२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बरामद गरिएको शिला गोरखकाली मन्दिरमा राख्न माग

गोरखा नगरपालिका-७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न संघसंस्थाहरूले माग गरेका छन्।

अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको पाइएपछि त्यसलाई गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिषरमा राख्न माग गरिएको  गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रका दिनेश दानीले उल्लेख गरे।

‘टल्किने ढुंगा गोरखाको पवित्र धार्मिकस्थल गोरखकाली र गोरखनाथ भूमिमै राख्नुपर्छ भनेर हामीले जिल्ला प्रशासन कार्यालयमा  ध्यानाकर्षण पत्र पनि बुझाइसकेका छौं, उनले भने,‘केन्द्रसहित जिल्लाका अन्य संघसंस्थाहरूले पनि सो ढुंगा बाहिर जिल्लामा नपठाउन अनुरोध गरेका छन्।’

करिब ५४ किलोग्रामको टल्कने अलौकिक शिला कुनै पनि बहानामा गोरखा जिल्लाबाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्नेमा विभिन्न संस्थाले माग गरेका हुन्। बिहीबार विभिन्न आठभन्दा बढी संघसंस्थाले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई कार्यकक्षमै पुगेर ध्यानाकर्षण-पत्र समेत बुझाएका थिए।

टल्कने शिला पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अवस्थामा जिल्ला प्रहरीले बरामद गरेको थियो। ‘एकातिरबाट लाइट बाल्दा अर्कोतिर वारपार हुन्छ,’ उक्त कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘बरामद गरिएको ढल्कने शिला चोरी गरिएको नभई पुख्र्यौली रूपमा घरमा राखिएको अवस्थामा पाइएको थियो।’

प्रकाशित: ५ श्रावण २०८० ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App