२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

फाइल तस्बिर

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्। बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा बर्जु वडा नं. ५ गुरुङ् टोलका बासीन्दा विस्थापित भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विस्थापित भएका घर–परिवार अहिले आफन्तकोमा शरण लिएर बसेका छन्। ‘नदीको बाढी बस्तीमा प्रवेश गर्दा बस्न सक्ने अवस्था नभएपछि ती परिवार आफन्तकोमा शरण लिएर बस्दै आएका छन्,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले भने, ‘अरु बाढी बस्तीमा प्रवेश गर्दा भने थप समस्या हुन सक्छ।’ अविरल रुपमा परेको वर्षाले गर्दा भोक्राहा नरसिंह वडा नं. ८ मा रहेको प्रहरी चौकीमा पनि पानी जमेर क्षती गरेको छ।

यसैबीच, वर्षाले बुढी खोला नदीले निरन्तर रुपमा कटान गर्दा दुहवी वडा नं. ४ मा वस्तीमा क्षती गर्ने खतरा बढेको छ। वडा नं. ३ को जनजागृति टोलमा नहरको पानी थुनिदा समस्या हुने खतरा रहेको प्रहरीले जनाएको छ।

इटहरीका पनि थुप्रै वस्तीमा पानी जमेर समस्या गरेको छ। इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ६, ९, १०, ११, १२ नम्बर वडा छन्। यी वडामा वर्षेनी बर्खाको बेला पानी पर्नासाथ समस्या हुने गरेको छ।

२०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। २०६८ सालको कात्र्तिक पहिलो साता आएको वेमौसमी वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।  

इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन् । तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए । जसले गर्दा सहजै पानी निकास हुने गथ्यो।

निरन्तर रुपमा परेको पानीले गर्दा इटहरी क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बिहीबार र शुक्रबारका लागि वन्द गरियो। उपमहानगरपालिकाले सूचना जारी गरि विद्यालय बन्द गरेको हो।  

प्रकाशित: २९ असार २०८० ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App