१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भारतमा अवैध रकम जम्मा गर्ने सईविरुद्ध भएन कारबाही

सिमा क्षेत्रमा अवैध तस्करीमार्फत लाखौँ आर्जन गरी भारतमै पैसा लुकाउने प्रहरी नायब उपरीक्षक मदन प्रसाद यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले कुनै कारबाही नगरेपछि उनलाइ चोख्याउन चलखेल सुरू भएकाे आशंका गरिएकाे छ।  

सई यादवविरुद्ध यथेष्ट प्रमाण दिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको भए पनि सई यादवलाई प्रशस्त समय दिएर उजुरीकर्तालाई फकाउने र प्रमाण नष्ट गर्न समय दिएको भन्दै प्रहरी प्रशासनको आलोचना सुरु भएको छ।

इलाका प्रहरी कार्यालय बन्जरहामा कार्यरत तत्कालीन प्रहरी नायब निरीक्षक यादवमाथी भारतीय नागरिकको एसबिआई बैंकमा रहेको खातामा लगभग १८ लाख भारतीय रुपैया अनलाईन ट्रान्सफर गराएर त्यहाँबाट खाताधारीहरु मार्फत झिकेर उक्त अबैध रकम नेपाल ल्याएको गम्भीर आरोप रहेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटमा ईशनाथ नगरपालिका १ का ओमप्रकाश साह, उमेश प्रसाद र भारत फुलबरिया ढाकाको राजाबाबु कुमारले दिएको छुट्टा-छुट्टै उजुरीमा सई यादवले विश्वास जितेर भारतमा रहेका आफ्ना आफन्तहरुको खाता नम्वर माग्न लगाएर दिएको उल्लेख छ। तर यादवले उक्त खातामा पटक-पटक गरी झण्डै १८ लाख भारतीय रकम जम्मा गराएका पाइएको थियो।

भारतीय खाताधारीहरुको एनआईएले खाता ब्लक गरेर अनुसन्धान सुरु गरेपछि ती व्यक्तिहरु भागेर नेपाल आई आफन्तलाई सबै कुरा बताएपछि सई मदन प्रसाद यादवको पोल खुलेको थियो। त्यसपछि दुई जना नेपाली र एक जना भारतीय नागरिकले छुट्टाछुट्टै उजुरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा जाँदा २ दिनसम्म उजुरी दर्ता नगरिएको एक उजुरीकर्ता ओमप्रकाश साहले गुनासो गरे।

उनले भारतीय बैंकमा रकम जम्मा गराएको भन्ने पुष्टि गर्ने अडियो समेत भेटिएको थियो। भारतीय नागरिक राजाबाबुसँंग सई यादवको अडियो संवादमा 'पैसा आयो कि नाई, आयो भने उक्त पैसा झिकिहालेपछि फेरि हाल्नु छ' भन्ने स्पष्ट सुनिएको छ।  

त्यहाँबाट सई यादवले बन्जरहाकै मान्छे पठाएर भारतीय रकम नेपाल सजिलैसँंग ल्याई पटक पटक भारुलाई नेपाली रुपैयाँमा कन्भर्ट गराएर राष्ट्रिय बाणिज्य बैंक र २० मार्चमा एनआईसी एशिया बैंकमा नोटले भरिएको ब्याग लिएर सई यादव आँफैले जम्मा गरेको एक स्थानीयले बताएका छन्।

सई यादव विरुद्ध यथेष्ट प्रमाणहरु हुँदाहुँदै पनि रौतहट प्रहरी प्रमुखले बन्जरहाको जिम्मेवारीबाट हटाए पनि कारवाहीको प्रक्रिया अघि नबढाएकोमा रौतहट प्रहरीमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ।  

पटक-पटक अन्य प्रमाणसहित डिजिटल ट्रान्सफर भएका प्रमाणहरु  समेत दिएपछि पनि छानविनको नाममा झारा टार्ने काम गरेको महसुस भइरहेको उजुरीकर्ताहरुको भनाइ रहेको छ ।

गोप्य स्रोतका अनुसार सई मदन यादवको छोरा भारतमा आइटी सेक्टरमा काम गरिरहेको र उनैले विभिन्न व्यक्तिहरुको खाताको ओपिटी पत्ता लगाएर खाता ह्याक गरेर ट्रान्सफर गर्ने गरेका छन्। भारतमा ह्याक भएको अकाउण्टहरु सम्बन्धमा छानविन गरिरहेका एनआईएका टोलीले यहाँसम्म आईपुगेर पत्ता लगाउदा रकम नेपाल आएको खुलासा भएपछि विस्तारै च्यानलको माध्यमबाट रौतहट प्रहरी समक्ष भारतीय अधिकारीहरुले पत्राचार गरेर बास्तविक आरोपितविरुद्ध कारवाही थालिने बलियो सम्भावना रहेको स्रोतको दाबी छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले केही डिजिटल प्रमाणसहित उजुरी परेपछि सई मदन यादवलाई बन्जरहाको जिम्मेवारीबाट मुक्त गरेर जिल्ला प्रहरी कार्यालय गौरमा तानिएको बताए। यस विषयमा थप छानबिन भइरहेको डिएसपी यादवले बताएका छन्।

यो पनि पढ्नुहोस्

प्रहरी नायब निरीक्षकको अवैध कमाइ भारतीय बैंकमा जम्मा, छानबिन सुरु

प्रकाशित: २२ असार २०८० ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App