कार्कीलाई आफन्तले जहाज आउने पर्खाइ गरिरहेका थिए। खत्याग गाउँपालिका १ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो। मार्तडी कोल्टी र कर्णाली कोरिडोरको सडक बाटो बर्सादका कारण बिग्रिएर अवरुद्ध भएपछि आफन्त जहाज कुरी बसेका थिए। 

रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआएपछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए। सडक बाटो संभव नभएको, जहाज नआएको र हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन्। 

बिरामी रातापानीबाटै आउन ढिला भइसकेको थियो। उच्च रक्तचाप सहितको समस्याले मान्छे चिन्न र बोल्न समेत नसक्ने अवस्था भएकोले सिटी स्क्यान नगरी उपचार संभव थिएन, हामीसँग त्यो सुविधा छैन्, हामीले रिफर गर्र्यौ, जहाज आएन, सडकबाट लिन झन् संभव नै थिएन, दुर्भाग्य बचाउन सकिएन, डाक्टर प्रतिक न्यौपानेले भन्नु भयो। तीन महिना यता मात्रै ४ बढीले जहाज कुर्दै र सडक बाटो लैजाँदै गर्दा ज्यान गुमाएका छन्।

रिंगाटा लाग्ने, उल्टी हुने, बोल्न नसक्ने र श्वास फेर्न समेत गाह्रो हुँदै जाने समस्या अरूभन्दा जटिल नै थियो, समयमै जहाज वा हेलिकप्टर आएर लिन सके बच्ने अवस्था भने हुन्थ्यो, त्यो कोल्टीमा समस्या नै छ, डाक्टर प्रतिकले थप्नु भयो। डाक्टर प्रतिक आएदेखि नै चार जना बढीले ज्यान गुमाइसकेका छन्। 

यता नागरिक उड्डयन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज नआएको बताएको छ। घाम लागेकै दिन पनि नियमित तालिका मिचेर अर्को ठाउँको उडान भर्ने विमान कम्पनीले यति बेला मौसमलाई दोष देखाउन झनै सजिलो उपाय बनेको छ। कोल्टीमा जहाज भन्दा पहिला काल आउने गरेकोमा यो पटक पनि दोहोरिएको छ।

लामो समय पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको छ। पाँच जना भएकोमा भने केही समयमै तीन जना बाहिरिएर २ जनामा सीमित बनेको छ। जिल्ला अस्पतालमा स्थायी दरबन्दी नहुँदा पनि कोल्टीले स्थायी दरबन्दीको डाक्टर पाएको छ।

तर भवन, उपकरण, सुविधा र आवश्यक संरचना नहुँदा डाक्टरलाई समेत उपचार सेवा दिन वातावरण नै छैन्। बिरामी राख्ने बेड नै हुन्नन, भवन नै छैन्, डाक्टर भएर मात्रै कहाँ हुन्छ, डाक्टर प्रतिकको भनाई छ।

कोल्टीमा जेठ पहिलो साता ३ दिनको अवधिमा रिफर गरेका २ जना बिरामीको ज्यान गएको थियो। बुढीनन्दा नगरपालिका ३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरीलाई जहाज नआएपछि पैदल मार्गबाट धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

बिरामीले जहाज पर्खी बसे पनि उनीहरूका लागि काल पहिला आउने र विमान पछि हुने अवस्था यो पटक पनि निरन्तरता पाएको स्थानीय समेत रहेका नेकपा एमाले नेता जनक कुमार विष्टले बताएका छन्।

अघिल्लो वर्षको अन्तिमतिर बुढीनन्दा १० का निवर्तमान वडा अध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो। हृदयाघातका बिरामी बोहरालाई कोल्टीमा जहाज कुर्दा काल पहिला आएको थियो।

सिजनमा हवाई कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन्। पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यत्र जाँदा यहाँका बिरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्था छ।

उसोत कोल्टी विमान स्थलमा मौसम खराबी बाहेक सातै दिनको उठान तालिका छ। सिता एयर बिहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ। बाजुरादेखि नेपालगन्जसम्मको हवाई उडान समय ३० देखि ३५ मिनेटको हुने गरेको छ।

एक घण्टा भित्रै उपचार सेवा दिनु पर्ने बिरामीलाई दुर्गम क्षेत्रबाट पठाउनै संभव नहुने भएकोले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता यहाँका स्थानीयलाई छ। पालिकाका तर्फबाट सकेको प्रयास गरिएको र लामो समयदेखिको डाक्टर विहीनताको अवस्थाबाट मुक्त गराएर सकेको सेवा प्रवाह भइरहेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा संघ, प्रदेश र पालिकाको सयुक्त लगानी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा चार जनाको दरबन्दी कायम गरिएको छ। तर पनि सुविधा, संरचना, उपकरण र अन्य अवस्थाले सेवा भनेजस्तो दिन सकिएको छैन्।

हेलिकप्टर चार्टर गर्न सबैले नसक्ने, हवाई सेवा नियमित छैन्, एम्बुलेन्स सेवा समेत नभएपछि बिरामीलाई समस्या हुने नै भयो, डाक्टरहरूको सामूहिक गुनासो छ। एम्बुलेन्स नै नभएर सामान्य जिपमा जानु पर्ने हुने हुँदा अक्सिजन समेत जोड्न समस्या हुने अवस्था यहाँका नागरिकले भोग्नु परेको छ। कोल्टी क्षेत्रका स्थानीयले कहिल्यै हवाई सेवा, कहिल्यै चिकित्सक सेवा कहिल्यै औषधी अभावको समस्या वर्षेनी भोगिरहन बाध्य छन्। 

प्रकाशित: १० श्रावण २०८० १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App