विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेषगरी तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (हिट वेभ) लाग्न सक्ने सम्भावना भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाले तराईमा मात्र होइन, पहाडी भूभागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम बढ्न सक्ने सम्भावना रहेको बताएको छ।
केही दिनयता काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
शुक्रबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले तातो हावा तथा लु लाग्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने जनाएको छ। तातो हावा तथा लुबाट बच्न अत्यधिक गर्मीका बेला सकेसम्म घरभित्रै अथवा चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ।
विशेषगरी तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (हिट वेभ) लाग्न सक्ने सम्भावना भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
यसैगरी सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न वा टोपी लगाउन, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहनसमेत महाशाखाले आग्रह गरेको छ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। साथै पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको मौसमविद्को भनाइ छ। असारको पहिलो साता सामान्यता सुरु हुने मनसुन नेपाल नभित्रिएसम्म तापक्रम केही बढ्ने आकलन गरिएको छ।
गर्मी बढेपछि विद्यालय बन्द
यसैबीच कपिलवस्तु संवाददाताका अनुसार गर्मी अत्यधिक बढेपछि पठनपाठनमा समस्या आएको जनाउँदै जिल्लाका दुई पालिकाले विद्यालय बन्द गरेका छन्। वाणगंगा र कपिलवस्तु नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। गर्मी बढेपछि विद्यालय बन्द गर्नेबारे जिल्लाका अन्य आठ स्थानीय तहले समेत छलफल चलाइरहेको बताइएको छ।
कपिलवस्तु नगर शिक्षा समितिले जेठ २२ देखि २६ सम्म पाँच दिन बिदा दिने निर्णय गरेको छ। वाणगंगाका विद्यालयका प्रधानाध्यापकहरूले भने जेठ २२ देखि २८ सम्म एक साता बिदा दिने निर्णय गरेका हुन्।
कपिलवस्तु नगरपालिकामा जेठ २२ देखि २६ सम्म र वाणगंगा नगरपालिकामा जेठ २२ देखि २८ सम्म विद्यालयमा बिदा दिइएको छ। कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले गर्मी निरन्तर बढ्दै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय पाँच दिन बिदा दिइएको बताए। पठनपाठनमा समस्या आएकाले एक साताका लागि बिदा दिइएकोे वाणगंगा नगरपालिकाका शिक्षा शाखाका खिमबहादुर जिसीले बताए।
कपिलवस्तु नगर शिक्षा समितिले जेठ २२ देखि २६ सम्म पाँच दिन बिदा दिने निर्णय गरेको छ। वाणगंगाका विद्यालयका प्रधानाध्यापकहरूले भने जेठ २२ देखि २८ सम्म एक साता बिदा दिने निर्णय गरेका हुन्।
जिल्लाका अधिकांश विद्यालय टिनको छानो भएको र विद्युत्समेत अनियमित हुने गरेको छ। जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरेको शिक्षकहरू बताउँछन्। कपिलवस्तु–६ स्थित जलवायु मापन केन्द्र रामनगरका अनुसार एक सातायता जिल्लाको तापक्रम ४० देखि ४३ डिग्रीसम्म पुगेको छ। गर्मीका कारण जिल्लाका अधिकांश विद्यालय बिहान सञ्चालन हुँदै आएका छन्। गर्मीका कारण साना बालबालिका कक्षाकोठामै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरू बताउँछन्।
अस्पतालमा बिरामीको चाप
