१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एक वर्षमा २५२ दुर्घटना,६१ जनाको मृत्यु

आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा सवारी दुर्घटनामा परेर ६१ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष २५२ वटा सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

उक्त दुर्घटनामा २०५ जना गम्भीर घाइते र ४०६ जना सामान्य घाइते भएका छन्। २०७९/८० मा ४७ हजार ८९९ वटा सवारी कारबाहीमा परेको थियो। कारबाहीबाट ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी निरीक्षक) वसन्त आचार्यले जानकारी दिए। 

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३१७ वटा सवारी दुर्घटना हुँदा ७० जनाले ज्यान गुमाएका थिए भने १८० जना गम्भीर घाइते भएका थिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा मकवानपुरमा ३५३ वटा सवारी दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ। 

तीव्र गति, साँघुरा, बिग्रेको र घुमाउरो बाटोका कारण मकवानपुरमा दुर्घटना बढेको ट्राफिक प्रमुख आचार्यले बताए। ‘दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन, तीव्र गति र बाटोको दुरावस्था नै हो। दुर्घटना न्यूनीकरणका लागि हामीले विभिन्न सचेतनामूलक कार्यहरू गर्नुका साथै चेकिङलाई कडाई गरिरहेका छौँ’, आचार्यले भने, ‘ट्राफिक सचेतना अभियान लिएर स्कुलदेखि विभिन्न टोल समुदायसम्म पुगेका छौँ।’

 मकवानपुरमा असार १ गतेबाट मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेले अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरेको छ भने साउन १ गतेबाट बैङ्किङ प्रणालीमार्फत राजश्व संकलन कार्य सुरु भएको छ। असार महिनामा ४३ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने नोक्सानी र यसको असर सम्बन्धी कक्षा लिएका छन्। साउन १ गतेदेखि हालसम्म ३४० जनाले बैङ्किङ प्रणालीमार्फत दुई लाख ४६ हजार रुपैयाँ राजश्व तिरेका छन्। 

प्रकाशित: १० श्रावण २०८० ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App