२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुलाकी राजमार्ग निर्माणको माग राख्दै भोक हड्ताल

मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले अवरुद्ध हुलाकी राजमार्गको काम तत्कालै थाल्नु पर्ने माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन भोक हड्ताल थालेका छन्।

कटहरी–३ का वडाध्यक्ष जदुलाल कामतसहित वडा सदस्य वल्सी दास तत्मा, शंकर पासवान, दुखनीकुमारी पासवान र सुलेखादेवी गनगाईंले भोक हड्ताल थालेका हुन्।

आफ्नो पालिकाको क्षेत्रमा पर्ने हुलाकी राजमार्गको काम लामो समयदेखि अलपत्र अवस्थामा छाडेका कारण स्थानीयहरुले सास्ती खेप्नु परेकाले तत्काल निर्माण सुचारु हुनुपर्ने माग राख्दै उनीहरु अनिश्चितकालीन भोक हड्तालमा आउनु परेको बताएका छन्।

वडाध्यक्ष कामतसहित अन्य जनप्रतिनिधिहरु सडक निर्माणको माग राख्दै हड्तालमा बसेपछि स्थानीयहरुले पनि उनीहरुलाई साथ दिँदै हड्तालमा बसेका छन्। सडक निर्माण थालेर पूरा नगरी आधाभन्दा बढी काम त्यसै छाडेका कारण खाल्डाखुल्डी, धूलो, सडक किनारामा थुपेका निर्माण सामग्रीले गर्दा दैनिक दुर्घटना हुँदासमेत सम्बन्धित निकालयले ध्यान नदिएपछि भोक हड्तालमा आउनु परेको वडाध्यक्ष कामतले बताए।

उनले यसअघि ज्ञापनत्र बुझाउनेदेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दा समेत सुनुवाई नभएपछि भोक हड्तालमा आउन बाध्य भएको बताए। स्थानीयले बन्द गरिएको काम चाँडो सुचारु गर्दै दुर्घटनाको जोखिम कम गर्न गाउँपालिका अध्यक्ष देवराज चौधरीलाई ज्ञापनपत्र बुझाएका थिए। चौधरीले काम सुचारु गराउन कुनै पहल नगरेको र आफूसहित स्थानीयहरु हड्तालमा बस्दासमेत सहयोग नगरेको बताइएको छ।

कटहरी चोकमा केही दिनअघि स्थानीयहरुले बन्द भएको सडक निर्माण तुरुन्त सुचारु गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका थिए। आन्दोलनका क्रममा तोडफोड हुन थालेपछि प्रहरीले राजेश कामतलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा मुद्दा चलाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

सडक निर्माण कार्य बन्द नगरी निर्माण कार्य तुरुन्तै थाल्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रेका कटहरीका स्थानीयहरुले शान्तिपूर्ण आन्दोलन नगरी सवारीसाधनका सिसा फुटाउने लगायतका अशान्तिपूर्ण आन्दोलनमा उत्रेका कारण प्रहरीले हस्तक्षेप गर्नुपरेको बताउँदै, डिएसपी दाहालले भने, ‘आन्दोलन शान्तिपूर्ण नभएपछि हस्तक्षेप गर्न बाध्य भयौं। अशान्त मचाउने १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने ८÷१० जना फरार रहेका छन्। फरार भएकाहरुको खोजी कार्य भइरहेको छ।’

आन्दोलनकारीहरुले गाउँपालिका अध्यक्ष माथि दुव्र्यवहार गरेपछि पालिकाको कार्यालयले पत्र पठाएर अध्यक्ष र पालिकाको भवनको शान्ति सुरक्षा र धनजनको क्षति हुन नदिनका लागि शान्ति सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाइ दिन पत्र पठाएको डिएसपी दाहालले बताए।  

कटहरी हुँदै रंगेलीसम्मको निर्माणमा ठेकेदारले लापरबाही गरिरहेका छन्। गाउँपालिकाभित्र पर्ने सडकको खाल्डाका कारण दुर्घटना हुँदा ३ जनाको मृत्यु भइसकेको बताउँदै, वडाध्यक्ष कामतले भने, ‘शान्तिपूर्ण आन्दोलनलाई गाउँपालिका अध्यक्षले सुरक्षाकर्मी प्रयोग गरेर दबाउने काम गरेका छन्। गाउँपालिका अध्यक्षले माफी मागेर जतिसक्दो चाँडो राजमार्ग निर्माणका लागि पहल गर्ने प्रतिवद्धता नजनाएसम्म आन्दोलन राकिँदैन । हाम्रो आन्दोलनमा जनताको साथ रहेको छ।’

सडक निर्माण सुचारु गर्न आफूले पहल गरिरहेको बताउँदै, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले भने, ‘ठेकेदारले बदमासी गर्दा पालिकाका जनताले मात्रै नभई यस बाटो प्रयोग गर्ने सबैले दुःख पाएका छन्। चाँडो काम गर्न सम्बन्धित निकायलाई दबाब दिने काम भइरहेको छ। आन्दोलनका नाममा अराजकता मच्चाउनेको पक्ष लिन सकिँदैन।’

वैशाख २१ गते विराटनगरमा प्रतिनिधिसभा सदस्य, कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखहरुले पत्रकार सम्मेलन हुलाकी सडक निर्माण तत्काल सुरु नभए आन्दोलन थाल्ने चेतावनी दिएका थिए।

प्रकाशित: ७ असार २०८० १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App