१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी भाडा कार्यान्वयनमा सिडिओको ‘परीक्षा’ !

मेची राजमार्गमा यात्रु र सवारी।

सरकारले तोकेको भाडादरमा असन्तुष्टि जनाउँदै केही व्यवसायी र मजदुरले हिजो र आज दिउँसोसम्म मेची राजमार्ग बन्द गराए। आज अपराह्नपछि सवारीका साधन चल्न सुरु गरेका छन् तर कुनै लिखित सम्झौता नहुँदा यात्रुलाई थप अन्योल भएको छ।

करिब २ दिन मेची राजमार्गको सवारी आउ–जाउ प्रभावित बनेपछि झापा जिल्ला प्रशासन र बन्दकर्ताका प्रतिनिधिबीच आइतबार झापा प्रशासनमै बैठक बस्यो।  बैठकमा के सहमति भयो भन्नेबारे बाहिर कुनै निर्णय सार्वजनिक गरिएन। तर, राजमार्गमा भइरहेको बन्द खुल्यो। यातायात व्यवसायीले यात्रुसँग भने, ‘झापा प्रशासनसँगको वार्तामा इलाम–झापाको भाडादर ४ सय ५० रुपैयाँ लिन सहमति भयो।’ नभन्दै, उनीहरूले यही दरमा यात्रुबाट भाडा लिने सर्तमा गाडी चलाए।

झापाका सिडिओ शिवराम पोख्रेलले भने बन्दकर्तासँग अब प्रदेश सरकारले तोक्ने भाडा नै कार्यान्वयन गर्नेगरी अहिले ‘साबिक’ कै भाडा लिने सहमति भएको बताए। ‘बन्दकर्ताका प्रतिनिधिलाई मैले बोलाएको थिएँ, उनीहरूसँग तत्काललाई साविककै भाडा लिने र अब प्रदेशले जति भाडा तोक्छ, त्यसलाई कार्यान्वयन गर्ने भन्ने कुरा भयो,’ सिडिओ पोख्रेलले भने, ‘तर, कुनै लिखित सहमति भएको छैन।’

सिडिओले ‘साबिक’ को भाडाका रूपमा ४ सय २५ लाई नै आधार मानेर यो रुटको भाडाका रूपमा १ रुपैयाँ पनि बढी लिन नहुने गरी व्यवसायीलाई सचेत गराएको बताए। तर, बन्दपछि खुलेका सवारीका साधनले यात्रुबाट यो रुटको भाडा साढे ४ सयदेखि ५ सय रुपैयाँसम्म लिएको यात्रुको गुनासो छ। ‘इलामबाट झापा पुगेपछि गाडीले यात्रुबाट ५ सय रुपैयाँ नै मागे,’ एक यात्रुले सुनाए, ‘तर, कसैले ५ सय नै दिए, कसैले साढे ४ सय।’

यता, इलाम जिल्ला प्रशासन कार्यालयमा इलाम, झापा, पाँचथर र ताप्लेजुङका सरोकारवालाबीच गत ८ गते बसेको बैठकमा यो रुटको भाडा ४ सय २५ रुपैयाँ निर्धारण गरिएको थियो। इलामका सिडिओ श्रवणकुमार पोख्रेल झापा प्रशासनसँग व्यवसायीको बैठक, सहमति के भएको भन्ने आफूलाई जानकारी नभएको बताउँछन्।

‘इलाममा बसेको चारै जिल्लाका सरोकारवालाले निर्धारण गरेको भाडा अहिलेलाई ४ सय २५ नै हो,’ उनले भने, ‘प्रदेश सरकारले आज–भोलि नै यो रुटको नयाँ भाडा तोक्ने सम्भावना पनि छ, त्यसपछि प्रदेशले तोकेकै भाडा लागू हुन्छ।’

इलामस्थित यातायात व्यवस्था कार्यालय प्रमुख छविलाल खतिवडाले पनि जेठ ८ मा तोकिएकै भाडादर अहिले कार्यान्वयन हुने बताए। ‘प्रदेशले नयाँ भाडा तोक्नुअघि यसअघि तोकिएकै सहमतिको भाडादर लागू हुन्छ,’ उनले भने, ‘झापा प्रशासनसँग भएको सहमतिबारे चाहिँ मलाई पनि जानकारी छैन।’

