१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार नगर्न फुङलिङ नगरपालिकालाई सर्वाेच्चको अन्तरिम आदेश

फाइल तस्बिर

सर्वाेच्च अदालतले निबेदकहरुको घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार लगायतका कुनै पनि कार्य नगर्न-गराउन फुङलिङ नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वाेच्चले अदालतको नियमावलीको नियम ४९(२)(क) बमोजिम आदेश जारी गर्दै अहिले सम्म भए गरेका कार्यलाई यथास्थितिमा राख्न नगरपालिकाका नाममा आदेश गरेको हो।  

मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रको दायाँबायाँ समान साढे ७–७ मिटर भित्रका संरचना हटाउने प्रकृया आरम्भ गरेको फुङलिङ नगरपालिका बिरुद्ध शकुन्तलादेवी श्रेष्ठ सहितका जग्गाधनीले अन्तरिम आदेशको माग गर्दै सर्वाेच्चमा रिट निबेदन दर्ता गरेका थिए।  

अदालतले निबेदकले रिट दर्ता गर्दा पेश गरेका कागजको आधारमा उल्लेखित जग्गाहरु निबेदकको हक स्वामित्व भित्रको रहेको देखिएको बताएको छ। कतिपय जग्गामा अधिकारप्राप्त निकायबाट अनुमति प्राप्त गरी घर समेत निर्माण गरेको देखिएको, ति जग्गाहरु कानुन बमोजिम अधिग्रहण गरी प्राप्त गरिएको वा मुआब्जा दिएको भन्ने नदेखिएको र कानुन बमोजिम प्राप्त नगरी सडक क्षेत्रभित्र परेको भनी जग्गा कब्जा र भवन भत्काउने कार्य भएमा निबेदकलाई अपुरणीय क्षति पुग्न जाने सर्बोच्चको ठहर छ।  

अदालतले बिपक्षी फुङलिङ नगरपालिकाबाट अन्यथा अवस्था देखाई निबेदन परेमा सोहि बखत बिचार हुने गरी हाललाई निबेदकको उल्लेखित घर जग्गामा क्षति पुग्ने गरी सडक बिस्तार लगायतका कुनै पनि कार्य नगर्न-नगराउन फुङलिङ नगरपालिकालाई आदेश दिएको हो। सर्बोच्चका न्यायाधीस तिलप्रसाद श्रेष्ठको ईजलासले बाटोको म्याद बाहेक १५ दिन भित्र जवाफ पेश गर्न बिपक्षीलाई आदेश गरेको हो। चौथो पटक सम्मको म्यादमा पनि मेची राजमार्गको सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका नहटाएका संरचना गत बैशाख ५ गतेबाट फुङलिङ नगरपालिकाकाले आफैं भत्काएको थियो।  

नगरपालिकाले अन्तिम पटकका लागि भन्दै गत चैत २६ गते सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका संरचना आफैं हटाउन स्थानीयलाई अवधि दिएको थियो। त्यो अवधि बैशाख २ गते सकिएपछि नगरपालिकाले उक्त क्षेत्रका संरचना भत्काउन थालेको हो। पुस २४ गते पहिलो पटक सडक सीमा क्षेत्र भित्रका संरचना आफैं हटाई सहयोग गर्न आग्रह गर्दै यसअघि नगरपालिकाले सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रको नक्साङ्कन गरेको थियो। सडक डिभिजन कार्यालयले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनलाई पहिलो पटक गत २०७९ पुस २४ गते ३५ दिने सूचना जारी गर्दा दाँया–बाँया २१–२१ मिटर हुनेगरी उल्लेख गरिएको थियो। तर नगरपालिकाले तत्कालका लागि सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रलाई सडक सीमा तोकेर सोहि मापदण्ड भित्र परेका घर टहरा भत्काएको थियो।

सडक डिभिजनले सडक क्षेत्राधिकारभित्रको संरचना व्यवस्थापनका लागि सीमा क्षेत्रमा पर्ने स्थानीय तहकोसमेत सहयोग मागेको थियो। सडक डिभिजनले मागेको सहयोगअनुसार फुङलिङ नगरपालिकाले पहिलो पटकको म्याद सकिएपछि गत फागुन १४ गते दोस्रो पटक सूचना जारी गर्दै १५ दिने म्याद दिएको थियो। त्यसपछि गएको चैत १ गते तेस्रो पटक सात दिने म्याद दिएर संरचनाहरु हटाउनलाई सूचना जारी गरेको नगरपालिकाले अन्तिम पटकभन्दै गत चैत २६ गते पुनः सात दिने सूचना प्रकाशित गरेको थियो। तोकिएको समयभित्र संरचना आफैं हटाउन र नहटाए सडक ऐनको व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्ने सूचना समेत गराएको नगरपालिका अन्तिम पटकको म्याद सिद्धिएपछि भने ‘एक्सनमा’उत्रिएको थियो।

प्रकाशित: १५ जेष्ठ २०८० ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App