७ वैशाख २०८१ शुक्रबार
समाज

सीमा क्षेत्रमा तस्कर भन्छन्: नाकामा खटिने डिएसपीलाई ‘म्यानेज’ गरिसकेका छौ‌

सर्लाहीका एसपीलाई गुमराहमा राख्दै तस्कर

सर्लाही जिल्लाको विभिन्न नाकाबाट व्यापक तस्करी भइरहेको देखिएको छ। सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी युनिटको मिलेमतोमै तस्करी फस्टाएको देखिएको छ।

सर्लाहीको मधुवनी, अर्नाहा, बलरा, छतौना, बहादुरपुर नाका भएर खुलेआम स्पेयरपार्टस, कपडा, खाद्यान्न तस्करी भइरहेको छ। बारा उधोरन, फेनहारा, मधुवन बजार, खुटौना, मलङगवा नारायणपुर, पर्सा र सङ्ग्रामपुर नाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी युनिट प्रमुखकै मिलेमतोमा सर्लाहीको अधिकांश नाकाबाट तस्करी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी नरेश राज सुवेदी र सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख एसपी तुला भण्डारीले तस्करी रोक्न मातहतका सबै युनिटलाई कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको छैन।

सिमामा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी मुख्यालयले दुई जना डिएसपीलाई खटाएको छ। 

डिएसपी खटिएको ठाउँबाट पनि निर्बाध रुपमा तस्करी भइरहेको छ। तस्करी गर्नेहरू भन्छन् – “पहिला एसपीसम्म म्यानेज गर्नु पर्थ्यो, अहिले डिएसपी साहबलाई सशस्त्र बेस प्रमुखमार्फत डिल गर्न सहज भएको छ।” सर्लाही नाकामा खटिएका सशस्त्रका दुवै डिएसपी म्यानेज भइसकेको तस्करहरुले नै बताउन थालेका छन्।

सर्लाही प्रहरीले एकै रातमा भन्सार छली भारतबाट ल्याइएको पंखा, रेडिमेड सुट, चिनी, तेल, मोपेड डिउ, किराना सामान तथा विभिन्न गाडीहरू गरी ३१ लख ८ हजार ६८० रुपैयाँ बराबरको सामान पक्राउ गरेको छ। यसै गरी दुई जना सवारी चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको सामानसहित धनुषाको मिथिला नगरपालिका ११ का २५ वर्षीय नारायण बहादुर कार्की र महोत्तरीको बर्दिबास नगरपालिका १० का २७ वर्षीय रामजनम यादवलाई गाडीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी गराएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सुवेदीलाई सबै ठिकठाक छ, कतै कुनै तस्करी भइरहेको छैन भन्दै गुमराहमा राखेर सीमा क्षेत्रका स्थानीय युनिटहरूले तस्करी गराइरहेको खबर जिल्लामा पुगेपछि जिल्ला प्रहरी कार्यालय सर्लाही सक्रिय हुँदा एकै रात लाखौँको सामान पक्राउ परेको हो।

सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले तस्करी रोक्न हर कसर अपनाउने र भारतबाट तस्करी भएर आउने सामान जसको एरियामा पकाऊ परे ती कमान्डरलाई तत्काल तानेर कडा कार्यवाही गर्ने चेतावनी दिएको प्रतिक्रिया दिएका छन्।

एकै रातमा मधुवनी नाका भएर आएको लाखौँको सामान बरामद भएपछि आफू पनि आश्चर्यमा परेको एसपी सुवेदीले बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App