६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सामुदायिक वनमा अवैध रुख कटान

दुधकोसी सामुदायिक वन समूहमा काटिएको रुखको ठुटो। तस्बिर: महेश्वर

यहाँको बेलका नगरपालिका ७ मैनामैनीस्थित दुधकोसी सामुदायिक वनमा अवैध रुख कटान भएको छ। बेलका ७ को मैनामैनी मुलगाउँ आसपासको सामुदायिक वन समूहको जंगलमा दर्जनौँ हरिया रुख विना अनुमति ढालेको पाइएपछि डिभिजन वन कार्यालय उदयपुरबाट अनुगमनका लागि टोली पठाइएको छ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार वन समूहभित्र जताततै सखुवा (साल) का रुख बग्रेल्ती ढालेर गोलीया टुना र चिरानसमेत गरेको भन्दै स्थानीयले उजुरी गरेपछि डिभिजन कार्यालयले स्थलगत अनुगमनका लागि टोली खटाएको हो। सहायक वन अधिकृत रामभगत यादव नेतृत्वमा शनिबार गएको टोलीले घटनास्थल पुगेर काटिएका रुखको विवरण लिने काम गरिरहेको डिभिजन वन अधिकृत डा. इन्द्र सापकोटाले बताए।

उनका अनुसार वनमा अवैध रुख काटेको भन्ने खबर स्थानीयले गरे अनुसार डिभिजनबाट सहायक वन अधिकृत यादव नेतृत्वको प्राविधिक टोली घटनास्थल पठाएर वास्तविकता के हो भन्ने बुझ्ने कार्य भइरहेको छ।

सहायक वन अधिकृत यादवले डिभिजनले खटाए अनुसार आफूसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार सब-डिभिजन वन कार्यालय मैनामैनीका कर्मचारीसहितको टोलीले घटनास्थल पुगेर अध्ययन गर्ने काम गरिरहेको तर, सबैतिर हेर्न नभ्याएकाले फडानी भएको सबै क्षेत्रको अनुगमन गर्न सब-डिभिजन वन कार्यालय मैनामीलाई जिम्मा दिएर आफू सदरमुकाम गाईघाट फर्कँदै गरेको बताए।

स्थानीय प्रत्यक्षदर्शीहरुका समूहमा सखुवाका ३ दर्जन बढी रुखहरू ढालिएको छ भने गोलीया बनाएर घाटगद्धी गर्नुका साथै कतिपय रुख चिरासमेत गरेको पाइएको छ। वनभित्र जताततै ढालिएका रुखका गोलीया र चिरान काठहरु अलपत्र छाडेको अवस्थामा पनि भेटिएको स्थानीयको भनाई छ। अवैध रुख काटेर वन मास्ने काम भइरहेको भन्दै डिभिजन वनले कडाईका साथ निगरानी गर्ने जनाएको छ। डिभिजनका अनुसार जंगलमा अवैध काठ कटान भइरहेको भन्दै स्थानीय उपभोक्ताले ४ दिनयता डिभिजनमा पटक पटक उजुरी दिएपछि टोली खटाइएको जनाएको छ।

काटिएको काठको परिमाण कति भन्ने यकिन नभए पनि २ हजार भन्दा बकढी क्यविकफिट रहेको अनुमान गरिएको छ। सब-डिभिजन वन मैनामैनीका प्रमुख रामचन्द्र ठाकुर बिदामा रहेकाले यथार्थ विवरण लिन नसकिएको पनि यादवले बताए।

डिभिजन र सब-डिभिजनबाट अनुमति नलिई रुख कटान भइरहेकाले अवैध कार्य भएको ठहर गरिए पनि वास्तविकता बुझ्न समय लाग्ने यादवले बताए।

प्रकाशित: २७ जेष्ठ २०८० १५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App