१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकारले दियो जग्गा बैंकमा फस्यो लालपुर्जा

अढाई दशकअघि तत्कालीन सरकारले सुकुम्बासी प्यारी मगर्नीको परिवारलाई करिब १२ कठ्ठा जमिन दियो। बर्दिया, साविक सोरहवा गाविस वडा नम्बर ३ को कि.नं. १३१० को (क्षेत्रफल ०,४१६८.००) जमिनमा करिब २७ वर्षदेखि टहरा बनाएर परिवारले जीविकोपार्जन गर्दै आएको थियो। श्रीमान् होमबहादुरको १० वर्षअघि मृत्यु भएपछि बर्दिया बढैयाताल–४ की प्यारीको काँधमा घरको सबै जिम्मेवारी आयो। कमाइ राम्रो भयो भने पक्की घर बनाउने सपना बोकेकी उनले छोरालाई वैदेशिक रोजगारीमा पठाइन्। बुहारी र उनी मिलेर घर चलाए।

लेखपढ नगरेकी प्यारीको सोझोपनको फाइदा उठाउँदै अछाम, साफे नगरपालिका–१२ का डम्बरबहादुर रावलले २०७८ साउन २ गते जग्गाको लालपुर्जा मागे। सडकसँगै जोडिएको उक्त जग्गाको कारोबार मूल्य प्रतिकठ्ठा १० लाख रूपैयाँभन्दा माथि रहेको बताइन्छ। सामान्य चिनजान भएका रावलले जग्गाको लालपुर्जा ६ महिनाभित्रै फिर्ता गर्ने र लालपुर्जा चलाएबापत ६४ वर्षीया प्यारीलाई रावलले ५० हजार रूपैयाँ दिए।  

लालपुर्जा लिएर गएको केही दिनपछि रावलले एउटा कागजमा औंठाछाप लगाउन पठाए। जग्गाको लालपुर्जा लगेर रावलले नेपालगन्ज–१ निवासी ३१ वर्षीय पंकजकुमार गुप्तालाई बुझाए। दुवैजना मिलेर किर्ते कागजात तयार गरी ‘दृष्टिबन्धक’गराए। उनीहरूले नक्कली ऋणी तयार गरेर बैंकबाट रकम निकाल्न सफल भए।  

जग्गाको लालपुर्जा प्यारीको नाममा भए पनि उनीहरूले नेपालगन्ज–६ निवासी दीपा अधिकारीलाई नक्कली ऋणी बनाए। उनी गुप्ताकी दिदी सासु नाता पर्ने बताइन्छ। दिपाले नेपालगन्ज–२ न्युरोडस्थित भानुभक्त चोक नजिक अनन्या फेशन बुटिक चलाउँछिन्। उनैलाई ऋण बनाएर गुप्ता र रावलले एनआइसी एसिया बैंकबाट रकम निकाले। रकम निकालेपछि उनीहरूले केही समयसम्म बैंकको किस्ता तिरे। उनीहरूले जब किस्ता बुझाउन छाडे, बैंकले ऋणीलाई खोज्ज थाल्यो। गुप्ता, रावल र दीपा सम्पर्कमा नरहेपछि बैंक धितो राखेको जग्गा धनीलाई खोज्न प्यारीको घरसम्म आइपुग्यो।

गत चैतमा बैंकका कर्मचारी एक्कासि घरमा आएपछि प्यारीको परिवार छाँगाबाट खसेझै भयो। ‘बैंकका कर्मचारी घरमा आएपछि मात्रै हामीलाई घटना थाहा भयो,’ प्यारीले भनिन्, ‘बैंकका कर्मचारीले सबै कुरा सुनाएपछि अचम्म लाग्यो।’आफ्नो परिवारको यसमा कुनै संलग्नता नरहेको बताएपछि फर्केर गएका बैंकका कर्मचारीले त्यसपछि प्यारीलाई फोन गरेर थर्काउन थाले।  

