गण्डकी प्रदेशमा गत वैशाख यतामात्र १९३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। ती मध्ये एकजनाले तनहुँमा यो संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकले आगामि केही महिना यो संक्रमण अझै तिब्र बढ्ने आँकलन गरिसकेका छन्। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको उनीहरुको भनाई छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।
गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपत्तकालिन कार्यसंचालन केन्द्रका अनुसार गत जनवरी, फेबुअरी, मार्चमा गण्डकी प्रदेशमा १२–१२ जनामा डेंगी संक्रमण देखिएको थियो। यो संख्या अप्रिलमा ४६, मे मा ६२, जुनमा २७ र जुलाईमा अहिलेसम्म ४८ जनामा संक्रमण पुष्टि भएको छ। वर्षायाम लागेपछि डेंगी संक्रमण तिब्र रुपमा बढ्ने चिकित्सकले बताएपनि गण्डकी प्रदेशमा भने बाह्रैमहिना जसो संक्रमण हुने गरेको उनीहरुको भनाई छ।
केन्द्रका संयोजक तथा प्रवक्ता डा. नारायण श्रेष्ठ भन्छन, ‘अबका चारमहिना डेंगी संक्रमण बढ्ने समय हो । त्यसैले अझ बढी ख्याल गर्नुको विकल्प छैन।’ उनका अनुसार वर्षायामको सिजन भएको र यो बेला पानी जम्ने गरेकोले डेंगी संक्रमण गराउने लामखुट्टे फैलाउन सहज हुने गरेको छ। ‘साउनदेखि कात्तिकसम्म अधिक मात्रामा संक्रमण फैलने गर्छ। यो समयलाई पीक सिजन नै भने पनि हुन्छ,’ श्रेष्ठले भने, ‘तर, अरु महिनामा पनि गण्डकी प्रदेशमा डेंगीका धेरथोर बिरामी फेला परिरहेका छन्। बाह्रैमास नै डेंगीको त्रास छ। संक्रमितको संख्या धेरै र थोरै भन्ने मात्र हो।’ चिसो मौसममा डेंगी संक्रमण घट्ने गरेपनि शुन्यमा भने नझरेको उनले बताए।
‘पुस–माघको चिसोमा पनि डेंगीका बिरामी फेला परेका छन्। त्यसैले यो रोगका लागि पीक र अफ सिजन भन्ने अवस्था आयो। वर्षायामको साउनदेखि कात्तिकसम्म भने पीक सिजन हो,’ उनले भने । चिसो समयमा संक्रमण कमजोर भएपनि शुन्यमा नझरेको उनले बताए। चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ।
‘अरु लामखुट्टे मरेपछि त्यसको जीवनचक्र नै सकिन्छ। तर, डेंगी फैलाउने लामखुट्टे भने मरेपछि पनि त्यसको अण्डाबाट निस्केको लामखुट्टे समेत संक्रमण फैलाउन सक्ने भएकोले बाह्रैमास यो रोगको त्रास भएको हो,’ उनले भने, ‘जलवायु परिवर्तनको असर पनि होला, अरुखालका लामखुट्टेको मरेपछि जीवन सकिन्छ। तर डेंगी फैलाउन लामखुट्टेको जीवनचक्र चलिरह्यो।’ यो लामखुट्टे बाहै्रमास हुनुमा जलवायु परिवर्तन र त्यसले लामखुट्टेलाई बाच्नका लागि अनुकुल वातावरण सिर्जना गरेको अनुमान गर्न सकिने उनले सुनाए।
गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपत्तकालिन कार्यसंचालन केन्द्रका अनुसार गत जनवरी, फेबुअरी, मार्चमा गण्डकी प्रदेशमा १२–१२ जनामा डेंगी संक्रमण देखिएको थियो। यो संख्या अप्रिलमा ४६, मे मा ६२, जुनमा २७ र जुलाईमा अहिलेसम्म ४८ जनामा संक्रमण पुष्टि भएको छ। वर्षायाम लागेपछि डेंगी संक्रमण तिब्र रुपमा बढ्ने चिकित्सकले बताएपनि गण्डकी प्रदेशमा भने बाहै्रमहिना जसो संक्रमण हुने गरेको उनीहरुको भनाई छ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले योपटक पनि डेंगी संक्रमण सुरु भईसकेको बताए। निर्देशक खड्काले भने, ‘तापक्रम अनुकुल र वर्षा भएपछि लामखुट्टे सक्रिय हुँदा यो वर्ष संक्रमणले गति लिएको छ।’ गतवर्ष गण्डकी प्रदेशका कास्कीमा सबैभन्दा बढी ७०२ जनामा डेंगी संक्रमण भएको थियो। त्यसपछि तनहुँमा ४८४, गोरखामा २८१, पर्वतमा २७७ र स्याङजामा १७८ जनामा यो संक्रमण देखिएको थियो। प्रदेशका अरु जिल्लामा पनि डेंगी संक्रमण देखिएपनि बिरामीको संख्या कम रहेको उनले सुनाए।
पोहोर सेप्टेम्बर महिनामा सबैभन्दा बढी बिरामी फेला परेका थिए। अहिले पनि त्यही समस्या निम्तन सक्ने सम्भावना रहेको उनले बताए। अघिल्लो वर्ष राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, दाङ, लगायतका जिल्लामा डेंगीले सताएको थियो। डेंगी कमजोर बनाउन सबैभन्दा पहिलो यो रोग फैलाउने लामखुट्टेलाई नष्ट गर्नुको विकल्प नरहेको उनले बताए।
‘लामखुट्टेको लार्भाको सर्च र डिस्ट्रोय नै संक्रमण कमजोर बनाउने बलियो उपाय हो। समुदाय नै सचेत भएर त्यसमा लाग्ने हो भने यो रोग सर्नबाट बच्न सकिन्छ,’ उनले भने, ‘रोगको लहर कतिखेर आउने भन्ने यकिन हुँदैन। त्यसैले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्नु नै सबैभन्दा बलियो विकल्प हो।’ पोहोर गण्डकी प्रदेशका सबैजसो जिल्लामा यो रोग फैलिँदा नागरिकमा त्रास फैलिएको थियो।
केन्द्रका अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। सन् २०२३ को हालसम्म ३०६ जनामा संक्रमण भईसकेको छ। अहिले पनि म्याग्दी, कास्की र लम्जुङमा यसको संक्रमण बढी छ।
फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाई छ। पोखरामा खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।
प्रकाशित: ७ श्रावण २०८० १०:३४ आइतबार