४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान सामान्य प्रभावित

फाइल तस्बिर।

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा केही उडान प्रभावित भएको हो।

मनसुनमा यसै पनि केही उडान प्रभावित हुन्छन् यद्यपी पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिन छिनमै परिवर्तन भइरहने हुनाले सामान्य उडान प्रभावित भएको विमानस्थलले जनाएको छ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले पछिल्ला दिनमा प्रतिकूल मौसमका कारण आन्तरिक उडान केही मात्रामा प्रभावित हुँदै आएको बताए।

इनरुट वेदर बिग्रिएर उडान प्रभावित भएर उडान ढिलो भए पनि उडानै रद्द गर्नुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे। 

“आन्तरिक उडानमा सामान्य प्रभावित छ, काठमाडौँ विमानस्थल र बाहिरहका स्टेशनमा पनि जहाज केहीबेर आकाशमा फन्को लगाउने (होल्ड) भएका छन्। उडान पूर्वनिर्धारित समयमा नभए पनि रद्द गर्नुपर्ने अवस्था छैन”, सूचना अधिकारी कर्णले भने।

फ्लाइट राडरमा अहिले पनि बुद्ध एयरका तीन वटा जहाज होल्डमा देखिन्छन्। चितवन माथिको आकाशमा झण्डै आधा घण्टादेखि ती जहाज होल्डमा परेका हुन्। मनसुनमा बदली र वर्षाले कतिपय गन्तव्यको उडान प्रभावित हुँदै आएका छन्। जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ।

सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। काठमाडौँमा आज साँझपखदेखि निरन्तर वर्षा भइरहेको छ।

प्रकाशित: १ श्रावण २०८० १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App