१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जहाँ सुर्तीजन्य पदार्थको प्रभावको कुनै तथ्यांक छैन

सन्दर्भः विश्व सुर्तीजन्य पदार्थरहित दिवस

फाइल तस्बिर

विश्वमा हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गरेको तथ्यांक छ। हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ। यही तथ्यांक प्रस्तुत गर्दै बुधबार भक्तपुरमा पनि विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ। स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले सुर्तीजन्य पदार्थको रोकथाम प्रवद्र्धनका लागि सरोकारवालासँग अन्तरक्रिया गरेको हो। निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ। यो वर्षको नारा ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ रहेको छ।

कार्यक्रममा कार्यालय प्रमुख कृष्ण मिजारले सुर्तीजन्य पदार्थका कारण प्रभावितहरूको जिल्लास्तरीय कुनै तथ्यांक नभएको जानकारी गराए। ‘विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ’, उनले भने, ‘यही अवसरमा हामीले पनि कार्यक्रम गरेका हौं।’  

विश्वमा युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदि थुप्रै कारणले हुने मृत्युको तुलनामा दोब्बरभन्दा बढी सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको संख्या रहेको छ। तर यहाँ तथ्यांक राख्ने र त्यसको विश्लेषण गरी समाधानको बाटोमा जानेतर्फ खासै कसैको चासो छैन। यही कारण चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठूलो चुनौती रहेको छ।

‘धुवाँ आउने-नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन्’,कार्यालय प्रमुख मिजारले भने, ‘सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ। तर पनि हामीले जिल्लाको तथ्यांक राख्न सकेका छैनौं।’ उनका अनुसार नेपालका पुरुष क्यान्सर रोगीमध्ये ५२ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता छन्। दिवसका अवसरमा मिजारले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतरा, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यास, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य संगठन के गरिरहेको छ र विश्वभरका मानिसले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दाबी गर्न र सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा जानकारी गराएका थिए।

नेपालमा सुर्तीजन्य बस्तुहरू चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिएको छ। नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो। अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ।

पछिल्लो समयमा सार्वजनिक स्थलमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि ्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन। धुमपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन। जस्तो– चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रबाफ हुन्छ। जसले गर्दा नयाँ पुस्ता धुमपानतर्फ आकर्षित हुन्छ, जुन मानव सिकाइको मनस्थितिअनुसार स्वाभाविकै हो। नेपालले सुर्तीजन्य बस्तु नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ। नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो। उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुनसरह लागु हुने व्यवस्था छ। विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धुमपानरहित दिवस मनाउन सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो। 

प्रकाशित: १८ जेष्ठ २०८० ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App