१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्नपूर्ण आधार शिविरमा घुम्न जाने बढे

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थ्ति अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविरको मार्ग छोटिएपछि घुम्न जाने आन्तरिक पर्यटक बढ्न थालेका छन्। 

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तरगत् अन्नपूर्ण गापा–४ नारच्याङको हुमखोलासम्म सडक सञ्जाल पुगेपछि आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ।

 तीनबर्ष अगाडीसम्म आधार शिविरसम्म पुगेर फर्किन हप्ता दिन लाग्ने गरेकोमा सडक र पदमार्गका साथै बस्ने बासस्थानको समेत सहजताका कारण अहिले तीनदिनमा आधार क्षेत्र आसपासमा पुगेर फर्किन सकिने भएकाले आन्तरिक पर्यटकको नयाँ गन्तब्य बनेको हो।

अन्नपूर्ण हिमालको आधार क्षेत्रसम्मको यात्राका लागि निजी तथा सरकारी कार्यालयका कर्मचारी, पारिवारिक तथा विभिन्न समुह बनाएर जान थालेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए। ‘अहिले विस्तारै मुभमेन्टहरु बढ्न थालेको छ,‘दैनिकजसो आधार क्षेत्रतर्फ जाँदै गरेको देखिन्छ’ सुबेदीले भने। 

पर्यटकलाई यात्रा गर्न सहज पदमार्ग र आरामका लागि समेत पूर्वाधार विस्तार भएकाले अन्नपूर्ण आधार क्षेत्र रोजाईमा परेको बताए। उनले पर्यटकको आगमन बढेसँगै आगामी दिनमा थप पूर्वाधार विस्तारको योजना रहेको बताए। यसबर्ष दसैँ तिहार जस्ता चाडपर्वका बेला देशका विभिन्न क्षेत्रमा विगत केही वर्षयता आन्तरिक पर्यटकहरूको संख्या निकै बढ्ने अनुमान सहित आगामी आवमा शौचालय, खानेपनी सहितका थप पूर्वाधारमा संघीय, प्रदेश सरकारसँगको साझेदारीमा पूर्वाधार विस्तारको योजना समेत बनाइएको बताए।

 यो बर्ष पहिलोपटक आधार क्षेत्रसम्म पुग्ने पर्यटकको संख्या अत्याधिक हुने अनुमान गरिएको छ। केही वर्षअघिसम्म त्यो क्षेत्रमा पदयात्राका लागि सेवा सुविधाको हिसाबले निकै असहज थियो। नारच्याङको बेसीगाउँबाटै पदयात्रा सुरु गरेपछि बास बस्ने ठाउँ होमखोला आसपासमा दिनभरी दिनभरी हिँडेर बेलुकामात्रै पुग्ने गरिएकोमा यसपटक पहिलो दिनमै हिमालको काखसम्म पुग्न सकिने भएकाले समेत पदयात्रामा रमाउनेको रोजाईमा परेको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तेज गुरुङले बताए।

‘अहिले हिड्न सक्नेहरू एक दिनमै आधार क्षेत्रमा पुग्छन्, सामान्य हिड्ने तीनदिनमै गन्तब्यमा पुगेर फर्किन सक्छन्’ गुरुङले भने। उनका अनुसार पदमार्गमा विगतमा जस्तो  समस्या नभएकाले पनि पर्यटक रमाउने गरेका छन्। छोटो दुरीको प्याकेजमा २ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिनसम्म सहज हुने बताए। पदमार्ग अन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत र पञ्चकुण्ड तालमा बस्ने संरचना रहेको छ। पछिल्लो दुई सातामा आन्तरिक पर्यटकको ९ टोली आधार क्षेत्रमा पुगेको छ। 

विगतका बर्षको तुलनामा यसबर्ष आन्तरिक पर्यटकको चाप बढ्ने भएपछि पदमार्ग आसपासमा अस्थायी रेष्टुरेन्ट सञ्चालनको योजना समेत बनाइएको छ। शुक्रबार बेनीका यूवा उपेन्द्र गिरी सहितको टोली समेत आधार क्षेत्रतर्फ लागेको छ।  सुनसान जस्तै हुने आधार क्षेत्रको पदमार्गमा अहिले चहलपहल रहेको पर्यटन ब्यवसायीको भनाई छ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पूरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधार क्षेत्रमा शालिक समेत बनाइने छ। मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो बिदेशी आरोही हुन्। 

प्रकाशित: १९ जेष्ठ २०८० ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App