coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा पार्क निर्माणमा भ्रष्टाचार, अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

जुम्लाको तिला गाउँपालिका-१ स्थित नाग्मा पार्क उद्यान निर्माणमा भ्रष्टाचार गरेका आरोपमा ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय, सब-इन्जिनियर प्रेम बहादुर बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

त्यसैगरी नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

प्राविधिकसँगको मिलेमतोमा कम काम गरी कार्य सम्पादन मूल्याङ्कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरूको सहमतिमा बिल भरपाई बनाई अनुगमन गरी सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारको ठहर छ।

नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत भएको लागत अनुसार कार्य भने नभएको देखिन्छ। स्थलगत नाप जाँच गर्ने क्रममा थोरै काम गरेको भएता पनि बढी काम भएको प्राविधिक मूल्याङ्‍कनसहितको नापी किताब तयार पारी कार्य सम्पन्न प्रतिवेदन बुझाइ  सोही बमोजिम भुक्तानी पनि दिइएको छ।

सार्की, रोकाय र बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा उनीहरुलाई ५ लाख ४५ हजार ४ सय १९ रुपैयाँ २४ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदावी गरिएको छ।

साथै, उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधराबाट पनि ५ लाख ४५ हजार ४ सय १९रुपैयाँ २४ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो समेत जफत गर्न मागदावी प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

प्रकाशित: १४ जेष्ठ २०८० १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App