८ वैशाख २०८१ शनिबार
समाज

यात्रीले फालेको फोहरका कारण विपी राजमार्गमा दुर्गन्ध बढ्दै

फाइल तस्बिर।

राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको होटल पसलहरूले जथाभावी फोहर फाल्ने गरेका कारण विपी राजमार्गमा दैनिकजसो दुर्गन्ध बढ्दै गएको छ।

सार्वजनिक सवारीसधान तथा निजी सवारीसधान प्रयोग गरी यहाँका राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले प्रयोग गर्ने पानी र जुस प्याक गर्न बनेको प्लास्टिकका बोतल, प्लास्टिक झोला र अन्य प्लास्टिकजन्य वस्तुहरू जथाभावी फाल्ने गरेका कारण सडक नाली र सडक छेउछाउमा निकै फोहर बढेको हो।

त्यसरी सडक आसपासका क्षेत्रमा फोहर बढ्न थालेपछि सो राजमार्गले छोएका नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडक क्षेत्रमा सरसफाइ अभियान थालेको छ। नगरपालिकाको दोस्रो कार्यकालको नयाँ नेतृत्व आएपछि राजमार्ग क्षेत्रलाई सरसफाइ गर्ने, सवारी चालकहरूलाई जथाभावी फोहर नफाल्न सचेत गराउने र होटल तथा पसल सञ्चालकहरूलाई समेत फोहर व्यवस्थित गर्न जनचेनामूलक अभियान सञ्चालन गर्दै आएको छ।

यसैबीच, विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाइका क्रममा नगरप्रमुख कुन्साङ लामा र उपप्रमुख रत्नबहादुर लामाको नेतृत्वमा सो क्षेत्रमा सञ्चालित होटल, पसलका साथै निजी तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहर फालेको भेटिएपछि सचेत गराइएको छ। उनीहरूलाई फोहोर नफाली सभ्य नागरिकको परिचय दिन र वातावरण सफा बनाउने काममा सहयोग गर्नसमेत आग्रह गरेको छ।

फोहर गर्ने राजमार्गका होटल/पसललाई कारबाही गरिने

यसैबीच, नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सडकमा फोहर फालेमा कारबाही थालिने जनाएको छ। “सडकमा यात्रारत यात्रुहरू तथा सवारीचालक तथा सहचालकहरू कसैले पनि प्लास्टिक र फोहरजन्य वस्तु नफाल्न थप सचेत गराउन चाहन्छौँ”, नगरप्रमुख लामाले भने, “पटक पटक गरेको आग्रहलाई बेवास्ता गर्दै दैनिकरूपमा फोहर फालेर दुर्गन्ध बढाउने गरेको पाइएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुनेछौँ।”

नगरपालिकाले सुरु–सुरुमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरी सवारी साधनहरूमा फोहर फाल्ने भाँडोको प्रयोग गर्न आग्रह गर्दै यात्रुहरूलाई त्यसको प्रयोगका लागि आग्रह गर्दै आएको थियो। अब पटक पटकको आग्रह र सचेतना अभियानमार्फत सतर्कता गराउँदा पनि वेवास्ता गर्नेहरूलाई कारबाही नै गर्ने चेतावनी दिएको हो।

नगरपालिकाले प्रहरीसँगको सहकार्यमा यसअघि नै राजमार्ग प्रयोग गर्दा फोहरजन्य सामग्री फालेको पाएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुने वातावरण अधिकृत सन्तोष काफ्लेले बताए।

नगरपालिकाले आफ्नो नगरभित्रको क्षेत्रमा पर्ने राजमार्ग र नालीसहितको आसपासका क्षेत्रमा बेलाबेलामा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित: २३ जेष्ठ २०८० १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App