काठमाडौं– भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण कार्यले पछिल्लो समय गति दिन थालेको छ । पुरातत्व विभागले काठमाडौं उपत्यकासहित भूकम्पप्रभावित २५ जिल्लाका पुरातत्विक सम्पदाको पुनर्निर्माण कार्य तीव्र पारेको हो ।
- भूकम्पबाट क्षतिग्रस्त स्वयम्भूको आनन्दपुरको पुनर्निर्माण कार्य भर्खरै सुरु भएको छ । शान्तिपुरको संरक्षण एवं पुनर्निर्माण कार्य भइरहेको छ । स्वयम्भूकै प्रतापपुरको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
- हनुमानढोकास्थित नगरा घर र सिंह सतलको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
- हनुमानढोकास्थित दस अवतार र तलेजु मन्दिर, ललितपुरको कुम्भेश्वर मन्दिर, पाटनस्थित जगतनारायण मन्दिर, साँखुको बज्रयोगिनी र खड्गयोगिनी मन्दिर, टोखाको तलेजु मन्दिर, चाँगुनारायण मन्दिरलगायतको पुनर्निर्माणको प्रक्रिया सुरु भएको छ ।
विभागका प्रवक्ता रामबहादुर कुँवरले सम्पदा पुनर्निर्माणका लागि बहुवर्षीय कार्यक्रम बनाएर एक सय ३२ वटा सम्पदाको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यक्रमका लागि विभागलाई ५० करोड रुपैयाँको अख्तियारी प्रदान गरिसकेको उनले बताए । विभागले एक अर्ब रुपैयाँ बजेट माग गरेको थियो ।
प्रवक्ता कुँवरले काठमाडौं उपत्यकालगायत २५ जिल्लाका एक सय ३२ वटा सम्पदाको पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन प्राधिकरणले स्वीकृति दिएको बताए । ‘तीमध्ये ३६ वटाको ठेक्का सम्झौता भई सामान खरिद प्रक्रिया सुरु भइसकेको छ’, उनले भने, ‘ ४२ वटाको टेन्डर छनोट भई आसयको सूचना प्रकाशन भइसक्यो । ५७ वटाको टेन्डर सूचना प्रकाशित गरिएको छ ।’
भूकम्पबाट काठमाडौं, ललितपुर, भक्तपुरलगायत २५ जिल्लाका सात सय ५० वटा पुरातात्विक सम्पदा ध्वस्त भएको विभागले जनाएको छ । तीमध्ये करिब एक दर्जनको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदा क्षेत्रमा सूचीकृत बौद्धनाथ स्तूपको सबैभन्दा पहिले पुनर्निर्माण सम्पन्न गरेको थियो । हनुमानढोकाको पञ्चमुखी हनुमानको मन्दिर, कृष्ण मन्दिर र शिव मन्दिरको पुनर्निर्माण पनि सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाले भक्तपुरको शंकरनारायण मन्दिर र मूल दरबार प्रवेशद्धार निर्माण सम्पन्न गरेको छ । पुरातत्व आफैंले भक्तपुरको रामेश्वर र बद्रीनारायण मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै, ललितपुरस्थित सुन्दरी चोकको पूर्वी मोहडा पुनर्निर्माण, योगनरेन्द्र मल्लको सालिक पुनस्र्थापना र भीमसेन मन्दिरअगाडिको स्तम्भ उठाउने कार्य सम्पन्न भएको विभागले जनाएको छ ।
पुरातत्वका प्रवक्ता कुँवरका अनुसार भक्तपुरको फसिदेवल, तबसतल, कला संग्रहालय भवन, सिद्धिलक्ष्मी मन्दिर, अनन्तलिंगेश्वर मन्दिर, दक्षिण बाराही, चाँगुनारायण मन्दिरको पुनर्निर्माण प्रक्रिया सुरु भएको छ ।
काठमाडौंको बिजेश्वरी मन्दिर, शोभा भगवतीस्थित इन्द्रायणी मन्दिर, स्वयम्भूको अनन्तपुर, टोखाको तलेजु मन्दिर, थापाथलीस्थित जंग हिरण्य हेम मन्दिर, साँखुको बज्रयोगिनी र खड्गयोगिनी मन्दिर, हनुमानढोकास्थित दश अवतार, तलेजु मन्दिर, कीर्तिपुरको जगतपाल महाविहार, राष्ट्रिय संग्रहालयको ऐतिहासिक भवन, टुँडालदेवी मन्दिर, त्रिपुरेश्वरको महादेव मन्दिर, सतुंगलको विष्णुदेवी, जैसीदेवल, नक्सालको शंकराकीर्ति महाविहार, सुन्दरीजलको बिपी संग्रहालय, नरदेवीको झाेंछे र इचंगुनारायणस्थित सत्तलको पुनर्निर्माण प्रक्रिया सुरु भएको उनले बताए ।
