सहरमा कहीँ कतै पनि फोहर देख्न पाइँदैन। धुलो त परेको कुरा। मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन्। जताततै रुख रोपिएका छन्। त्यसमा नियमितरुपमा पानी हालिन्छ।
फोहर राख्नका लागि मिलाएर राखिएका डस्टबिन छन्। सहरवासीले कुन प्रकारको फोहर हो, हेरेर त्यसैमा राख्छन्। कोही कसैले पनि सार्वजनिक स्थानमा फोहर गर्दैनन् पनि। मानिसमा चेतनाको विकास भएको छ, आफ्नो सहर, आफ्नो टोल र समुदायलाई कसरी स्वस्थ र हराभरा बनाउने। स्थानीय सरकार पनि उत्तिकै प्रभावकारी छ। सबै प्रकारको सहयोग उपलब्ध गराएको छ, आफ्ना नागरिकलाई। प्रदेश सरकार र सङ्घीय सरकारले पनि त्यसमा आड भरोसा गरेको छ।
धुलो, धुवाँ र फोहररहित सहर बनाउने कुरा आफैँमा सामान्य र चानचुने विषय नै होइन। गरे सम्भव हुँदो रहेछ। भागवत गीतमा भने जस्तै ‘तिमी आँट म पुर्याउँछु।’ यहाँ भएको यस्तै छ। फोहर, दुर्गन्ध र धुवाँ तथा धुलोले आक्रान्त भएको काठमाडौँको अवस्था होइन यो। यो त, छ सय ८६ माइल अर्थात् एक हजार एक सय चार किलोमिटर टाढा रहेको भारतको मध्यप्रदेशस्थित इन्दौरको अवस्था हो।
भारतको सबैभन्दा स्वच्छ र सफा सहरको नाम राखेको ‘इन्दौर’को सकारात्मक अनुभवलाई अन्यत्र पनि अनुकरण गर्न खोजिएको छ। भारत सरकारले त्यसको प्रचारप्रसार मात्रै गरेको छैन, अनुभव साटासाट समेत गराएको छ। कुनै समय काठमाडौँ उपत्यका जस्तै फोहर रहेको ‘इन्दौर’ले कसरी प्रगति ग¥यो त रु आम मानिसमा चासो हुनु स्वाभाविक छ।
काठमाडौँ उपत्यकामा बेलाबखतमा फोहरको समस्या बल्झने गरेको छ। फोहर व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सङ्घीय सरकार र स्थानीय सरकारको टाउको दुखाइको विषयसमेत बन्ने गरेको छ। जहाँ समस्या त्यहाँ समाधान। जहाँ फोहर त्यहाँ मोहोर भन्ने नारालाई वास्तवमै आत्मसात् गरेको इन्दौरको सफल अभ्यास नेपालका लागि पनि सफल उदाहरण बन्न सक्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १७ गतेदेखि २० गतेसम्म गर्नुभएको औपचारिक भारत भ्रमणका क्रममा इन्दौर र उज्जैनकोसमेत भ्रमणको कार्यक्रम थियो। बर्सेनि लाखौँ पर्यटक भित्र्याउन सफल ती दुई सहरको आआफ्नै विशेषता र महत्त्व पनि छन्। एकातिर धार्मिक पर्यटन, अर्कोतर्फ सूचना प्रविधि र औद्योगिक विकासका फड्को मात्रै गएको इन्दौरले राखेको स्वच्छ भारत अभियानको नामले सुनमा सुगन्ध थपे जस्तै भएको छ।
फोहरलाई मोहर अनि त्यसैलाई पुनः प्रयोगको सफल उदाहरण बनेको छ इन्दौर। यसको पछाडिको रहस्य के होला ? भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री दाहाल र भ्रमण दलमा सहभागी प्रतिनिधिमण्डलले पनि जान्ने कोसिस गर्यो। यहाँ फोहर उत्पादनको स्रोत, घरमा नै फोहरलाई विभिन्न छ भागमा विभक्त गरिन्छ। हरेक दिन नै इन्दौर नगर निगमको सवार साधनले ती फाहोर सङ्कलन गर्छ। सो सवारी साधनमा नै कुहिने, नकुहिने, प्लास्टिक, औषधिजन्य फोहर सङ्कलन गर्ने व्यवस्था गरिएको छ। इन्दौर सहरको ८५ वडामा पाँच सयभन्दा बढी फोहर सङ्कलन गर्ने सवारीसाधन पुग्छन् र सङ्कलन गर्छन् । मासु तथा माछा पसलबाट निस्कने फोहर सङ्कलनका लागि छट्टै सवारीसाधनको व्यवस्था गरिएको छ।
