coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालयका लेखापालले गरे आत्मादहकाे प्रयास

मोरङको सुन्दरहरैचा नगरपालिका मृगौलियामा रहेको श्री माध्यमिक विद्यालयका लेखापालले आत्मादह प्रयास गरेका छन्। विद्यालयका लेखापाल मनिल ढकाल आफ्नै विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन्।

४० वर्षीय मनिल ढकाल श्री माध्यमिक विद्यालयका लेखापाल हुन् । शनिबार बिहान पौने ७ बजेतिर विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। विद्यालयको शौचालयभित्र आगो दन्किएको र मानिस आगोले पोलेर छट्पटाएर कराएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्कालै स्थानीय र प्रहरीको सहयोगमा ढकालको शरीरमा लागेको आगो निभाएर उद्दार गरी उपचारका लागि अस्पताल लगिएको डिएसपी दाहालले बताए।  

विद्यालयमा काम छ भनेर बिहानै घरबाट विद्यालय हिँडेको र केही समयपछि घटना थाहा पाएको जानकारी परिवारले प्रहरीलाई दिएको बताउँदै, डिएसपी दाहालले भने, ‘ढकालको घर र विद्यालय नजिकै रहेछ। शरीरको अधिकांश भाग आगोले जलेको अवस्था छ। घटनास्थलबाट ‘चिफ’ नामक किटनासक विषादीको बट्टा र पेट्रोलको गन्ध आउने २ वटा बोतल फेला परेको छ।’

घटनास्थलमा विषादीको बट्टा र पेट्रोलको बोतल फेलाको हेर्दा सुरुमा विषादी सेवनपछि पेट्रोल खन्याएर आफैले आगो लगाउँदै आत्महत्याको प्रयास गरेको हुनसक्ने अनुमान गरेको बताउँदै,  डिएसपी दाहालले भने, ‘घटनास्थल नजिक ढकालले प्रयोग गर्दै आएको प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकल फेला परेको छ। किन र कसरी घटना भयो भन्ने ठ्याक्कै खुलेको छैन । यस घटनाको सुक्ष्म तवरले अनुसन्धान थालिसकेका छौं । अनुसन्धान पूरा भएपछि सबै कुरा बाहिर आउने छ।’

आगोले पूरै शरीर जलेको अवस्थामा विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि ढकाललाई ल्याइएको थियो। यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित किर्तिपुर अस्पताल लगिसकिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० जेष्ठ २०८० ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App