९ पुस २०८१ मंगलबार
image/svg+xml २७:५९ अपराह्न
समाज

लम्पीस्कीनले उदयपुरमा ३० हजार पशुचौपाया प्रभावित

त्रियुगा नगरपालिका ४ स्थित किसानको लम्पीस्कीन रोगी गाई। तस्बिरः महेश्वर

पशुचौपायाका लागि प्रकोपको रुपमा फैलिएको लम्पीस्कीन न रोगले उदयपुरका किसान हैरान भएका छन्।

लम्पीस्कीनले जिल्लाबासी किसानका हजारौँ गाई, गोरु र राँगा, भैसी बिरामी पर्नुका साथै सयौँको संख्यामा मरेर क्षति पुगेको प्रतिवेदन भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। केन्द्रले संकलन गरेको अध्ययन प्रतिवेदन अनुसार ३० हजार बढी पशुचौपाया लम्पीस्कीन रोगको शिकार भएका छन् भने झण्डै ३ सय हाराहारी मरेका छन्।

कार्यालयले २०७९ चैत्र १२ देखि २०८० असार २१ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा गरेको सर्भेक्षण प्रतिवेदन अनुसार २ सय ६८ वटा गाई, गोरु र राँगा भैसी मरेर किसानलाई ठूलो क्षति पुगेको विज्ञ केन्द्र प्रमुख डा. रामनारायण साहले बताए। उनका अनुसार लम्पीस्कीन रोग उदयपुरका चौपायामा पहिलो पटक २०७७ सालमा सदरमुकाम त्रियुगा नगरपालिकाका केही वडामा देखा परेपछि एकैचोटी ०७९ मा देखा परेको हो।

०७७ मा देखा पर्दा धेरै कम पशुचौपायामा मात्र देखिएको यो रोग एक्कासी ०७९ मा आएर भने प्रकोपको रुपमा देखिएको प्रतिवेदनले देखाएको छ। सुरुमा कम पशुचौपायामा देखिएको यो रोगले पछिल्लो समय बग्रेल्ती पशुचौपायालाई आक्रमण गरेको र एकैचोटी चारैतिर किसानका गाई, भैसी बिरामी हुँदै मर्न थालेको रिपोर्ट आएको उनले बताए। देशव्यापी रुपमा फैलिएको पाइएपछि यसबारे संसदमै कुरा उठेको र सरकारले सचेत रहन आग्रह गर्दै खोप र औषधि उपचारको व्यवस्था गर्न निर्देशनसमेत गरेको थियो।

०७७ पछि एकैचोटी २०७९ चैत्र १२ गते देखा परेको रिपोर्ट पशु विज्ञ केन्द्रलाई प्राप्त भएकोमा विस्तारै प्रकोपको रुप लिदै भटाभट पशु मर्न थालेपछि यथार्थ विवरण लिन संकलन कार्य गरिएको केन्द्रले जनाएको छ। डा. साहका अनुसार लामखुट्टेले टोक्दा सर्ने यो रोग खासगरी बृद्ध तथा कम उमेरका, शारिरीक रुपमा कमजोर पशुचौपायालाई छिटो लाग्ने गरकोे अध्ययनले देखाएको छ। लामखुट्टेले टोक्दा छोड्ने ‘भेक्टर’ नामक भाईरसको माध्ययमबाट यो रोग पशुचौपायामा लाग्ने डा. साह बताउँछन्। उनका अनुसार उदयपुरमा ३० हजार बढी पशुचौपाया यसवर्ष लम्पीस्कीन रोगबाट प्रभावित भएका छन्।

जसमध्ये २५ हजार पशुचौपाया उपचारपछि निको भएको भए पनि ५ हजारभन्दा बढी अझै प्रभावित रहेको साहले बताए। एकपछि अर्को पशुहरुमा सर्दै जाने र निको हुने क्रम पनि चलिरहेको साहका बताएका छन्। उनका अनुसार यसको पूर्ण उपचार हुने औषधि नभए पनि जडिबुटी, एन्टिबायोटिक औषधि प्रयोग गर्ने तथा निरोगी पशुलाई सुई (भ्याक्सिन) दिएर रोकथाम गर्ने काम सबै स्थानीयतहहरुमा भइरहेको छ। भेटरीनरी अस्पतालले संकलन गरेको प्रतिवेदनमा लम्पीस्कीन प्रभावित गाई गोरुको संख्या १७ हजार ४ शय १० वटा, राँगा भैंसी ९ सय ३५ वटा प्रभावित भएको उल्लेख छ। त्यस्तै गाई गोरु २ सय ३०, राँगा भैसी ३८ वटा यो रोगका कारण मरेको कार्यालयको तथ्यांकले देखाएको छ।

सबैभन्दा बढी पशुचौपाया जिल्लाको बेलका नगरपालिका ७ हजार ५ सय ५० प्रभावित भएका छन् भने १ सय ४६ वटा मरेका छन्। त्यस्तै त्रियुगा नगरपालिकामा ६ सय, चौदन्डीगढी नगरपालिका २ सय र कटारी नगरपालिकामा ७ सय पशु चौपायालाई लम्पीस्कीन विरुद्ध खोप लगाइएको पशु विज्ञ केन्द्रले जनाएको छ।

उदयपुरकै लिम्चुङबुङ गाउँपालिकाले भने जेठ पहिलो सातादेखि नै लम्पीस्कीन रोगको खोप दिन थालेकाले कुनै पशुचौपाया मर्न नपाएको जनाएको छ। देशव्यापी प्रकोपको रुपमा फैलिदै गएको पाइएपछि गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेर सबै वडाका रोग देखा परेका पशुचौपायालाई घर गोठमै पुगेर निःशूल्क खोप दिने अभियान चलाइएपछि कुनै पशुचौपाया क्षति हुन नपाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए।

गाउँपालिकाका ५ वटै वडाका किसानलाई आफ्ना पशुचौपायामा लम्पीस्कीन देखिएमा तत्काल सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरे अनुसार प्राप्त खवर अनुसार पशु स्वास्थ्यकर्मी टोली परिचालन गरी निःशूल्क उपचार गराइएको पशुस्वास्थ्य शाखा प्रमुख मानबहादुर श्रेष्ठले बताए। लगभग डेढ महिनाको अवधिमा ५ वटै वडाका किसानका ६ सय हाराहारी पशुचौपायाले घरगोठमै खोप पाएकाले यो रोगको प्रकोप गाउँ पालिकाभित्र फैलिन नपाएको श्रेष्ठले बताएका छन्।  

प्रकाशित: ३ श्रावण २०८० ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App