सङ्कलित फोहरलाई पहिलो चरणको व्यवस्थापन लागि १० वटा ट्रान्सफर सेन्टर स्थापना गरिएको छ। ती केन्द्रलाई स्वचालित बनाइएको छ। जैविक फोहरलाई विकेन्द्रित गरिन्छ। नगर निगमले फोहर व्यवस्थापनका लागि छुट्टै कानुन बनाएको छ। होटेल, अस्पताल तथा धेरै फोहर उत्सर्जन गर्ने स्थानमा नै फोहर व्यवस्थापनका लागि निगमले विशेष व्यवस्था गरिदिएको छ। सहरको सबैभन्दा ठुलो तरकारी बजारमा बायो ग्यास उत्पादनका लागि प्लान्ट स्थापना गरिएको छ। तरकारी बजारबाट दैनिक निस्कने २० देखि २५ टन फोहर त्यहीँ व्यवस्थापन गरिन्छ। प्लान्टले दैनिक निस्कने एक हजार किलो बराबरको बायो ग्यास इन्दौर नगर निगमले सञ्चालन गर्ने सहरी बसमा प्रयोग गरिन्छ। त्यसबाट बाँकी रहने अवशेषलाई जैविक मलका रूपमा प्रयोग गरिन्छ। यसले एकातिर इन्धन खरिदका लागि जाने ठुलो रकम बचेको छ भने अर्कोतर्फ कृषि उत्पादनमा वृद्धि भएको छ।
सहरमा रोपिएका रुख तथा बिरुवाको पातलाई समेत मल बनाइएको छ। ती मल नगर निगमले रोपेका ती बिरुवा वा रुखमा नै प्रयोग गरिन्छ। सहरभित्र कपाल काट्ने पसलबाट निस्कने कपाल व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाइएको छ। स्थानीय नेहरु पार्क र इन्दौर चिडियाखानाबाट निस्कने फोहर व्यवस्थापनका लागि ‘अर्ग्यानिक वेस्ट कन्भटर मेसिन’ राखिएको छ। त्यसबाट दैनिक निस्कने फोहर व्यवस्थापन गरेर जैविक मल बनाइन्छ। प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि प्लास्टिक क्रसिङ मेसिन राखिएको छ। सार्वजनिक सवारीसाधनमा फोहोर फाल्नका लागि डस्टबिन राखिएको छ।
दैनिक तीनदेखि चार पटकसम्म नगर निगमको विशेष वाहनले सडक बढार्ने व्यवस्था मिलाइएको छ। घरमा नै कुहिने फोहर व्यवस्थापन गरेर मल बनाउनका लागि प्रेरित गरिएको छ। त्यसबाट स्रोतमा नै कम फोहर उत्पादन हुन थालेको छ। यसलाई सहरभर नै अभियानका रूपमा अगाडि बढाइएको छ। प्लास्टिक तथा नकुहिने फोहर सङ्कलनका लागि नगर निगमले नै व्यवस्था गरेका व्यवसायीले घरघर पुगेर खरिद गर्ने व्यवस्था गरिएको छ।
वर्षौँदेखि सहरको सार्वजनिक स्थानमा थुप्रिएको १२ लाख टन बढी फोहरलाई बायोरेमिडिशन प्रक्रियाबाट मल बनाइएको छ। त्यसबाट सहरमा नयाँ पार्क निर्माण गरी हरियाली प्रवर्द्धन गरिएको छ । बाँकी रहेका प्लास्टिकजन्य वा अन्य फोहरको पनि विशेष तवरले व्यवस्थापन गरिएको छ। फोहरमा फालिएका तर पुनः प्रयोग गर्न सकिने फोहरका लागि छुट्टै प्रबन्ध गरिएको छ। ती फोहर सिमेन्ट प्लान्ट वा प्लास्टिकजन्य सामग्री निर्माणका लागि उपयोग गरिन्छ। सो कार्यका लागि विशेष सुविधासहितको रोजगारी पनि दिइएको छ।
