१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रचण्ड गर्मीले काकाकुल रौतहट र सर्लाही

केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।

असार आउन केही दिन बाँकी रहँदा कतिपय किसानले धानको बीउ ब्याडमा खसालेका छैनन्। पानी नपरेर धानको बिउ खसाल्न नपाएका किसानहरु धानको रोपाईँ ढिलो हुने आशंका गरिरहेका छन्। धानको बिउ ब्याडमा खसालिसकेका किसानहरु भने अत्यधिक चर्को कामले गर्दा सुक्ने समस्याले ग्रसित भएको बताइरहेका छन्। धानको बिउ ब्याडमा खसालेको बिस दिनमा तिनपटक ब्याडमा पानी पटाइसकेको तर पनि धानको बेर्ना अत्यधिक घामको कारण सुकिरहेको गरुडा नगरपालिका २ का किसान सियाराम साहको भनाइ छ।

पशुपालक किसानलाई गाईबस्तुको लागि घाँसको अभाव भएको छ। फाँटमा घाँसहरु सुकिरहेका छन्। गाईबस्तुको लागि एकाबिहान घाँस लिन नजाँदा बिहानैदेखि घाम चर्किने समस्या देखिएको छ। पशुपालक किसानहरुले अत्यधिक गर्मीको कारण गाईबस्तुले निकै कम दुध दिइरहेको र घाँस पाउन मुस्किल भएको बताएका छन्।

निरन्तर गर्मी चर्केपछि रौतहटका अधिकांश विद्यालयमा गर्मी विदा दिइसकिएको छ। अधिकांश क्याम्पस पनि ठप्प भइसकेका छन्। केही निजी विद्यालय संचालनमा रहे पनि विद्यार्थीको अत्यन्त न्युन चाप रहेको देखिएको छ।

बिहान ९ बजेदेखि नै अत्यधिक चर्को घाम लाग्न थालेपछि घरबाट निस्कन मुस्किल भइरहेकोले व्यापार व्यवसायमा पनि असर परेको छ। दश बजेपछि बजारहरु सुनसान हुने गरेका छन्। सडकमा सार्वजनिक यातायातका साधन चले पनि यात्रुको चाप अत्यन्त कम भएको छ। यसै गरी दिउँसो सडक सुनसान हुने गरेको देखिएको छ।

आर्थिक मन्दीले समस्याग्रस्त बनेको व्यापार व्यवसायमा अत्यधिक चर्को गर्मीले झन् प्रभावित बनेको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले बताएका छन्। भइरहेको व्यापारमा जिल्लामा कम्तीमा पचास प्रतिशतले गर्मीको कारणले व्यवसाय प्रभावित भएको अनुमान अध्यक्ष जयसवालको छ।  

प्रकाशित: २२ जेष्ठ २०८० ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App