१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो......

कागजात देखाउँदै पीडित ६४ वर्षीया प्यारी मगर्नी।

ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो, बर्दिया, बढैयाताल–४ निवासी प्यारी मगर्नी छांगाबाट खसेझै भईन्। उनले आफ्नो नामको जमिन धितो राखेर कसैले बैंकबाट यति सजिलै पैसा झिक्ला भन्ने कल्पना सम्म गरेकी थिइनन्। तर, नसोचेकै घटना आईलाग्यो।

कागजात किर्ते गरी ‘दलाल’ ले आफ्नो लालपुर्जाबाट ऋण निकालेको थाहा पाएपछि अहिले उनी न्यायका लागि विभिन्न निकायमा धाईरहेकी छन्। ‘बैंकले अहिले दिनहुँ किस्ता बुझाउन ताकेता गरिरहेको छ, मैले ऋण खाएको भए ऋण तिर्न तयार हुन्थ्ये होला, तर खादै नआएको ऋण बैंकलाई कसरी तिर्नु र ?’ ६४ वर्षीया मगर्नीले भक्कानिदै भनिन् ‘बुढेशकालमा म माथी किन यस्तो अपराध गरियो ?’

२०७८ साल साउन २ गते बर्दिया, बढैयाताल–४ मा रहेको मगर्नीको करिव १२ कठ्ठा जमिनको लालपुर्जा अछाम, साझे नगरपालिका वडा नम्बर १२ का डम्बरबहादुर रावलले मागेका थिए। पीडित मगर्नीका अनुसार सामान्य चिनजान भएका रावलले त्यतिबेला उक्त लालपुर्जा ६ महिना भित्रमा फिर्ता गर्ने शर्तमा लगेका हुन्।

लालपुर्जा दिए वापत मगर्नीलाई रावलले ५० हजार रुपैयाँ पनि दिएका थिए। ‘जग्गाको लालपुर्जा ६ महिनाभित्रमा फिर्ता आईहाल्छ भने ठिकै छ त भनेर मैले त्यतिबेला लालपुर्जा दिएकी हुँ, यस्तो अपराध गर्लान् भन्ने सोचेको भए मैले दिने नै थिएन्,’ उनले थपिन्।  

लालपुर्जा लिएर गएको केहीदिन पछि रावलले आफुलाई एउटा कागजमा औठा छाप लगाउन पठाएको पनि उनलाई स्मरण छ। तर, रावलले नेपालगन्ज–१ निवासी ३१ वर्षीय पंकजकुमार गुप्तासँग मिलेर किर्ते कागजात तयार गरी ‘दृष्टिबन्धक’ गराएको कुरा आफुले पछि मात्रै थाहा पाएको पीडित मगर्नीले सुनाइन्।

उक्त जग्गालाई नेपालगन्ज–६ निवासी गुप्ताकी दिदी सासु नाता पर्ने दिपा अधिकारीको नाममा दृष्टिबन्धक गराएका थिए। बर्दिया साविक सोरहवा गाविस वडा नम्बर ३ को कि.नं. १३१० को क्षेत्रफल ०,४१६८.०० बर्गमिटरको उक्त जग्गा धितो सरह वार्षिक १२ प्रतिशत ब्याजमा ९ लाख २५ हजार दिलाई बर्दियास्थित मालपोत कार्यालयबाट रावल र गुप्ताले ‘छिनुवा’ पास गराएको पीडितको आरोप छ।

रावल र गुप्ता मिलेर सोही जग्गालाई लगत्तै एनआइसी एसिया बैंक*मा धितो राखेर ८५ लाख रुपैयाँ ऋण निकालेको पीडितकी छोरी विष्णुमाया पुनले बताइन्। उक्त कार्यमा तत्कालिन मालपोत कार्यालय बर्दियाका प्रमुख र कर्मचारीहरु, बैंकका कर्मचारी लगायतको मिलेमतो रहेको उनको आरोप छ। यस विषयमा प्रतिक्रिया लिदाँ आरोपी गुप्ताले आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन्। ‘यो घटनामा मेरो संलग्नता छैन,’ गुप्ताले टेलिफोनमा भने।

तर, पीडित परिवारले धितोमा राखिएको उक्त जग्गालाई ३५ दिनभित्रमा बैंकिङ प्रक्रिया मिलाएर फिर्ता दिलाउँछु भनि आरोपीहरुले कागज गरेको बताएका छन्। जग्गा फिर्ता नगरे प्रचलित मुल्यको आफ्नो चल, अचल सम्पत्तीबाट असुल उपर गरि लिन समेत कागज गरेको पीडितकी छोरी विष्णुमायाले सुनाईन्।

आफुसँग भएको जग्गा सबै बैंकको नियन्त्रणमा रहेपछि घरबार बिहिन अवस्थामा पुगेको पीडित परिवारको गुनासो छ। उक्त घटनाले परिवारमा समेत अशान्ति मच्चिएको बृद्धा मगर्नीले सुनाइन्। 

*सच्याइएकाे: छैठाैं अनुच्छेदकाे बैकको नाम, वि.स. २०८० असार  १३ गते, अपराह्न २ बजे। -संम्पादक

प्रकाशित: १२ असार २०८० १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App