३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटक आकर्षित गर्न धरानमा झण्डी डाँडा

ध्वजे डाँडामा नेपालसहित विभिन्न २२ राष्ट्रको झण्डाको झण्डोत्तलन गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत।

पूर्वकै चर्चित पर्यटकीय गाउँपालिका साँगुरीगढी ५ डाँडा बजारस्थित ध्वजे डाँडामा विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्न नेपालसहित २२ राष्ट्रका झण्डाहरु फहराइएको छ।

विभिन्न २२ राष्ट्रको झण्डा राखिसकेपछि गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायत।  

नेपाल पर्यटन बोर्डकोसमेत आर्थिक सहयोगमा नेपालसहित सार्क राष्ट्र र अन्य मित्रराष्ट्रहरुको पनि झण्डा सोमबार राखिएको हो। चर्चित पर्यटकीय गन्तव्य भेडेटार, नाम्जेसमेत पर्ने साँगुरीगढी गाउँपालिकाको सबैभन्दा उचाईको ठाउँ हो ध्वजे डाँडा।

उक्त डाँडाबाट मौषम खुलेको बेला बिहानै सूर्योदयको मनोरम दृश्यावलोकन गर्न सकिन्छ भने तराईका फाँट र हिमशृङ्खला पनि देखिन्छ। भेडेटार र नाम्जेसम्म आएका पर्यटकहरुलाई ध्वजे डाँडामा पनि आकर्षित गर्न अहिले २२ राष्ट्रको झण्डा राखिएको र भविष्यमा विश्वका सबै मुलुकका झण्डा राखिने गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए।

डाँडामा राखिएको झण्डाहरुलाई सोमबार गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष मुना राईसहित जनप्रतिनिधि, पर्यटनकर्मी, स्थानीय बुद्धिजिवि, पत्रकार लगायतले झण्डोत्तोलन गरेका थिए। 

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न अब ध्वजे डाँडालाई झण्डी डाँडा र फ्लाग हिल पनि भनेर परिचित गराइने पर्यटनकर्मीहरुले बताएका छन्।

‘पर्यटकहरुलाई नयाँ आकर्षण र गन्तव्य चाहिएको छ। अब भेडेटार र नाम्जे घुम्न आउने भारतलगायत विदेशी पर्यटकहरुलाई फ्लाग हिल जानुस्, र त्यहाँ गएर आफ्नो राष्ट्रको झण्डामुनि उभिएर सेल्फी खिच्न पाउनुहुन्छ भनेर पठाउन सकिन्छ,’गाउँपालिका अध्यक्ष राईले भने,‘यहाँबाट देखिने मनोरम प्राकृतिक दृश्य, मौषमले पनि पर्यटकहरुको मन रमाउनेछ।’

पर्यटनकर्मी वासुदेव बरालले करिब डेढ दशक अघिको सपना साकार हुँदै गएको भन्दै ध्वजे डाँडालाई झण्डी डाँडा र फ्लाग हिलकोरुपमा प्रचार गर्न सके विदेशी पर्यटकहरु पनि आउने बताए।

उनले भने,‘संयुक्त राष्ट्रसंघको कार्यालयमा मात्र विश्वका सबै देशको झण्डा राखिएको छ। यहाँ पनि विश्वका सबै देशको झण्डा छ भन्दा नौलो हुनेछ, र पर्यटकहरुलाई आकर्षित गर्छ।’

बाइस मुलुकको झण्डा राख्न पर्यटन बोर्डबाट ५ लाख बजेट आएको हो भने गाउँपालिकाबाट १ लाख २५ हजार र जनसहभागिता ३५ हजार ६०४ रुपैयाँ लगानी भएको छ।

स्थानीय बुद्धिजीवी एवं पर्यटनविद् कृष्ण ब्लोनले ध्वजे डाँडालाई अन्तर्राष्ट्रियस्तरमा पनि प्रचारप्रसार गराउने उद्देश्यले विश्वका सबै राष्ट्रको झण्डा राख्ने अवधारणा ल्याइएको बताए। 

‘ध्वजे डाँडालाई झण्डी डाँडा र फ्लाग हिल पनि भन्ने र अन्तर्राष्ट्रियस्तरमा पनि यसको प्रचारप्रसार होस् भन्ने उद्देश्यले विभिन्न राष्ट्रको झण्डा राख्ने अवधारणा ल्याइएको हो,’उनले भने,‘यसले ध्वजे डाँडाको पर्यटन प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण टेवा पुग्छ भन्ने विश्वास लिएका छौं।’

उनका अनुसार ध्वजे डाँडामाकिरात धर्मावलम्बीहरूको माङखिम पनि छ। त्यहाँ थप बुद्धको ठुलो प्रतिमा पनि राख्न सके धार्मिकरुपमा पनि उक्त क्षेत्र महत्त्वपूर्ण गन्तव्य हुने उनले बताए। पर्यटकहरुलाई बास बस्नको लागि होम स्टेको पनि व्यवस्था रहेको उनले जानकारी दिए।

प्रकाशित: ४ असार २०८० १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App