८ वैशाख २०८१ शनिबार
समाज

नेपालगन्जमा ‘स्ट्रीट फुडलेन’ सञ्चालनमा आउँदै

स्ट्रीट फुडलेन सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच भएको छलफल। तस्बिरः अर्जुन ओली/नागरिक

नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा आगामी असार १५ गते देखी स्ट्रीट फुडलेन’ सञ्चालनमा आउने भएको छ। स्थानीय स्वादलाई एकीकृत गरेर एकै ठाउँबाट पस्किने उद्देश्यले स्ट्रीट फुडलेन सञ्चालनमा ल्याउन लागिएको हो।

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा मंगलबार भएको सरोकारवालाबीच भएको छलफल पश्चात् १५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टर अध्यक्ष एवम् नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिए।

उक्त छलफलमा उपस्थित भएका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जलाई पर्यटनसँग जोड्न स्ट्रीट फुडलेन महत्त्वपूर्ण साबित हुने बताए। यसका लागि उपमहानगरपालिकाले स्ट्रीट फुडलेन क्षेत्रमा सार्वजनिक शौचालय, फोहोर मैला व्यवस्थापन, लगायत काममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

समितिका संयोजक सिग्देलले स्ट्रीट फुडलेनले नेपालगन्जलाई चिन्न सजिलो हुने र नेपालगन्जलाई पनि चिनाउने बताए। यसका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको भनाई छ।

‘यो सुरु भएपछि नियमित रुपमा समन्वय र अनुगमन गर्नुपर्छ, यसको लागि एउटा टिम बनाउनुपर्छ,’ सिग्देलले भने।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख (उपसचिव) दिनेश अधिकारीले स्ट्रीट फुडलेन पर्यटनसँग जोडिएको विषय भएको बताए। यस वर्ष पर्यटन डिभिजन कार्यालयसँग सहयोग गर्ने कुनै त्यस्तो कार्यक्रम नभए पनि आगामी आर्थिक वर्षमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

छलफलमा उपस्थित भएका नेपालगन्जका पूर्व मेयर विजय गुप्ता, उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्धिन राई, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, संघका प्रतिनिधि भीम रानाभाट, वाणिज्य कार्यालय नेपालगन्जका विष्णुप्रसाद धिताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत अञ्जु हुमागाईँ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रजनीश वाजपेयी र वडा नम्बर ११ का नन्द किशोर कश्यप, सामाजिक अभियन्ता डा. विनोद कर्ण, पर्यटन व्यवसायी, सञ्चारकर्मी, पत्रकार लगायतले स्ट्रीट फुडलेन नेपालगन्जको समृद्धिसँग जोडिएको भन्दै चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए।

प्रकाशित: २३ जेष्ठ २०८० १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App