१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पक्राउ

पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले आज पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सूचना अधिकारी संजय सिंह थापाका अनुसार शाहलाई आज अनुसन्धानका लागि पक्राउ गरिएको हो। शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए।

गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाए पछि आयुक्त भएका शाहले ललिता निवासको जग्गा पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएको श्रोतको दाबी छ।

राणा परिवारसँगको नाता पनि पर्ने उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बताएको छ।

यस अघि ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरिसकेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई आज पक्राउ गरेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की रहेका बताए।

सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ। सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। गुरुङसँगै आज उक्त प्रकरणमा छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन। पछिल्लो चरणमा भने सिआइवीले अनुसन्धान तीव्र पारेको थियो।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। हाल उक्त मुद्दा विचाराधीन छ।

सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो।

प्रकाशित: १२ असार २०८० ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App