त्यसैगरी, ललितपुरको कुम्भेश्वर मन्दिर, पाटनको जगतनारायण मन्दिर,
नुवाकोटको थानापति मन्दिर, काभ्रेको बालुवापाटी, दोलखाको टहले मन्दिर, कालिका मन्दिर, कमलामाई मन्दिर र ओखलढुंगाको नरभदेश्वर मन्दिरको पनि पुनर्निर्माण सुरु भएको छ ।
प्रवक्ता कुँवरले काठमाडौंको कंकेश्वरी मन्दिर, कीर्तिपुरको विष्णुदेवी मन्दिर, स्वयम्भूको प्रतापपुर, नैकाप सत्तल संरक्षण, त्रिपुरेश्वरको शिवालय मन्दिर, चोभारको आदिनाथ, हाडीगाउँको नाटेश्वरी मन्दिर, ललितपुरको गणेश मन्दिर संरक्षण एवं पुनर्निर्माणका लागि कार्यदिशा दिइसकिएको जानकारी दिए ।
पुनर्निर्माण कार्य रोकिएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पनि चाँडै काम सुरु हुने उनले बताए।
कार्यका लागि एक करोड २६ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ । धरहराको अन्तिम डिजाइन बाँकी रहेको र डिजाइन आउनसाथ पुनर्निर्माण प्रक्रिया सुरु हुने उनले बताए ।
दातृराष्ट्रको सहयोग
प्रवक्ता कुँवरका अनुसार स्वयम्भूस्थित आनन्दकुटी विहार, ललितपुर बुङ्मतीको रातो मच्छिन्द्रनाथको मन्दिरलगायत पुनर्निर्माणका लागि श्रीलंका सरकारसँग सम्झौता भइसकेको छ । वसन्तपुरको नौतले दरबार र नुवाकोटको साततले दरबार पुनर्निर्माण र संरक्षण गर्नेबारे चीनसँग सम्झौता भई पुनर्निर्माण प्रक्रिया अगाडि बढेको उनले बताए । दोलखाको त्रिपुरासुन्दरी मन्दिर, साँखुको धर्मशाला पुनर्निर्माण गर्नेबारे स्विजरल्यान्ड र पुरातत्वबीच सम्झौता भइसकेको छ । जर्मन सरकारले भक्तपुरका क्षतिग्रस्त सम्पदा पुननिर्माणमा सघाइरहेको छ । त्यसैगरी भारत, जापानलगायत विभिन्न दातृ राष्ट्रले पनि सम्पदा संरक्षण र पुननिर्माणमा सहयोग गरिरहेको उनले बताए ।
सम्पदा पुनर्निर्माण प्राथमिकतामा
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बास्कोटाले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको संरक्षण र पुनर्निर्माणलाई प्राधिकरणले प्राथमिकतामा राखेको बताए । ‘मानवीय हिसाबले आवास पुनर्निर्माणको काम पहिलो प्राथमिकतामा थियो । त्यसैले सम्पदा पुनर्निर्माण प्राथमिकतामा नपरेको जस्तो देखियो’, उनले भने, ‘घर निर्माणजस्तो सम्पदा पुनर्निर्माण तुरुन्तै गर्न सम्भव हुँदैन ।’
प्राविधिक, आर्थिक, निर्माण सामग्री, जनशक्ति अभाव, कानुनी प्रक्रियालगायतले सम्पदा पुनर्निर्माणमा ढिलाइ हुने उनले बताए । ‘विभिन्न अध्ययनअनुसन्धान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, युनेस्कोले तय गरेका नीतिलगायतको पालना गर्नुपर्ने हुन्छ’, उनले भने ।
एकै पटक धेरै सम्पदाको संरक्षण र पुनर्निर्माण गर्नु चुनौतीपूर्ण रहेको उनले बताए । ‘सम्पदा संरक्षण र पुनर्निर्माणका लागि हाम्रो बजेटको एक प्रतिशत पनि छैन । त्यसैले एकै पटक बजेट व्यवस्थापन गर्न कठिन छ ।’
चालू आवका लागि पुरातत्वलाई बजेटको अख्तियारी दिइसकेको हुँदा सम्पदा पुनर्निर्माण कार्यले गति लिने आशा उनले व्यक्त गरे । हनुमानढोकास्थित नगराघरको पुनर्निर्माण कार्य हुँदै।
प्रकाशित: १९ चैत्र २०७३ ०२:५३ शनिबार