दैनिक सङ्कलन हुने छ सय टन बढी फोहरलाई विशेष फोहर प्रशोधन केन्द्रमा लगिन्छ। त्यसलाई २८ दिनको विशेष प्रक्रियाबाट ८० टन बराबरको मल उत्पादन गरिन्छ। सो मल प्रतिकिलो खुला दुई रुपैयाँ र प्याकिङ गरिएको मल तीन रुपैयाँ भारुमा बिक्री गरिन्छ। उक्त मल स्थानीय किसानले खरिद गरेर लैजान्छन् भने बाँकी रहने फोहर स्थानीय पार्क तथा बिरुवाका लागि प्रयोग गरिन्छ। घर तथा आवास पुनः निर्माणबाट निस्कने फोहर व्यवस्थापनका लागि छुट्टै प्रशोधन प्लान्ट स्थापना गरिएको छ। त्यसबाट इँटा वा सडकमा बिछ्याउने ब्लक निर्माण गरिन्छ । सो सामग्रीसमेत नगर निगमले आफ्नै नवनिर्माणमा प्रयोग गर्ने गरेको छ।
खासमा केही वर्ष पहिलेसम्म इन्दौर यति स्वच्छ र सफा होला भन्ने धेरैलाई लागेको थिएन, तर अहिले वास्तविकतामा परिणत भएको छ। उनीहरू भन्छन्, खासमा यो त सुरुवात मात्रै हो, लामो यात्रा अझै बाँकी छ। स्वच्छता अभियानमा सन् २०१७ मा इन्दौर पहिलो पटक पहिलो नम्बरमा आउन सफल भएको छ।
सहरलाई स्वच्छ बनाउनका लागि आम नगर बासीले सङ्कल्प नै गरेका छन्। त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गरेका छन्। शुरुआती चरणमा सहर सफाइका लागि रेडियो, टेलिभिजन पत्रपत्रिका, बाल पेन्टिङ गरेर जनचेतना जगाइयो। फोहर सङ्कलनका लागि गुड्ने सवारीसाधनमा जिपिएस जडान गरिएको छ। यस्तै ५० माइक्रोनभन्दा कम प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
निगमका प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहका अनुसार इन्दौरले वातावरण संरक्षण र फोहर व्यवस्थापन गरेर मात्रै ‘कार्बन क्रेडिट बिक्री गरेर’ झन्डै रु १० करोड भारु बराबरको आम्दानी गरेको छ। सहरमा बिजुलीको खर्च बचाउनका लागि सौर्य प्रणाली जडान गरिएको छ। त्यसका लागि ‘ग्रिन बण्ड’ बिक्री गरेर स्रोत सङ्कलन गरिएको थियो। त्यसबाट ६० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गरिएको छ। उक्त बण्डलाई धर्ती बचाउने महाअभियानको नाम दिइएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले फोहर व्यवस्थापन केन्द्र, वायोग्यास उत्पादन स्थल, फोहरको पुनः प्रयोग वा व्यवस्थापन केन्द्रलगायतको स्थानको अवलोकन गरेका थिए। ती स्थानको अवलोकनपछि प्रधानमन्त्री दाहालले इन्दौरको सफल अभ्यास नेपालका लागि समेत अनुकरणीय रहेको बताए। उनले नेपाल सरकारको तर्फबाट विशेष टोली नै बनाएर इन्दौरको फोहर व्यवस्थापनका बारेमा जानकारी लिन पठाउने बताएका थिए।
काठमाडौँ उपत्यका र सहरी क्षेत्रको फोहर व्यवस्थापन गर्न नसकेर समस्यामा परेको सरकार र सरकारका कार्यकारी प्रमुखले नै त्यसमा विशेष चासो लिएर सकारात्मक अनुभवलाई यहाँ प्रयोग गर्ने सङ्कल्प गरेका छन्। विशेषतः काठमाडौँ उपत्यकाका लागि यो तत्काल गरिहाल्नुपर्ने कामका रूपमा छ। त्यसका लागि आजैदेखि पहल थाल्नु जरुरी छ। केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको ‘स्वच्छ भारत अभियान’ को सफल अभ्यास इन्दौरबाट काठमाडौँले सिक्दा केही फरक पर्दैन। त्यसका लागि जागरूकता र प्रतिबद्धता भएमा फोहरमाण्डौँमा परिणत भएको काठमाडौँ उपत्यका पनि इन्दौर जस्तै सफा र स्वच्छ हुन सक्छ। -रमेश लम्साल
प्रकाशित: २८ जेष्ठ २०८० ०९:४३ आइतबार