प्रदेशले भाडादर निर्धारण नगरुञ्जेल यात्रुले कति भाडा तिर्ने भन्नेमा अन्योल छ। झापा प्रशासनसँग भएको भनिएको सहमति अनुसारको भाडा तिर्ने कि इलामको निर्णय अनुसारको भन्नेमा यात्रु अन्योलमा परेका हुन्। तर, इलामस्थित प्रशासनले भने यात्रुलाई इलाम–झापा रुटको ४ सय २५ रुपैयाँभन्दा बढी नतिर्न आग्रह गरेको छ।

सिडिओको परीक्षा !

मेची राजमार्गमा २ दिन यातायात प्रभावित हुँदा प्रत्यक्ष र सामाजिक सञ्जालमार्फत् बन्दकर्ताको धेरै आलोचना भयो। स्वयं यातायात व्यवसायीले समेत सरकारी भाडादर उपयुक्त रहेकाले कार्यान्वयन गर्नुपर्ने बताइरहेपनि व्यवसायी र मजदुरकै अर्काे समूहले झन्डै भाडामा चित्त नबुझेको भन्दै मेची राजमार्गको सवारी आउ–जाउ बन्द गराएका थिए।

आफ्नै प्रालिका पदाधिकारी र प्रशासनबीचको सहमति अनुसार तय गरिएको भाडादर कार्यान्वयन गर्न व्यवसायीको सानो समूह असन्तुष्ट हुँदा हजारौं यात्रुले दुःख पाएपछि इलामवासीले विरोध जनाए। देश आर्थिक मन्दीले निराशाजनक अवस्थामा पुग्न लागेका बेला राजमार्ग बन्द गराउनु ‘अपराध’ भएको भन्दै स्थानीय सर्वसाधारण सामाजिक सञ्जालमा आक्रोशितसमेत देखिए।

इलाम बसपार्कमा आइतबार बिहान अलपत्र यात्रुमध्येका योगेन्द्र राईले सडकमा व्यवसायीका नाममा अराजकता निम्तिन नहुने बताए। ‘सबैजसो व्यवसायी नयाँ भाडादरमा सहमत नै देखिन्छन् तर किन आफ्ना गाडी सडकमा निकाल्दैनन्?’ उनले प्रश्न गरे, ‘भाडादरमा सहमत हुने व्यवसायीले पनि सामूहिक रूपमै कार्यान्वयनमा लाग्ने हो भने अहिले कसैले राजमार्ग बन्द गर्न सक्ने अवस्था देखिँदैन।’

उनले भाडामा सहमत व्यवसायीले पनि ‘तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु’ भन्ने व्यवहार गरे कि भन्ने शंका व्यक्त गरे। ‘इलामका सिडिओ मैले धेरै काम गरिरहेको छु भनेर लेखिरहन्छन्, भाडा कार्यान्वयन गर्ने विषयमा उनको भूमिका हेर्न बाँकी नै छ,’ राईले थपे, ‘आशा गरौं, सिडिओले सार्वजनिक सवारीबाट पीडित सर्वसाधारणलाई बाध्यताबाट छुटकारा दिन्छन्।’

त्यसैबेला बिर्तामोड जान गाडी कुरिरहेका अर्का अलपत्र यात्रु सोम खतिवडाले राजमार्ग बन्द गराउनु व्यवसायी र मजदुरको गलत काम भएको बताए। ‘हामीजस्ता यात्रुलाई दुःख दिएर व्यवसायीले सरकारी नियम–कानुनको खिल्ली उडाएका छन्,’ उनले भने, ‘सरकारको कानुन मान्दिनँ भनेर कसैले गैरकानुनी काम गर्न मिल्छ?’ इलामको सिडिओले विभिन्न क्षेत्रमा सुधारका काम गर्दैछन् भन्ने सुनेको तर राजमार्गमा भाडा कार्यान्वयनले यो रूप लिँदा उनी कसरी अघि बढ्छन् भन्ने हेर्न बाँकी नै रहेको उनले जनाए।

