१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

असारे विकास: झरीमै धमाधम सडक कालोपत्रे

इलामको मंगलबारे–पुङफुङ–कमेरे सडक निर्माणको काम गुणस्तरहीन भइरहेको छ। 

‘नाङ्गो’ औँलाले नै गुणस्तरहीन देखिरहेको सडकको खोस्रिँदा प्वाल पर्ने र हिँड्दा भ्वाङ पर्ने ‘बेस’ मा असारे झरीमै कालोपत्रे भइरहँदा पनि नियमन प्रभावकारी हुन सकेको छैन।

९.५ किलोमिटरको यो सडक झापा दमकस्थित ग्रामीण सडक सञ्जाल परियोजना कार्यालयले निर्माण ठेक्का लगाएको हो। निर्माणको काम नागार्जुन निर्माण सेवाले लिएको छ। यो सडकको मंगलबारेबाट देउमाई खोला पुग्नुभन्दा करिब ७ सय मिटर अघिदेखि फाकफोकथुम गाउँपालिकामा पर्ने डेढ किलोमिटरको काम गुणस्तरहीन पाइएको हो।

जिल्ला समन्वय समितिको अनुगमन टोलीले सडकको गुणस्तरहीन काम भत्काएर पुनर्निर्माण नै गर्नुपर्ने बताए पनि बर्खामा धमाधम कालोपत्रेको काम भइरहेको छ।

समन्वय समिति उपप्रमुख चित्रकला बराइलीको नेतृत्वमा रहेको टोलीले यो सडकको काम ज्यादै कमजोर भइरहेको पाएको हो।

‘नाङ्गो आँखाले हेर्दासमेत गुणस्तरहीन देखिएको कामलाई आयोजनाले जबरजस्ती राम्रो भन्दै काम गराइरहेको पाइयो,’ उनले भनिन्, ‘हामीले काम निकै गुणस्तरहीन देखेका छौं, त्यसलाई सुधार्नु जरुरी छ।’

फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले यो सडकको काम गुणस्तरहीन भएको भन्दै स्थानीयको उजुरीसमेत आइरहेको बताए।

‘प्राविधिक अनुगमनले पनि यो सडकको काम गुणस्तरहीन नै देखेको छ,’ उनले भने, ‘सडकमा माटो मिसिएको ढुटो प्रयोग गरिएको छ, हिँड्दा खुट्टा भास्सिन्छ तर ठेक्काको म्याद सकिन्छ भनेर त्यसैमाथि कालोपत्रे गरिरहेको पाइएको छ।’

खनालले मंगलबारेदेखि देउमाई खोला पुग्न करिब ७ सय मिटर अघिसम्मको काम गुणस्तरीयजस्तो देखिए पनि त्यसयताको काममा खेलाँची देखिएको जनाए। ठेकेदार कम्पनीको तर्फबाट ‘यो कामको अनुगमन स्थानीय तहको अधिकारभित्रको नभएको’ भन्दै धम्कीसमेत आएको केही जनप्रतिनिधिले गुनासो गरेका छन्।

अनुगमन टोलीमै रहेका फाकफोकथुम गाउँपालिकाका इन्जिनियर अखिलेश यादवले बर्खामा पानी परेका बेला कालोपत्रे गरेको पाइएको र प्राइम कोट (कालोपत्रे गर्नुअघि तयार गरिएको सडकमा बिछ्याइएको सामग्री) मा माटोको मात्रा आवश्यकभन्दा बढी हुने सम्भावना देखिएको बताए।

‘प्राइम कोट गरेपछि पनि २४ घण्टा पानी पर्नुहुँदैन,’ उनले भने, ‘तर, यो सडकमा पानी परेकै बेला प्राइम कोट र कालोपत्रेसमेत गरेको देखियो।’

उनले कालोपत्रे गर्न तयार गरेको सडक खोस्रिँदा नकोटिने हुनुपर्नेमा कमजोर देखिएको र पातलो ठाउँमै रातो माटोसमेत भेटिएको बताए।

‘प्राइम कोटमा माटोको मात्रा जाँच गर्नु आवश्यक छ,’ उनले भने, ‘पानी परेका बेला कालोपत्रे गर्न मिल्दैन, निश्चित समय पानी पर्नुहुँदैन।’

कोभिड संक्रमण फैलिनुअघि नै ठेक्का लागेको यो सडकको काम सक्ने म्याद २ पटक थपिएको छ। थपिएको म्यादसमेत सकिन लाग्दा ठेकेदारले बर्खामा समेत काम गरिरहेका छन्। जिल्लाकै माङ्सेबुङको चिसोगोलाई–चतुरे १३.२ किलोमिटर र मंगलबारे–पुङफुङ–कमेरे ९.५ किमी सडक एकै पटक ५२ करोड ९४ लाख (भ्याटबाहेक) रुपैयाँमा ठेक्का लागेका हुन्।

नागार्जुन निर्माण सेवाका प्रतिनिधि सन्तोष कटवालले निर्माण काममा लापरबाही नभएको दाबी गरे।

‘कालोपत्रे गर्ने तयारी गर्दा अलि–अलि माटो मिसिएको सामग्री प्रयोग भएको हुनसक्छ,’ उनले भने, ‘सडक नै गुणस्तरहीन बनाउने हाम्रो नियत होइन।’

सडक अनुगमन हुँदै गर्दा आफूलाई जानकारी नै नभएको र अनुगमन टोलीसँग कामदारको चिनजान नभएकाले ‘भनाभन’ समेत भएपछि काम रोक्न निर्देशन आएको उनको जबाफ छ।

‘म गुणस्तरहीन काम गरेर भाग्न सक्दिनँ, निर्माण गरिसकेपछि पनि ३७ महिनासम्म कुनै समस्या आए निर्माण कम्पनीले नै मर्मत गर्ने सम्झौतासमेत छ,’ उनले भने, ‘निर्माण सकिँदा गुणस्तरीय नै हुन्छ।’

कटवालले देउमाई नगरपालिकाका जनप्रतिनिधिसमेतको रोहबरमा आफूहरूले अहिले कालोपत्रेको काम गरिरहेको भन्दै पानी नपरेका बेला कालोपत्रे गर्दा असर नहुने दाबी गरे।

‘प्राइम कोर्ट गरेको सडकमा पानी छिर्दैन, कालोपत्रे गर्न रोक्नुपर्दैन,’ उनले भने, ‘आज पनि घाम लागेको छ, काम भइरहेको छ।’

काम गुणस्तरहीन भएपछि स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी दिएका छन्। सिडिओ श्रवणकुमार पोख्रेलले सडक आयोजना प्रमुखलाई आफूले स्थानीय सरकारबाट आएको गुनासोबारे जानकारी गराएको बताए।

‘अहिले अनुगमन चाहिँ जिसस र स्थानीय सरकारले नै गरिरहेका छन्, हामीले गरेका छैनौँ,’ उनले भने, ‘तर, अनुगमन टोलीले दिएको सुझावका आधारमा हामीले पूरा गर्नुपर्ने जिम्मेवारी हामी पूरा गरिहाल्छौँ।’

प्रकाशित: २१ असार २०८० १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App