१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिचानवादी र प्रहरीबीच झडप: ७० जना घाइते, ३८ राउण्ड हवाईफायर

कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएका पहिचानवादी र प्रहरीबीच आइतबार विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा भवन बाहिर झडप भएको छ।

प्रहरी र पहिचानवादीबीच भएको झडपमा नेपाल प्रहरी ३७, सशस्त्र प्रहरी १६ गरी ५३ जना र १७ जना आन्दोलनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।

उनले यो संख्या अझ बढ्ने सक्ने र अझैसम्म यकिन संख्या आइनसकेको र डाटा संकलन गर्ने काम भइरहेको बताए। प्रदेशसभा भवनमा सदन चलिरहे पनि बाहिर कोशी प्रदेश नामको विरोध गर्दै दोहोरो झडप भएको हो।

दोहोरो झडपमा घाइते भएका सुरक्षाकर्मी धेरै संख्यामा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् भने केही थप उपचारका लागि अस्पताल भर्ना भएका छन्।

आन्दोलनकारीहरु उपचारपछि घर फर्केको बताउँदै, एसपी पोखरेलले भने, ‘स्थितिलाई नियन्त्रणमा लिने क्रममा १६ राउण्ड हवाईफायर, अश्रुग्याँस नेपाल प्रहरीले ७४ र सशस्त्रले  १७ सेल प्रहार गर्‍यो। आइतबार बिहानदेखि आन्दोलनमा संलग्न ७९ जना पक्राउ परेका छन्।

आन्दोलनकारीले बाँस, लाट्ठी, ग्याटिस (गुलेली), बोतल, ढुंगाइटालगायतले सुरक्षाकर्मीलाई प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।

निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि आन्दोलनकारीलाई तितरवितर गर्नका लागि सुरुमा पानीको फोहोरा प्रयोग गरेको थियो। त्यसपछि अश्रुग्याँस प्रहार गर्‍यो। यति गर्दा पनि प्रदर्शन झन् चर्किएपछि दोहोरो झडप भयो र स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाईफायर गरेको प्रहरीले जनाएको छ।

देवकोटा चोकमै रहेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय पहिचान पक्षधर आन्दोलनकारीले तोडफोड गरेको छन्। मन्त्री निर्मला लिम्बूको कार्यकक्षमा प्रदर्शनकारीले हानेका ढुंगा थुप्रिएका थिए। आन्दोलनकारीले गरेको तोडफोडबाट मन्त्रालयको विभिन्न ठाउँ र गाडीमा क्षति हुँदा करिब ३० लाख बाराबरको नोक्सान भएको एसपी पोखरेलले बताए।

प्रदेशको नाम कोशी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः पहिचानसहितको नामांकन हुनुपर्ने माग राख्दै पहिचानवादी र प्रहरीबीच झडप हुँदा त्यस क्षेत्र तनाव ग्रस्त बनेको थियो। 

प्रदेशसभा भवन नजिकै निजी तथा सरकारी अस्पतालका साथै वरपर डाक्टरका निजी क्लिनिकमा सेवा लिन जानेहरुले ठूलो समस्या भोग्नु परेको छ। आइतबार बिहानदेखि त्यस क्षेत्र तनाग्रस्त हुँदा बिरामीले सास्ती भोग्नु परेको हो। एक मिनेटमा पुग्ने अस्पताल पुग्ने बाटो तनावग्रस्त भएपछि करिब १० मिनेटको बाटो घुमेर दुःखका साथ अस्पताल जान बाध्य भए।

घटनापछि आतंकित एवं त्रसित वातावरण भएपछि त्यहाँका औषधि र किराना पसलहरु बन्द गरेका थिए। झडप रोकिएसँगै पहिचान पक्षधरले कोशी अस्पतालको गेट नजिक कोणसभा आयोजना गरे।

 

प्रकाशित: १४ जेष्ठ २०८० १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App