रौतहटको गौर नगरपालिकाले जनताको गुनासो सुन्ने कार्यक्रम नियमित संचालन गरिरहेको छ। हरेक महिना कुनै एक वडामा जनतासित प्रत्यक्ष कुराकानी गर्ने र सम्भव भएसम्म समस्या तत्काल समाधान गर्ने प्रभावकारी कार्यक्रमको गौर नगरपालिकाले संचालन गरिरहेको जनता दरबार कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको छ।
नगर प्रमुख शम्भु साहको सक्रियतामा हुँदै आएको जनता दरबार कार्यक्रम आज गौर नगरपालिका ९ सिर्सियामा सम्पन्न भएको छ। उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा सम्बन्धित वडाका सबै सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रममा स्थानीयवासीले सोझै प्रश्न गरेका थिए।
वडाका कार्यालयहरुको काम कारबाही तथा भइरहेका विकास निर्माणको बारेमा सर्वसाधारणले सोझै गुनासो गर्ने तथा प्रश्न गर्ने गरी बोलाइएको जनता दरबार कार्यक्रममा स्थानीयवासीले विकासका लागि विभिन्न सुझावहरु दिएका छन्। कार्यक्रममा सयौँ स्थानीयवासीको सहभागिता रहेको थियो।
नगरवासीलाई प्रभावकारी स्थानीय सरकारको प्रत्याभूति दिलाउन जनता दरबार कार्यक्रम निकै प्रभावकारी भएको नगर प्रमुख साहले बताएका छन्।
प्रकाशित: २० जेष्ठ २०८० १७:१५ शनिबार