१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सियारीको नीति तथा कार्यक्रममा कृषि र पर्यटन प्राथमिकतामा

रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम ल्याएको छ।

शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम पेश गरेका हुन्।

१६४ बुँदेको नीति तथा कार्यक्रममा हाल विद्यमान बहु-आयमिक गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्न कृषि, पर्यटन र दिगो पूर्वाधार विकासमा जोड दिइएको छ। कृषि, पर्यटन र पूर्वाधारको विकाससँगै समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी निर्माण गर्ने भनिएको छ।

कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै ‘व्यावसायिक कृषि पेशा अवलम्बन गरौँ, आत्मनिर्भर बनौँ” भन्ने नारा अगाडी सारिएको छ। कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए।

अध्यक्ष घिमिरेले सियारीले दूध उत्पादन, माछा तथा मकै खेतीमा सुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै थप कृषि तथा पशुजन्य उत्पादनका कार्यक्रमलाई बिस्तार गरिने बताए।

आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकालाई खाद्यान्न, दूध, माछा मासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

कृषि पर्यटनको गन्तव्य स्थलको रुपमा सियारीलाई विकास गरिने र नदी तथा वन क्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको सृजना गर्ने नीति कार्यक्रममा उल्लेख छ। मत्स्य जोनलाई प्रभावकारी बनाउँदै छपियामा मत्स्य पर्यटन प्रवर्द्धन गर्ने नीति लिइएको अध्यक्ष घिमिरेले बताए।

गाउँपालिकाभित्र छाडा चौपायाको व्यवस्थापन गरी कृषकहरुको खेतीपातीको सुरक्षा गर्न सञ्चालनमा ल्याइएको रामजानकी गौशालालाई स्रोतसाधन व्यवस्थापनका लागि सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सियारी गौरवको एक मात्र योजना सियारी पर्यटन कोरिडोरलाई अन्तर-सरकार समन्वय तथा सहकार्य मार्फत कार्यान्वयनमा लगिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रकाशित: ९ असार २०८० १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App