१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी नायब निरीक्षकको अवैध कमाइ भारतीय बैंकमा जम्मा, छानबिन सुरु

नेपाल-भारत सीमा नाका क्षेत्रमा कार्यरत एक प्रहरी नायब निरीक्षकले अवैध आर्जन गरेकाे रकम भारतीय बैंकमा अर्कैको नाममा जम्मा गर्ने गरेको खुलासा भएको छ।

इलाका प्रहरी कार्यालय बन्जरहामा कार्यरत प्रहरी नायब निरीक्षक मदन प्रसाद यादवले अवैध कमाइ भारतीय बैंकमा जम्मा गर्ने गरेको खुलासा भएको हो।

उनले नेपालमा आर्जन गरेको अवैध कमाइ भारतीय आफन्त वा निकटका मानिसहरु बैंक खातामा जम्मा गर्ने गरेको बुझिएको छ। यद्यपि उनले पठाउने रकम उनका आफ्नै आफन्तको बैंक खातामा भने नभएको पाइएको छ।

उनले आफ्नो अवैध कमाइ लुकाउन रौतहटका केही स्थानीयहरुकाे भारतीय आफन्तहरुकाे बैंक खाता प्रयोग गर्ने गरेका थिए।

निरीक्षक यादवले रौतहटको ईशनाथ नगरपालिका १ का ओम प्रकाश साह, उमेश प्रसाद तथा फुलबरिया ढाकाका राजाबाबु कुमारका भारतीय आफन्तहरुकाे खाता प्रयोग गरेका थिए।

भारतको पूर्वी चम्पारण जिल्लाको फुलबरिया ढाकास्थित बस्ने ती भारतीय आफन्तहरुको बैंक खातामा अवैध रुपमा लाखौँ रुपैयाँ जम्मा भएपछि भारतीय बैंकले ती आफन्तहरुको खाता नै रोक लगाइदिएको छ। स्रोत नखुलेको अवैध रकम बैंक खातामा जम्मा हुन आएपछि सबैको खाता रोक्का गरिएको बुझिएको छ।

बैंकको खाता रोक्का भएपछि खाता खुलाउन यता नेपालमा रहेका उनीहरुका आफन्त ओम प्रकाश साह र उमेश प्रसाद र राजाबाबु कुमारले आफन्तका बैंक खातामा अवैध रुपमा रकम जम्मा गर्ने नायब प्रहरी निरीक्षक यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरीसमेत दिएका छन्।

ओम प्रकाश साह र उमेश प्रसाद र राजाबाबु कुमारले छुट्टाछुट्टै निवेदन दिई आफन्तको नाममा फुलबरिया ढाकामा रहेको एसबिआई बैंकको खातामा प्रहरी नायब निरीक्षक यादवले रकम जम्मा गरेको बताएका छन्।

यसरी बैंक खातामा रकम जम्मा भएपछि बैंकले खाता नै बन्द गरिदिएको भन्दै कारबाहीका लागि प्रनानि यादवलाई पक्राउ गरी कारबाही गर्न र खाता खुलाउने मार्ग प्रशस्त गरिदिन उनीहरुले निवेदनमा उल्लेख गरेका छन्

ओमप्रकाश साहले दिएको निवेदनमा नातेदार भाइ सुकरित कुमार चौधरीको नाममा रहेको खातामा प्रनानि यादवले ३ लाख ९६ हजार, मसरुफ आलम र जफिर आलमसमेतको नाममा रहेको खातामा २ लाख ९८ हजार, जफिर आलमको खातामा ४ लाख रुपैयाँ पठाएको उल्लेख गरिएको छ।

यसै गरी उमेशप्रसादले दिएको निवेदनमा प्रनानि यादवले भारतस्थित आफन्तको खातामा रकम जम्मा गरेको उल्लेख गरेका छन्। प्रनानि यादवले कमलेश पटेलको खातामा २ लाख र ललन प्रसादको खातामा पनि २ लाख रुपैयाँ पठाएको जम्मा गरेको निवेदनमा उल्लेख गरिएको छ।

पीडितले जिल्ला प्रशासन कार्यालय रौतहटमा दिएकाे निवेदन पत्र।

भारतीय नागरिक बरेवा फुलबरियाका राजाबाबु कुमारले दिएको निवेदनमा प्रनानि यादवले ३ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरेको उल्लेख गरेका छन्।

लामो समयदेखि विभिन्न भन्सार तथा प्रहरी युनिटमा इन्चार्ज रहँदै आएका प्रनानि यादवले तस्करीबाट हुने कमाइलाई आफन्तको नाममा जम्मा गर्दै आएको देखिएको छ।

नेपालका आफन्तको नाममा पनि प्रनानि यादवले अवैध रकम जम्मा गरेको हुन सक्ने अनुमान गरिएकाे छ। नेपालमा अवैध कमाइ पचाउन असजिलो हुने भएपछि भारतका विभिन्न आफन्त तथा नजिकका विश्वासपात्रका नाममा रकम जम्मा गर्ने गरेको उक्त निवेदनबाट रहस्योद्घाटन भएको हो।

हाल निवेदकहरु सबैको बैंक खाता रोक्का गरिएको जनाइएको छ। प्रनानि यादवले आफ्नो अवैध आर्जनलाई वैध बनाउन विभिन्न व्यक्तिको नाममा रकम जम्मा गराई प्रक्रिया पुर्‍याएर आफ्नो घरको सदस्य तथा आफन्तको नाममा वैध रकम बनाउने गरेको पनि बुझिएको छ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रनानि यादवविरुद्ध लिखित निवेदन परेपछि छानबिन प्रक्रिया अगाडि बढिसकेको बताइएको छ।

घटनाको विषयमा पीडितले जानकारी गराए लगतै प्रहरी चौकी बन्जरहाका इन्चार्ज सई मदन यादवलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरीले कार्यालय रौतहटमा झिकाएको एसपी वीर बहादुर बुढामगरले बताए।

प्रकाशित: १९ असार २०८० १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App