अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन नगर प्रमुख हरिजंग शाही, उपप्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्ष गरी ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले चारजनाविरुद्ध २२ लाख ३६ हजार बिगो माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको हो।
छायानाथ रारा नगरपालिका-७ मा बन्दै नबनेको बाटो निर्माण सम्पन्न भइसकेको भन्दै रकम विनियोजन गरी भ्रष्टाचार भएको अख्तियारको ठहर छ। बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविक रूपमा भए–गरेको कार्यभन्दा बढी नभए-नगरेको कामसमेत गैरकानुनी लाभ प्राप्त गर्ने बदनियतले गलत नापी किताब, उपभोक्ताको बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी २२ लाख ३६ हजार रूपैयाँ भुक्तानी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
छायानाथ रारा नगरपालिका, मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू, इन्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सब-इन्जिनियर हस्तबहादुर मल्लविरुद्ध संयुक्त रूपमा २२ लाख बिगो, त्यसैगरी हरिजंग शाही, तत्कालीन नगर उपप्रमुख सुन्तला रोकाया र वडा नं ७ का सदस्य पशुपति शाहीविरुद्ध संयुक्त रूपमा २२ लाख बिगो, बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव सादना मल्लविरुद्ध संयुक्त रूपमा २२ लाख रूपैयाँ मागदाबी गरिएको छ।
त्यसैगरी जिल्ला समन्वय समिति सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपालराज भण्डारीसमेत चारजना र आरके कन्स्ट्रक्सनविरुद्ध ८० लाख ५२ हजार रूपैयाँ बिगोसहित सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै अख्तियारले अर्को भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
गोपालराज भण्डारी, जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराई, आरके कन्स्ट्रक्सनका रामप्रसाद श्रेष्ठ, कन्स्ट्रक्सनकै प्रतिनिधि कृष्णबहादुर कटुवालविरुद्ध जनही ८० लाख ८२ हजार रूपैयाँ बिगो जफत गरी जरिवानासमेत हुने मागदाबी गरिएको छ। कृषि तथा बनकस जडिबुटीको जिल्ला निकासी कर संकलन गर्न ठेक्का लगाउँदा कानुनबमोजिम लिनुपर्ने जमानत नलिई र सम्झौता समेत नगरी गैरकानुनी रूपमा कर संकलन गर्न लगाएकाले कर संकलन गरी कबोलअनुसारको रकम जिल्ला समन्वय समितिलाई नबुझाई हिनामिना गरेको अख्तियारको दाबी छ।
प्रकाशित: २४ जेष्ठ २०८० ०२:०९ बुधबार