भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) मा सोमबार दसैंको खम्ये (निखर कालो ठूलो राँगो) भित्र्याएको छ। महिषासुरको प्रतीक मानिने यो खम्येलाई दसैंको नवमीको दिन ब्रम्हायणीमा लगेर बध गरिने छ। यसअघि नवमीसम्म द्योछेंमै पालेर राखिने छ। राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको बीचमा भित्र्याइन्छ।
भित्र्याएको खम्ये व्यक्तिले पैसा हालिदिएर किनिदिने गर्दछन्। त्यस अनुसार यो वर्ष भक्तपुर नगरपालिका वडा नं ६ चोर्चाका रत्नभक्त दुमरुले खम्ये किनिदिएर दान गरेका थिए। उनले एक लाख रुपैयाँं तिरिदिएर खम्ये किनिदिएका थिए। जिल्लाकै चाँगुनारायण नगरपालिका ७ बागीश्वरीस्थित बाल्मिकी पशुपालन तथा कृषि फर्मबाट खम्ये ल्याइएको थियो। यो राँंगो पालेर राखेको ४ वर्ष ७ महिना पुगेको जनाइएको छ।
जीउमा घाउ चोट नलागेको, एउटै रंगको, आधा जीउँको रौं अगाडि र आधा जीउँको रौं पछाडि फर्किएको साथै जीउमा चक्र भएको हुनपर्ने मान्यता अनुसार उपयुक्त राँगो यसअघि खोजी हुन्छ। यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैसा इच्छाएको व्यक्तिले राखिदिएपछि भित्राइने चलन छ।
भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ। वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन्। प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ। चढाउन चाहने भक्तजनले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ।
महिषासुरको प्रतीक खम्ये नौरथाको नवमी कालरात्रीमा वध गरिन्छ । यसअघि नवमीमा द्योछेंबाट नगरभरि राँंगोलाई दौडाई जात्रा गरिन्छ। नगर परिक्रमापछि नगरको पूर्वस्थित ब्रम्हायणीमा लगेर राति राँगो वध गरिन्छ। यसलाई स्थानीय नेपालभाषामा खम्ये जात्रा भनिन्छ। दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ। मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर लगिन्छ। यो क्रममा बाटोभरि हजारौं नगरबासी दुवै छेउमा बसेर जात्रा हेर्ने गर्छन्।
नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्छ। मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन्। दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक लगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन्। राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ।
प्रकाशित: ८ श्रावण २०८० ०८:५५ सोमबार





