७ वैशाख २०८१ शुक्रबार
समाज

अभिभावककै अग्रसरतामा अटिजम बालबालिकालाई पठनपाठन

अटिजम बालबालिकालाई खेलाउँदै शिक्षिका। तस्बिर: नागरिक

सन्तान जन्मदा जोसुकै बाबुआमा खुसी हुन्छन्। इटहरी वडा नं. १ की रमा लिम्बु पनि छोरा जन्मिएपछि ज्ञान र व्यवहारमा राम्रो बनाउने सोचेकी थिइन्। तर, उनले साचेजस्तो भएन्। छोरा मिराकमा अटिजमको समस्या देखियो।  

अटिजम मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो। ‘पहिला त निकै समस्या थियो,’ रमाले भनिन् ‘अचेल त छोरामा निकै परिवर्तन आएको छ।’ उनले शुरुवातमा इटहरी वडा नं. १ वडा कार्यालय नजिकै रहेको मर्सि मन्टेश्वरीमा भर्ना गरिन्।

मिराकलाई मन्टेश्वरीमा अनुकुल वातावरण भएन्। ‘अटिजम भएका बालबालिकाका आमाबाबु मिलेर इटहरीमै स्कुल खोल्यौं,’ उनले भनिन, ‘अहिले त नानीमा बोल्न सक्ने र भनेका कुरा बुझ्न सक्ने क्षमतको विकास भएको छ।’ रामका अनुसार मिराकले अचेल भनेको काम पनि गर्न थालेका छन्।

अटिजम भएका बालबालिकाको व्यवहार उमेर बढेसँगै परिवर्तन तथा विकास हुँदैन। उनीहरु सामान्य बच्चाहरुको जस्तो व्यवहार गर्न सक्तैनन्। अटिजम स्कुलमा निरन्तर रुपमा राखेर सिकाएकै कारण इटहरी वडा नं. ९ कै बालक सलिन खड्का कक्षा १ मा पढ्दै गर्दा नृत्यमा निकै पोख्त छन्। उनी भिडियो कल समेत गर्न सक्ने भएका छन्।  

दुई वर्षदेखि इटहरी वडा नं. ८ मा रहेको सेतो गुरास आधारभूत विद्यालयबाट अनुमति लिएर अलगै वडा नं. ९ मा अटिजम स्कुल सञ्चालनमा आएको छ। ‘बालबालिकाहरुको सामान्य व्यवहार हुँदैन्। तर, उनीहरुलाई परिवर्तन ल्याउन खोज्ने हो,’ स्कुल को अडिनेटर शशीकला राईंले भनिन्। उनका अनुसार उनीहरुमा बोल्ने, खेल्ने, दोहोरो कुराकानी गर्ने जस्ता आनिबानी पनि सामान्य बालबालिकाभन्दा फरक तथा कमजोर हुन्छ।

‘काम गरि रहँदा केही हदसम्म निकै सहज हुँदै गएको छ,’ को अडिनेटर राईले भनिन, ‘उनीहरुलाई परिवर्तन ल्याउनु निकै चुनौतीपूर्ण छ।’ अटिजम  बच्चाको बोलीमा समस्या देखिन्छ। उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। तर, उनीहरुले नियमित गर्दै आएको काम सोही तालिकामा हुनुपर्ने मान्यता राख्ने गरेको अनुभव इटहरी वडा नं. ४ कै प्रकाश गौतमले बताए। उनका छोरा सास्वत गौतम पनि अटिजम बालबालिकका निम्ति खोलिएको स्कुलमै पढ्छन्।

उमेर नपुगी छिटो जन्मिएको बच्चामा, जन्मिएपछि कुनै समस्या आयो भने र उमेर धेरै भएका आमा बाबुबाट जन्मिएका बच्चामा अटिजम देखिन सक्छ। अहिलेको अवस्थामा वातावरण प्रदूषणलेसमेत यसको खतरा बढ्छ।  

अटिजम स्कुलमा ३९ जना बालबालिका छन्। उनीहरुका लागि ग्रेडविहीन पढाई हुने व्यवस्था छ । जसमा ३ वर्षदेखि नौं वर्ष उमेर समूहका बालबालिका रहेका छन्। यीनीहरुलाई कक्षा १ सम्मको पठनपाठन गर्ने गरिएको छ। बालबालिकाहरुलाई थेरापीलाई प्राथमिकतामा राखेर नौंवटा मापदण्डका आधारमा  परिवर्तन ल्याउन सिकाउने काम गरिने गरिएको छ। अटिजम भएका बालबालिकाकाको निम्ति लाग्ने र आवश्यक पर्ने सामग्री खरीद अभिभावकले नै बेर्होदै आएका छन्।

सामान्यतया अभिभावकले न्यूनतम चार हजारदेखि आठ हजार पाँच सयसम्म मासिक शुल्क तिरेको अनुभव सुनाए। थोरै बालबालिका हुँदा बढी खर्च लाग्ने र धेरै हुँदा खर्च घटने गरेको छ। अटिजम भएका बालबालिकाका  भाडामा लिइएको घरमा चार जना शिक्षकशिक्षिका र दुई जना सहयोगी व्यवस्था गरिएको छ।

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरू कक्षामा पनि आफ्ना अरू साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन्।

अटिजम भएका बालबालिकाका निम्ति इटहरी उपमहानगरपालिकाले शुरुवातमा पाँच लाख मूल्य बराबरको सामग्री खरिद गरि दिएको छ। अभिभावकले भने अटिजम भएका बालबालिकाका निम्ति छुट्टै भवनको व्यवस्था गर्नुका साथै अन्य आवश्यक खर्च सहयोग गर्न माग गरेका छन्। ‘सरकारी स्तरबाट शिक्षा क्षेत्रमा ठूलो लगानी हुने गरेपनि इटहरी क्षेत्रमा खुलेको एउटा मात्र अटिजम विद्यालयका लागि स्थानीय सरकारले अनुभूति हुने गरि काम गर्नुपर्छ,’ अटिजम स्कुल सञ्चालक समितिका अध्यक्ष टंककुमार श्रेष्ठले भने। उनले इटहरीमा भएको एउटा मात्र अटिजम स्कुललाई सहयोग गर्ने दायित्व स्थानीय सरकारकै भएको बताए।  

प्रकाशित: १७ जेष्ठ २०८० १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App