६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्रले एआइजी पायो, प्रहरीमा रिक्त

काठमाडौं- सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआइजी पद एकैपटक रिक्त भए पनि सशस्त्रमा मात्र पदपूर्ति भएको छ। नेपाल प्रहरीमा भने सबै एआइजी पद रिक्त छन्। फागुन २ गते सशस्त्र र प्रहरीमा संगठनको नेतृत्व र दोस्रो तहको एआइजी पद रिक्त भएको थियो। सरकारले फागुन १ मा दुवै संगठनका प्रमुख नियुक्त गरे पनि कानुनी विवादमा कारण प्रहरीले चैत २८ मा आइजिपी पाएको थियो।

सशस्त्रमा सिंहबहादुर श्रेष्ठले आइजीका रूपमा काम गरेको दुई महिना कटिसक्यो। प्रहरीमा जयबहादुर चन्द र प्रकाश अर्यालको नियुक्ति भए पनि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

अर्को सुरक्षा संगठन सशस्त्रले बिहीबार तीन जना एआइजी पाएको छ। मन्त्रिपरिषद् बैठकले रिक्त तीन पदमा डिआइजी पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

फागुन २ गते नेपाल प्रहरीका सबै १२ एआइजीले अवकाश पाएका थिए। दरबन्दी सात भए पनि बढुवा विवादमा विशेष पद सिर्जना गर्दै १३ पुर्‍याएको प्रहरीमा एआइजीको दरबन्दी कति भन्ने यकिन छैन।

३५ हजार जनशक्ति भएको सशस्त्रमा एआइजीको संख्या ६ छ। तीन वर्षअघि रिक्त सात पदमा बढुवा विवाद भएपछि सरकारले विशेष पद बढाएर नौ पुर्‍यायो। यी सबैको अवकाशपछि प्रहरीमा एआइजीको संख्या तीन रहने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सो निर्णय कायमै रहेकाले अर्को निर्णय नभएसम्मका लागि प्रहरीमा एआइजीको दरबन्दी तीन कायम रहनेछ।

महत्वपूर्ण कार्यालय कार्यवाहकको भरमा

प्रहरीमा महानगरीय प्रहरी कार्यालय, प्रहरी प्रशिक्षण प्रतिष्ठान, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग, मानव स्रोत र महानिरीक्षकको कार्यालयमा एआइजी दरबन्दी छ।

एआइजी अभावमा यी सबै कार्यालयको प्रमुख डिआइजीले चलाइरहेका छन्। अपराध अनुसन्धान विभागमा सरुवा भएका अर्याल मन्त्रिपरिषद्को दोस्रो निर्णयमा आइजिपीमा नियुक्त भएपछि विभाग एसएसपीको भरमा छ।

मन्त्रिपरिषद्ले फागुन १ मा आइजिपीमा नियुक्त गरेका चन्दको निर्णय सर्वोच्चले खारेज गरेपछि डिआइजीका रूपमा लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत उनी गृह मन्त्रालयमा हाजिर गरिरहेका छन्। ब्युरो एसएसपी धिरु बस्नेतले चलाइरहेका छन्।

संगठित अपराध हेर्ने केन्द्रीय अनुसन्धान ब्युरोमा दरबन्दी रहेका नवराज सिलवाल चैत २८ देखि बिदामा छन्। उनी बिदामा बसेकाले ब्युरो एसएसपी शेरबहादुर बस्नेतले चलाइरहेका छन्।

अवकाशसम्बन्धी प्रावधानमा सुधार नभए अहिले बढुवा पाएका एआइजीले करिब एक वर्षपछि सेवा अवधिका आधारमा अवकाश पाउनेछन्। त्यसपछि अहिले एसएसपी रहेका रमेश खरेल, सर्वेन्द्र खनाल, धिरु बस्नेत, पुष्कर कार्कीलगायतका अधिकारीहरू संगठन प्रमुखको दाबेदार हुनेछन्।

प्रकाशित: २२ वैशाख २०७४ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App