१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अतिरिक्त हुलाकका कर्मचारीको भविष्य अन्योलमा

आन्दोलनमा उत्रिएका अतिरिक्त हुलाकका कर्मचारीहरू। तस्विरः गणेश/नागरिक

राप्तीसोनारी–२ कचनापुरका शखीलाल थारु २०४९ जेठ २ गतेदेखि अतिरिक्त हुलाक कार्यालयमा सेवा प्रवेश गरे। त्यति बेला उनको मासिक तलब थियो, ‘तीन सय ५०।’ हाल उनको तलब आठ हजारसम्म पुगेको छ।

राप्तीसोनारीकै मनकामना खत्रीले २०५५ सालमा अतिरिक्त हुलाक कार्यालयको सेवा प्रवेश गरिन्।त्यति बेला पाँच सयबाट उनले जागिर सुरु गरेकी थिइन्।

उनको प्रमुख आयस्रोत नै यही थियो। तर, आज सरकारले पाउने पारिश्रमिक मात्र होइन, प्रमुख आर्थिक स्रोत नै बन्द गरिएको उनको भनाइ छ। ‘हिजो घामपानी नभनी गाउँ गाउँ पुगेँ,’ उनले भनिन्, ‘त्यति बेला ज्यान नै जोखिममा थियो। तर, जोखिममा परे पनि कर्तव्य पूरा भने गरेरै छाड्यौँ।’ तर, हिजो जोखिममा परेर काम गरेकालाई आज राज्यले अन्याय गरेको उनको भनाइ छ।

बाँकेमा ३५ वटा अतिरिक्त हुलाक कार्यालय छन् भने यसमा ९५ जना कर्मचारी कार्यरत छन्। अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा भएसँगै अब उनीहरूको भविष्य अन्धकारमा धकिलिएको छ। ‘तीन छोराछोरीको गाँसबास, शिक्षादीक्षा र अन्य खर्च यसैबाट चलाउँछु,’ मनकामनाले भनिन्, ‘अब कसरी घरपरिवार चलाउने।’ बजेट भाषणका दिन उनलाई सरकारले विशेष राहत प्याकेज ल्याउँछ भन्ने आशा थियो। तर उल्टै जागिर नै जाने गरी बजेट आएपछि उनलाई थप चिन्ता बढेको छ। सामान्य तलबमा काम गरेकालाई सरकारले अन्याय गरेको उनी बताउँछिन्।

यसरी सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरू आन्दोलित भएका छन्। आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेकाले उनीहरु असार ४ गतेदेखि आन्दोलित भएका हुन्।

उक्त आन्दोलन बुधवार पनि जारी रह्यो। नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरुले बुधवार जिल्ला हुलाक कार्यालय अगाडि आन्दोलन गरे। उनीहरुले चार वटा माग राखेका छन्। अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर्ने,अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको रोजगारी नखोस्ने, हुलाकको संरचना खारेज होइन यसको सेवाको पुनः संरचना गर्ने र राजीनामा दिइ सेवाबाट नियमितरुपमा अवकाश भएका वा हुने कर्मचारीहरूको सेवा अवधि तथा सेवा सुविधा सुनिश्चित गर्न उनीहरुले माग गरेका छन्।

बुधवार उनीहरुले अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरेर विरोध गरेका थिए भने इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयमा कालो पट्टी बाँधी शान्तिपूर्णरुपले विरोध प्रदर्शन गरेका थिए। यो कार्य असार ९ गतेसम्म चल्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन जिल्ला समिति बाँकेका अध्यक्ष शखीलाल थारुले जनाए। उनका अनुसार असार १० गतेदेखि थप आन्दोलन हुनेछ। अतिरिक्त हुलाक, इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरूमा माग पूरा नभएसम्म प्रदर्शनका साथै कामकाज ठप्प पारी तालाबन्दी गर्ने र यो चरणको आन्दोलन सकिँदासम्म पनि सरकारले माग पूरा नगरेमा यसपछि हुलाक सेवा विभागमा धर्नाका कार्यक्रम राखिने जिल्ला अध्यक्ष थारुले जनाए।

अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरूलाई राज्यले अन्यायपूर्ण व्यवहार गरेको राप्तीसोनारीकी डाँक बहाक मनकामना खत्रीले जनाइन्। ‘हिजो राज्यलाई आवश्यक पर्दा ज्यानै जोखिममा राखेर हामीले सेवा सहजरुपले गरेका थियौं,’ उनले भनिन्, ‘आज राज्यलाई आवश्यक भएन भनेर आफूखुसी कर्मचारीलाई अव्यवस्थित बनाउन मिल्छ ?’ सरकारले अतिरिक्त हुलाकका कर्मचारीलाई गरेको अन्यायपूर्ण व्यवहार फिर्ता गर्नु पर्ने उनको भनाइ छ।

प्रकाशित: ६ असार २०८० ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App