यसैगरी वीरगन्ज संवाददाताका अनुसार गर्मीका कारण झाडापखाला, फुड पोइजनिङ, भाइरल ज्वरो, सर्पदंशका बिरामी उल्लेख्य बढेको पाइएको छ। झाडापखाला र उच्च ज्वरोका बिरामी सबैभन्दा बढी रहेको अस्पतालले जनाएको छ। अन्य समयमा ६०० सम्म बिरामी आउने नारायणी अस्पतालमा अहिले एक साताभित्र बिरामीको संख्या दैनिक ८०० भन्दा बढी हुने गरेको नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी अधिकारी डा. उदयनारायणी सिंहले बताए। ‘अहिले ओपिडीतर्फ बिरामीको संख्या बढेको छ। औसत ५०० देखि ६०० हुनेमा अहिले ८०० भन्दा बढी बिरामी पुग्न थालेका छन्,’ उनले भने, ‘त्यस्तै गर्मीका कारण आकस्मिक विभागमा पनि बिरामी बढेका छन्। एकै दिन ११० जनासम्म बिरामी आकस्मिक विभागमा आएका छन्।’
डा. सिंहका अनुसार उच्च ज्वरोका बिरामी औसतमा दिनको १५ जना आउने गरेका छन् भने झाडापखालाका बिरामी दिनको आठदेखि १० जना, सर्पदंशका दिनमा दुईदेखि तीन जनासम्म आउने गरेका छन्।
ओपिडीमा नियमित चेकजाँचका लागि आउने दीर्घरोगीको संख्या पनि गर्मीका कारण बढेर ८०० भन्दा माथि पुगेको उनले बताए। गर्मीका कारण पानी अभावले ‘डिहाइडे«सन’ (सुक्खापन) भएर रक्तचाप कम भएका बिरामी पनि बढेको उनले बताए। ‘अस्पतालमा बिमित बिरामीको संख्या पनि बढेको छ। दीर्घ रोगीदेखि लिएर गर्मीमा छालाको समस्या पनि बढ्ने गरेकाले बिरामीको संख्या बढेको छ,’ डा. सिंहले भने। गर्मीका कारण गर्भवती महिलामा पनि समस्या देखिएकाले गाइनो सेवामा पनि बिरामीको चाप बढेको उनको भनाइ छ। उनका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अन्य वर्गका बिरामीमा पनि यस्तो समस्या देखिएको छ।
डा. सिंहका अनुसार उच्च ज्वरोका बिरामी औसतमा दिनको १५ जना आउने गरेका छन् भने झाडापखालाका बिरामी दिनको आठदेखि १० जना, सर्पदंशका दिनमा दुईदेखि तीन जनासम्म आउने गरेका छन्।
गर्मीमा तराई–मधेसमा अन्य मौसमको तुलनामा झाडापखाला र फुड पोइजनिङको समस्या बढी देखिने गरेको डा. सिंह बताउँछन्। खासगरी यस्तो समस्या ग्रामीण भेगका मानिसमा बढी देखिने गरेको उनले बताए। ‘खानेकुरालाई सही तापक्रममा राखिएन भने छिटो बिग्रन्छ, बासी खाना र पानी दूषित छ भने त्यसको सेवनले फुड पोइजनिङ हुने गर्छ,’ उनले भने । गाउँघरमा खानेकुरा स्टोर गरेर राख्ने साधन, फ्रिजजस्ता उपकरणको कमीले यस्तो समस्या हुने गरेको देखिन्छ। खाना ताजा खानुपर्ने, बासी र सडेगलेको खान नहुने भन्ने चेतना नहुँदा पनि झाडापखाला र फुड पोइजनिङ हुने डा. सिंहले बताए।
गर्मी बढेसँगै तातो हावा चल्न थालेकाले सर्तकता अपनाउन पनि चिकित्सकहरूले सुझाएका छन्। ‘लु’का बिरामी नारायणी अस्पतालमा नआए पनि गर्मी यसरी नै केही दिन रहिरहने हो भने सम्भावना रहेको डा. सिंहले बताए।
‘लु लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ। तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै लु लाग्नु भनिन्छ,’ उनले भने, ‘अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ। यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस हुने हुन्छ। लु लागे शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ।’
गर्मी बढेसँगै तातो हावा चल्न थालेकाले सर्तकता अपनाउन पनि चिकित्सकहरूले सुझाएका छन्। ‘लु’का बिरामी नारायणी अस्पतालमा नआए पनि गर्मी यसरी नै केही दिन रहिरहने हो भने सम्भावना रहेको डा. सिंहले बताए।
गर्मीबाट बढी खुला आकाशमुनि काम गर्ने मजदुर, रिक्साचालक तथा किसान बढी प्रभावित हुने गरेका छन्। निरन्तर कडा घाममा काम गरिरहे समस्या देखिने डा. सिंहले बताए। यस्तो अवस्थामा ‘लु’जस्ता रोगबाट बच्न पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आए कहिलेकाहीँ जीवनजल पिउने, चिसोपानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउने भनिएको छ। त्यस्तै घाममा दिनभर काम गर्ने मजदुरले काम गर्दै बेलाबेलामा शीतल छाहारीमा बस्ने, गर्मीमा अनुकूल हुने लुगा लगाउने सुझाव डा. सिंहले दिए।
प्रकाशित: २० जेष्ठ २०८० ००:२९ शनिबार