दिनहुँ बैंकका कर्मचारीको ताकेता, परिवारभित्र उत्पन्न तनावले गर्दा प्यारी घरमा बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि उनी कहिले आफन्त कहाँ, कहिले घरमा बसेर वकिल र प्रहरीकहाँ धाउन थालिन्। पीडित परिवारका अनुसार एनआइसी एसिया बैंकको बर्दियास्थित बाँसगढी शाखाबाट कर्मचारीले फोन गरेर पैसा बुझाउन ताकेता गरेका हुन्। उक्त बैंकका बाँसगढी शाखा प्रबन्धक जीवन गौतमले बैंकबाट कसलाई ऋण दिइएको छ, कसको जग्गा धितो राखिएको छ, यसबारे भन्न नमिल्ने बताए। ‘यस्तो विषयको जानकारी ऋण लिने मान्छे बाहेक अरूलाई दिन मिल्दैन,’ टेलिफोनमा उनले भने।  

आफ्नो नामको लालपुर्जा बैंकमा राखेर कसैले यति सजिलै पैसा झिक्ला भनेर कल्पना समेत नगरेको प्यारी बताउँछिन्। घर बनाउन भनेर विदेशबाट आएको छोरो लालपुर्जा बैंकमा फसेको थाहा पाएपछि निराश भएर फेरि विदेश फर्केको सुनाइन्। ‘घर बनाउने भनेर छोरो आएको थियो, यो सबै देखेर निराश भएर विदेश नै फर्कियो,’प्यारीले भनिन्, ‘यही कारणले घरमा पनि बुहारीसँग सम्बन्ध बिग्रियो।’

बैंकले किस्ता बुझाउन ताकेता गर्दा र लालपुर्जा बैंकमा फसेको चिन्ताले आफू बिरामीसमेत हुने गरेकी बताइन्। नक्कली ऋणी बनेकी दिपाले पनि आफू पीडित भएको बताउने गरेकी छन्। यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनको फोन अर्कै व्यक्तिले उठाए। पीडित प्यारीकी छोरी विष्णुमाया पुनले मुख्य दोषी गुप्ता नै भएको र उनले आफ्नो दिदी सासु नाता पर्ने दिपालाई अगाडी राखेर बैंकबाट पैसा झिकेको बताइन्।  

‘हामी कानुनी प्रक्रियामा जानेबित्तिकै दिपा फस्ने देखिन्छ तर मुख्य दोषी गुप्ता नै हो,’ उनले भनिन्। कानुनी प्रक्रियामा जानका लागि वकिलसँग परामर्श चलिरहेको बताइन्। बर्दिया, साविक सोरहवा गाविस वडा नम्बर ३ को कि.नं. १३१० को क्षेत्रफल ०,४१६८.०० बर्गमिटरको उक्त जग्गा धितो सरह वार्षिक १२ प्रतिशत ब्याजमा ९ लाख २५ हजार दिलाई बर्दियास्थित मालपोत कार्यालयबाट रावल र गुप्ताले छिनुवा पास गराएको विष्णुमायाले सुनाइन्।  

उक्त जग्गालाई बैंकमा धितो राखेर ८५ लाख रकम निकालेको पाइएको उनको भनाइ छ। ‘नियमले नमिल्ने जग्गाको लालपुर्जालाई कसरी बैंकमा राखेर नक्कली ऋणी तयार गरेर पैसा निकाले ? त्यतिबेलाका बैंकका कर्मचारी र मालपोत कर्मचारीमाथि अनुसन्धान हुनुपर्र्छ,’विष्णुमायाले भनिन्।  

आरोपित गुप्ता आफूमाथि लागेको आरोप भने अस्वीकार गर्छन्। तर धितोमा राखिएको उक्त जग्गालाई फिर्ता दिलाउने भनी पटक–पटक गुप्ताले कागज गरेको विष्णुमाया सुनाउँछिन्। ‘यसअघि ३५ दिनभित्रमा बैंकिङ प्रक्रिया मिलाएर जग्गा फिर्ता दिलाउँछु भनी उनीहरूले कागज गरेका थिए, अहिले फेरि पनि ३ महिनाभित्र जग्गा फिर्ता दिलाउने भन्दै ६० लाखको चेक हामीलाई दिएका छन्,’विष्णुमायाले भनिन्। एनआइसी एसिया बैंकबाट जारी गरिएको अनन्या फेसन बुटिकको चेक प्यारी मगर्नीको नाममा काटिएको छ। 

प्रकाशित: १४ असार २०८० ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App