३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

चोरी र लुटपाटमा संलग्न भारतीय महिला हतियार पक्राउ

पछिल्लो समय भैरहवामा भएका श्रृंखला बद्ध लुटपाट र चोरीका घटनामा संलग्न गिरोहका एक सदस्यलाई रुपन्देही प्रहरीले हतियार सहित पक्राउ गरेको छ।

सिद्धार्थनगर नगरपालिका भित्र भएका चोरी र लुटपाटका घटनामा संलग्न गिरोहका सदस्य एक जना भारतीय महिलालाई  प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

लुटपाटका घटनामा  भारतीय  गिरोह संलग्न रहेको र  गिरोहकी सदस्य भारतको उत्तर प्रदेश गोरखपुरकी ४३ बर्षकी  गीता तिवारीलाइ हतियार सहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर विकले बताए।

प्रहरीले तिवारीको डेराबाट एक थान कटुवा पेस्तोल, ३ राउण्ड गोली, ग्यासकटर, छिनो, खुकुरी, चक्कु, ५ थान  मोबाइल, मोटरसाइकल, स्कुटर, केही भारतीय रुपैयाँ सहित बैंको चेक समेत बरामद गरेको प्रहरी उपरीक्षक विकले जानकारी दिए।

भारतीय गिरोहले सिद्धार्थनगर नगरपालिका २ स्थित दीपक  यादवको घर भाडामा लिएर भैरहवा लगायत आसपासको क्षेत्रमा  लुटपाट तथा चोरी डकैती गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गिरोहका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी तिवारी यसअघि भारतमा आपराधिक गतिविधिमा  संलग्न भई पक्राउ परेको र पछिल्लो पटक जमानतमा छुटेको रुपन्देही प्रहरीले जनाएको छ।

यसअघि भारतमै चोरी, डकैती र ज्यान मुद्दाको आरोपमा  पक्राउ परेकी तिवारी भारतको गोरखपुरमा लेडी डनको नामले चर्चित रहेको पनि बताइएको छ।

भारतमा जमानतमा छुटेपछि तिवारीको समूहले भैरहवा  लगायत आसपासको क्षेत्रलाइ लक्षित गरेर भैरहवामै घर  भाडामा लिएर लुटपाटका घटना घटाएको प्रहरीको दाबी छ। 

रुपन्देहीमा असार ११ गते सिद्धार्थनगर नगरपालिका ९ का  श्याम सुन्दर अग्रवालको घरबाट सुनका गरगहना, ल्यापटप, मोबाइल लगायत नगद १ लाख १५ हजार लुटपाट भएको थियो।

गत जेठ ३ गते भैरहवाकै अन्नपूर्ण टोलमा हुमानाथ पाण्डेको घरबाट ६० हजार, वैशाख २३ मा सिद्धार्थनगर ३ स्थित डा. नरेन्द्र चौधरीको घरबाट सुनका गरगहना सहित ३ लाख २५ हजार, वैशाख ९ मा डा. हेमन्तकुमार हलुवाइको घरबाट  सुनका गरगहना तथा अन्य सामान र नगद सहित ५० लाखको धनमाल लुटपाट भएको थियो।

यी सबै घटनामा तिवारीकै समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ। यी सबै घटनामा  आफ्नो समूहको संलग्नता   रहेको अभियुक्त तिवारीले स्वीकार गरेको रुपन्देहीका प्रहरी  प्रमुख विकले बताए।

अभियुक्त तिवारीलाइ चोरी तथा डाका सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ असार २०८० १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App