विभिन्न पेसा–व्यवसायमा आबद्ध नागरिकले पनि भाडा कार्यान्वयन नगरी राजमार्ग बन्द गराउने विरुद्ध सामाजिक सञ्जालमार्फत् विरोध जनाए। उनीहरूले बन्द कुनैपनि समस्याको समाधान नभएको र आफ्ना कुनै माग भए सम्बन्धित निकायमा राख्दा बन्दबाहेकका विकल्प अपनाउन सुझाव दिएका थिए। कतिपयले युवाहरू यातायातमा सिन्डिकेट भइरहेको भन्दै त्यसविरुद्ध सडकमै उत्रिनुपर्नेसमेत बताए।

नेपाली कांग्रेस नेता होम दुलालले नियम, कानुन नमान्ने र अराजक भएर सडक अवरोध गर्नेको रुट पर्मिट नै खारेज गर्नुपर्ने माग राखेका छन्। सामाजिक सञ्जालमार्फत् आएको उनको अभिव्यक्तिमा प्रतिक्रिया दिने सबैजसोले समर्थन गरेका छन्।

विद्यार्थी नेता विशाल कार्कीले सरकारी निकायले तोकिदिएको भाडादर उचित रहेको भन्दै आफूखुसी भाडा लिने र सेवाग्राही सेक्ने कुरा किमार्थ स्वीकार्य नहुने ‘स्ट्याटस’ लेखेका छन्। ‘सबैखाले सिन्डिकेटको अन्त्य गरौं,’ हामी बरु पैदल हिँड्न तयार छौं,’ उनले लेखेका छन्, ‘आन्दोलनका नाममा बन्द–हड्ताल गरेर सर्वसाधरणलाई दुःख दिने काम बन्द गरौं।’

अर्का नेता प्रकाश परियारले बन्दकर्तालाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म ढुंगाको जबाफ गुलाफको फूलले दिँदैछौं, यस्तै दादागिरी हो भने गमलाले नै जबाफ दिन बाध्य हुनेछौं। गाडी चलाउन मन लागे चलाउनू, नत्र थक्याउनू, आफूले ठग्न पाइनँ भनेर चलाउनेलाई अवरोध नगर्नू।’ उनले तोकिएको भाडादर कार्यान्वयन गर्न आग्रह गरेका छन्।

आफूखुसी भाडा लिने प्रयासविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउनेमा दलका नेता, कार्यकर्ता, कर्मचारी, पत्रकार, अधिकारकर्मीलगायत सबैजसो पेस–व्यवसायका व्यक्ति छन्। व्यवसायीकै ठूलो हिस्साले पनि अहिलेको नयाँ भाडादर कार्यान्वयनकै लागि जोड दिएको सामाजिक सञ्जालमा देखिएको छ। कतिपयले इलामको जिल्ला प्रशासन कार्यालयले धेरै सुधारका काम गर्ने प्रचार गरिरहेका बेला अहिले उसको ‘असली’ परीक्षा भएको पनि बताएका छन्।

‘इलामका सिडिओ साब आफैं प्रशासनले यो र त्यसो सुधार गरेको छ भनेर प्रचार गरिरहनुभएको छ,’ जिल्लाका एक अगुवा भन्छन्, ‘वास्तवमा सिडिओको असली परीक्षा चाहिँ अहिलेको भाडादर कार्यान्वयन र यातायात क्षेत्रको सुधारमा देखिनेछ।’

यसअघि संघीय सरकारले मेची राजमार्गको इलाम–बिर्तामोड रुट चल्ने सार्वजनिक सवारीका यात्रुको भाडा ३ सय ८३ रुपैयाँ तोकेको छ। तर, चारै जिल्लाका व्यवसायी, प्रशासन र अन्य सरोकारवालासमेतको बैठकमा ४ सय २५ रुपैयाँमा सहमति भएको हो। गत कात्तिक ९ मा लागु भएको यो रुटको भाडादर ४ सय ३० रुपैयाँ थियो। तर, व्यवसायीले यात्रुबाट ५ सय रुपैयाँ असुलिरहेका थिए।

प्रकाशित: १४ जेष्ठ २०८० १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App