७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चौदण्डीगढीका कृषकलाई उन्नत नश्लका बोका

बोका वितरण कार्यक्रममा सहभागी सेवाग्राहीहरु। तस्विरः महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिकाका बाख्रा पालक कृषकलाई उन्नत नश्लका बोका वितरण गरिएको छ। 

नगरपालिकाको कृषि विकास शाखाले बाख्रा पालन गर्दै आएका कृषकलाई व्यवसायिक बाख्रा पालनमा प्रोत्साहन गर्न उन्न्त नश्लका बोका वितरण गरेको हो।

बाख्रा पाल्दै आएका नगरबासीलाई व्यवसायिक बनाउँदै लाने उदेश्यका साथ नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार विभिन्न ४ किसिमका उन्नत नश्लका बिउ बोका वितरण गरेको हो। कृषि र पशुपालन गर्दै आएका र यही पेशामा रमाउन चाहने नगरबासीलाई व्यवसायिक हुन प्रोत्साहन गर्नेगरी बाख्रामा नश्ल सुधार कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

कृषकलाई सिरोही, बिटल, अजमेर र सोजत जातका उन्नत नश्लका बोका नगरका १० वटै वडालाई ३ देखि ४ वटाका दरले वितरण गरिएको नगर कृषि विकास शाखाले जनाएको छ। जस अनुसार नगरभरीका ३५ वटा कृषक समूहलाई बोका वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्र गुरागाईले बताए। उनका अनुसार सिरोही, बिटल, अजमेर र सोजत जातको उन्नत बिउ बोका कृषकलाई दिइएको छ। यी जातका बोकाबाट उत्पादित पाठापाठी वर्षदिनमा ७० देखि १ सय किलोसम्म मासु उत्पादन हुने गरी हलक्क बढ्ने, जुनसुकै मौसममा बाँच्न सक्ने क्षमताका हुने गुरागाईले बताए। त्यसैग्री रोगप्रतिरोधी क्षमता बढी र पौष्टिक तत्वयुक्त मासु हुने कृषि विज्ञहरुको सुझाव रहेको पनि हाकिम गुरागाईले बताएका छन्।

सोमबार कृषि शाखाद्वारा आयोजित एक कार्यक्रममा नगरप्रमुख कालुमान तामाङले बोका कृषकहरुलाई हस्तान्तरण गरे। उन्नत नश्लका भएकाले यी जातका बाख्रा पालन गर्दा कृषकहरुलाई व्यवसायिक बनाएर आर्थिकरुपमा सबल पार्ने अपेक्षा नगरपालिकाले लिएको मेयर तामाङले बताए। उनले कृषि र पशुपालन व्यवसायमार्फत आगामी १० वर्षभित्र चौदण्डीगढी नगरपालिका आत्मनिर्भर हुँदै आयत प्रतिस्थापन गर्न सक्षम हुने गरी कार्ययोजना बनाएर अघि बढेको बताए। मेयर तामाङले नगरको कृषि विकासमा हेफर इन्टरनेशनल नामक साझेदार संस्थासँगको समन्वयमा चालु वर्षदेखि कृषि कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन्।  

प्रकाशित: ५ असार २०८० ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App