coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गर्मी छल्न नगरकोटमा पर्यटकको भीड

गर्मी छल्न भक्तपुरको नगरकोटमा आउने पर्यटकहरूको संख्या ह्वातै बढेको छ।

वर्षौँदेखि पर्यटकविहीन जस्तै भएको लोकप्रिय पर्यटकीय गन्तव्य नगरकोटमा अहिले शुक्रबार, शनिबार र अन्य बिदाका दिनहरु होटेलमा रुम (कोठा) पाउनै मुस्किल हुने गरेको त्यहाँका पर्यटन व्यवसायीहरूले बताएका छन्।

‘अहिले नगरकोट पर्यटकले भरिभराउ हुन थालेको छ, नगरकोट फन्की हिल इनका प्रोप्राइटर इन्जिनियर कृष्णभक्त दुवाल भन्छन्, अहिले बाटो पनि राम्रो छ। यही कारणले पनि पर्यटक संख्या बढेको हुनसक्छ।’

वर्षौँदेखि बन्न नसकेको भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको बाटो अहिले झन्डै सबै कालोपत्रे भएको छ। सडक विस्तारको काम ९५ प्रतिशत भन्दा बढी सकिएको जनाइएको छ। यही कारण अहिले भक्तपुरबाट नगरकोट पुग्न सहज भएको छ। साथै भक्तपुरबाट नगरकोट पुग्ने अर्को वैकल्पिक बाटो नगरकोट कलमसीको बाटो पनि पूर्ण रुपमा कालोपत्रे भएकोले अझै सहज भएको हो।

नगरकोट फन्की हिल इनका प्रोप्राइटर इन्जिनियर दुवालले वर्षौँदेखि पर्यटकविहीन जस्तै भएको नगरकोटमा रहेका होटेलहरु भरिभराउ हुनुले स्थानीय खुसी भएको सुनाए। २०७२ सालको महा–भूकम्प, कोरोनाको लकडाउन, अस्तव्यस्त भक्तपुर नगरकोट सडकलगायतका कारण केही वर्षदेखि नगरकोट झण्डै पर्यटकविहीन अवस्थामा पुगेको थियो।

व्यवसायीहरूका अनुसार नगरकोटमा दिनमा मात्रै दैनिक एक हजार भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्। साथै रात बिताउने गरी दैनिक दुई हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको अनुमान छ। त्यसमा विदेशी पर्यटकहरूको संख्या १५ देखि २० प्रतिशत हुने अनुमान स्थानीय होटेल व्यवसायीहरू गर्छन्।

‘अहिले गर्मी छल्न पनि काठमाडौँ र भारतीय पर्यटकहरूको घुँइचो छ, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले भने, यहाँको वातावरण हरियालीपूर्ण, शान्त, सुन्दर, मनमोहक छ। यही कारण यहाँ घुम्न र रात बिताउन धेरै आउने गरेको देखिन्छ।’

काठमाडौंमा गर्मीले जनजीवन नै अस्तव्यस्त भइरहेको बेला नगरकोट भने चिसो छ। यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र चिसो हावापानीमा रमाउन आउनेहरूको संख्या यही कारण बढेको हो। 

काठमाडौंबाट करिब ३० किलोमिटरको छोटो दुरीमा नगरकोट पुग्न सकिन्छ। नगरकोट पुगेका पर्यटकले यहाँको भ्यु–टावर चढेर प्रकृतिमा रमाउने गर्दछन्। साथै सूर्योदय र सूर्यास्त हेर्नका लागि यो ठाउँ संसारमै प्रख्यात छ।

नगरकोट क्षेत्रमा सानाठूला गरी करिब डेढ सय होटेल, गेस्टहाउस र रेस्टुराँ छन्। तीमध्ये करिब ५० वटा होटेल सुविधायुक्त र आवासीय क्षमताका छन्।

यसअघि नगरकोट जाने पर्यटकहरुसँग चाँगुनारायण र काभ्रेको मदनदेउपुर नगरपालिकाले संयुक्त रुपमा प्रवेश शुल्क पनि उठाउँदै आएकोमा पर्यटकविहीन जस्तै भएपछि अहिले पर्यटक शुल्क लिन बन्द छ।

भक्तपुर र काभ्रेको सिमानाको रुपमा रहेको यस ठाउँमा आउने गैर सार्क राष्टका पर्यटकहरुसँग प्रति पर्यटक तीन सय ३९ र सार्क राष्ट्रका पर्यटकहरुसँग दुई सय २६ रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको थियो। तर व्यवसायीहरुको अनुरोधपछि अहिले पर्यटक शुल्क लिन पनि बन्द रहेको छ।

नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन्। यहाँ ‘फो–स्टार र थ्री–स्टार’ का होटेलहरु पनि छन्।

प्रकाशित: २१ जेष्ठ २०८० १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App