५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कार्यालय बन्द गरेर हुलाक कर्मचारी आन्दोलित

सरकारले आउँदो वर्षदेखि अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि त्यसमा कर्मचारी आन्दोलित बनेका छन्। ज्यादै थोरै तलबमा काम गर्न बाध्य देशभरका ११ हजार हाराहारी कर्मचारीको रोजीरोटी सरकारको घोषणाले खोसिने भएको भन्दै उनीहरू काम ठप्प पारेर आन्दोलनमा होमिएका हुन्।

इलाममा पनि ४० अतिरिक्त हुलाकका डेढ सय कर्मचारी अहिले काम छाडेर आन्दोलित बन्नेक्रममा रहेको नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका जिल्ला अध्यक्ष लीला लम्सालले बताए। 

‘सरकारको घोषणाले हाम्रो खाइपाइ आएको रोजीरोटी खोसिएको छ,’ उनले भने, ‘निकै कम तलबमा काम गरिरहेका कर्मचारीको पेट पाल्ने मेलो हराउने भएको छ।’

अध्यक्ष लम्सालका अनुसार सरकारको विकल्पहीन घोषणाले ३० वर्षयता कार्यरत कर्मचारी खालीहात घर फर्किनुपर्ने अवस्था निम्तिएको छ। अतिरिक्त हुलाकमा तीन खालका कर्मचारी छन्– प्रमुखका रूपमा रहेका हुलाक प्रतिनिधि, डाकबाहक र पत्र वितरक। हुलाक प्रतिनिधिले मासिक ८ हजार र बाँकी २ खालका कर्मचारीले ७ हजार रुपैयाँ पाउँदै थिए।

लम्सालले ती कर्मचारीलाई स्थायी, अस्थायी वा करार भन्नेसम्म नछुट्याइएको बताए। र, विगतका बजेटमा अरू कर्मचारीको तलब, सेवा–सुविधा बढ्दा आफूहरूको नबढाएको उनको भनाइ छ। 

‘अहिले आएर सरकारले कुनै विकल्प नदिई हामीलाई हटाउन लागेको छ,’ उनले भने, ‘अतिरिक्त हुलाकको कामै छैन भन्नु गलत बुझाइ हो, काम घटेको हो तर हजारौंको रोजीरोटीका लागि पनि यसलाई विकल्प दिएर समाधान गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

उनले सरकारले आउँदो वर्ष २०८०/०८१ को बजेट घोषणा गरेको दिन (जेठ १५) देखि नै आफूहरू अतिरिक्त हुलाकमा ताला लगाएर आन्दोलनमा होमिएको बताए। हुलाकमा पत्रको संख्या कम हुँदै गए पनि पत्र आदान–प्रदान भने हुने गरेको छ।

जिल्ला हुलाक प्रमुख गणेश घिमिरेले अतिरिक्त हुलाकका कर्मचारीले काम नगर्दा र यी हुलाक हटाउँदा ठुलो असर पुग्ने बताए।

‘अतिरिक्त हुलाक हटाउँदा दरबन्दी थपिएन भने निकै ठुलो समस्या आउनेछ,’ उनले भने, ‘अहिले पनि कतिपय अतिरिक्त हुलाक बन्द गरेर कर्मचारी आन्दोलनमा होमिँदा काममा बाधा पुगेको छ।’ प्रमुख घिमिरेले अतिरिक्त हटाउँदा जिल्लाका ८१ वटै वडामा कम्तीमा १ कर्मचारीको दरबन्दी थपिनु आवश्यक हुने बताए।

करार ऐन–२०३१ अनुसार नियुक्त अतिरिक्त हुलाकका कर्मचारी अतिरिक्त कामकै लागि नियुक्त भएका हुन्। शिक्षक, व्यवसायी लगायत अन्य काममा कार्यरतले समेत अतिरिक्त हुलाकको काम गर्न सक्ने व्यवस्था ऐनमा छ। 

‘अहिले हुलाकमा पत्रको चाप कम भएपनि कामै नभएको चाहिँ होइन,’ उनले भने, ‘बैंक लगायत धेरै खाले कार्यालयीय पत्र घर, अफिस र टोल–टोलमै पुर्‍याउनुपर्ने भएकाले कर्मचारी नभई त सम्भव हुँदैन।’ 

इलाममा १ जिल्ला हुलाक, ४० अतिरिक्त र ११ इलाका हुलाक छन्।

प्रकाशित: २८ जेष्ठ २०८० १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App