१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ।

संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर संखुवासभामा भएको क्षतिबारे अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो।

भेटमा सांसद् खड्काले संखुवासभामा आएको बाढीले दर्जनौं जलविद्युत् गृहमा क्षति पुग्दा राज्यलाई अर्बौको क्षति हुनुका साथै जलविद्युत  गृहमा कार्यरत मजदुर समेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए। साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका थिए।

भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीलाई निर्देशन समेत दिइसकेको बताए। बाढीले पुर्‍याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद् खड्काले बताए।

प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए। संखुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ।

प्रकाशित: ३ असार २०८० ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App