७ वैशाख २०८१ शुक्रबार
समाज

सप्तकोशीको खानेपानी धरान ल्याउन मेयर साम्पाङको नेतृत्वमा समिति गठन

बिहीबार बसेको धरानको कार्यपालिका बैठक। तस्बिर: रोहित राई

संघीय सरकारको आगामी वर्षको बजेटमा सप्तकोशीको खानेपानी धरान ल्याउने योजनासहितको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना समेटिएपछि कार्यपालिका बैठकले समन्वय तथा पहल गर्न एक समिति गठन गरेको छ।

धरानको बिहीबार बसेको कार्यपालिका बैठकले मेयर हर्क साम्पाङको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। उक्त पहल गर्ने समितिको सदस्यहरुमा वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले र वडा ४ का अध्यक्ष धनबहादुर कुलुङ राईलाई बैठकले चयन गरेको छ। यो समितिले छिमेकी बराह क्षेत्र नगरपालिका र अन्य निकायहरुमा सप्तकोशीको खानेपानी धरान ल्याउनको लागि आवश्यक समन्वय तथा पहल गर्नेछ।

संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्ने उल्लेख छ। खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले सप्तकोशीबाट पानी ल्याउने गरि डिपिआर तयार गरिरहेको छ।

धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउनुपर्ने मेयर साम्पाङको पहिलो चुनावी एजेण्डा थियो।

‘सबैको पहलमा संघीय सरकारले बजेटमा सप्तकोशीबाट पानी ल्याउने योजनालाई समेटेको छ। त्यसको लागि समन्वय गर्न नगर प्रमुखको नेतृत्वमा ५ सदस्यीय टिम बनेको छ,’ उपमेयर अइन्द्रबिक्रम बेघाले भने, ‘प्रोजेक्ट सफल बनाउन वातावरण तयार गर्न लाग्ने, बराह क्षेत्रसँग संवाद गर्ने, संघीय सरकारसँग लविङ गर्ने काम गर्छ।’

सोही कार्यपालिका बैठकले इटहरी उपमहानगरपालिकासँगको साँध सिमाना विवाद समाधान गर्न जिल्ला समन्वय समितिलाई पत्राचार गर्ने पनि निर्णय गरेको छ। केही समयअघि धरानले पानीपिया क्षेत्रमा सीमा प्रारम्भ बोर्ड राखेपछि राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालेको थियो। त्यसपछि धरान र इटहरीबीच सिमाना विवाद चर्किएको थियो। विगतमा धरान र इटहरीको सिमाना चारकोशे जंगलमा पर्ने कोशी राजमार्गको सेउती खोलाको पुललाई मानिँदै आएको थियो। तर, नापी विभागले जारी गरेको नेपाल सरकारको आधिकारिक नक्सामा भने पानीपिया क्षेत्र सीमा कायम गरिएको छ। सोही भौगोलिक क्षेत्र अनुसार धरान र इटहरीले अनुदान पाउँदै आएको छ।

प्रकाशित: १८ जेष्ठ २०८० १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App