coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भाडाको विषयलाई लिएर मेची राजमार्गमा सवारी चलाउन अवरोध

मेची राजमार्गअन्तर्गत इलाम–झापा सीमा जोरकलसमा सवारी साधन चल्न अवरोध गरिएपनि अलपत्र यात्रु।

यातायात व्यवसायीका प्रतिनिधि, प्रशासन र सरोकारवालाको संयुक्त बैठकले निर्धारण गरेको भाडामा असहमति जनाउँदै १ समूहले मेची राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध प्रयास गरेको छ। 

राजमार्गको इलाम–झापा सीमा जोरकलसमा केही चालक र सवारी श्रमिकले आफ्ना गाडी नगुुडाउने र राजमार्गमा गुडिरहेका अन्य सवारी साधनसमेत अवरोध गर्ने प्रयास गरेका हुन्।  

जेठ ८ मा इलाम जिल्ला प्रशासन कार्यालयमा इलामसहित झापा, पाँचथर र ताप्लेजुङसमेतका यातायात व्यवसायी, प्रशासन, यातायात व्यवस्था कार्यालय, राजनीतिक दललगायत सरोकारवालाको बैठक बस्यो। बैठकले मेची राजमार्गमा चल्ने सवारी साधनको भाडा चारै जिल्लामा एकरूपको बनाउने निर्णय ग¥यो। र, इलाम–बिर्तामोडको भाडादर ४ सय २५ रुपैयाँ निर्धारण गर्‍यो। 

गत कात्तिक ९ मा लागु भएको भाडादर (४ सय ३०) मा ५ रुपैयाँ घटाएर नयाँ दर निर्धारण गरियो। कात्तिकमा तोकिएको भाडादर कार्यान्वयन नहुँदा यो रुटमा सवारीका साधनले ५ सय रुपैयाँ लिइरहेका थिए। जेठ ८ को बैठकले यो रुटको वैज्ञानिक भाडादर ४ सय १६ रुपैयाँमात्रै हुने भएपनि व्यवसायीकै प्रस्तावमा बढाएर ४ सय २५ मा ‘सहमति’ भयो।  

तर, शुक्रबार केही व्यवसायीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा लेखियो– ‘नयाँ भाडादर वैज्ञानिक भएन, यो नसच्याए जेठ १३ देखि सवारीका साधन चलाउन सक्दैनौं।’ तर, जेठ ८ गते प्रशासनमा बसेको भाडा निर्धारण गर्दाको बैठकमा हस्ताक्षर गर्नेमध्येले पनि विज्ञप्तिमा हस्ताक्षर गरेको देखिन्छ।

शनिबार राजमार्गको जोरकलशमा इलामबाट झापा गर्दैगरेका यात्रुवाहक सार्वजनिक सवारी अवरोध गरियो। सुरुमा इलाम–झापा रुटका गाडी अवरोध गरिएपनि केहीबेरपछि पाँचथर र ताप्लेजुङबाट झापा झरेका र फर्किएका यस्ता सवारीसमेत अवरोधको शिकार भए। प्रहरीले बेला–बेला अवरोध खुलायो।  

सरकारले व्यवसायीसमेतको सहभागितामा निर्धारण गरेको भाडादर कार्यान्वयनका लागि प्रहरीले समेत अनुगमन बढाएका बेला यात्रुले सास्ती खेप्नुपरेको हो। यातायात व्यवसायीआबद्ध प्रालिको नेतृत्वले भाडादरमा सहमति गरेको र सरकारी भाडा नै कार्यान्वयन गर्ने प्रतिबद्धता गरिरहँदा सडकमा भने व्यवसायीकै नाम गर्दै अवरोधको शृंखला सुरु भएको हो।

तर, व्यवसायी स्वयं नै यो अवरोधप्रति रुष्ट छन्। उनीहरू जेठ ८ मा तोकिएकै भाडा कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको बताउँछन्। पूूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बा आफ्नो प्रालिमा आबद्ध सबै व्यवसायी नयाँ भाडामै सहमत रहेको बताउँछन्। ‘हाम्रो प्रालिमा करिब ९० गाडी छन्, यीमध्ये ४० वटाजति इलाम–बिर्तामोड रुटकै छन्,’ उनले भने, ‘जोरकलशमा पुगेपछि हाम्रा सवारी साधनको समेत चाबी खोसिएको सूचना आयो, हाम्रो प्रालिमा आबद्ध सवारी साधन अहिले आन्दोलनमा छैनन्। उनीहरूले विरोध गरेका छैनन्।’  

राजमार्गको भाडादर संघीय सरकारले नै तोक्ने प्रावधान छ। र, सवारी साधनले दिने सुविधाका आधारमा जिल्ला यातायात व्यवस्थापन समितिले त्यसमा २० प्रतिशतसम्म पुनर्विचार गर्नसक्छ। संघीय सरकारकै भाडा कार्यान्वयन गर्ने हो भने इलाम–बिर्तामोड रुटको भाडादर ४ सय रुपैयाँभन्दा पनि निकै तल छ। तर, जिल्ला यातायात व्यवस्थापन समितिसँगको समन्वय र व्यवसायीसमेतको सहभागितामा यो रुटको भाडादर ४ सय २५ रुपैयाँ बनाउँदासमेत केही व्यवसायी असन्तुष्ट नै देखिनु अनौठो भएको अध्यक्ष सुब्बा बताउँछन्।  

‘मेची राजमार्गको बिग्रेको अवस्थालगायतबारे व्यवसायीले ध्यानाकर्षण गराएपछि प्रशासनले पनि त्यसमा पुनर्विचार नै गरेको छ र संघीय सरकारले तोकेभन्दा बढी नै भाडा निर्धारण गरिएको पनि छ,’ अध्यक्ष सुब्बा भन्छन्, ‘अहिले निर्धारित भाडा कार्यान्वयन गर्दा व्यवसायीलाई घाटा छैन तर व्यवसायीमाथि विभिन्न तबरले भइरहेको शोषण चाहिँ अन्त्य गर्न प्रशासन तयार हुनुपर्छ। यसमा हामी पनि सहयोग गर्छाैं।’ उनले राजमार्गमा प्रहरी–प्रशासन पनि इमान्दार हुनुपर्ने र राजमार्गका विभिन्न स्थानमा व्यवसायीका नाममा खुलेका काउन्टरले गरिरहेको व्यवसायीमाथिकै ‘शोषण’ अन्त्य गर्नुपर्ने माग पनि गरे।  

पूर्वाञ्चल यातायात प्रालिका सुमन श्रेष्ठले सरकारले तोकेकै भाडा कार्यान्वयन गर्नुपर्ने बताए। ‘व्यवसायीले सर्वसाधारण यात्रुलाई चाहिँ जति भाडा माग्दा पनि हुन्छ भनेजस्तो गरी धेरै कमाउन खोज्नु लज्जास्पद छ,’ उनले भने, ‘पछिल्लो समय इलाम–बिर्तामोड रुटको भाडा सरकारले जति तोकेको छ, त्यही कार्यान्वयन होस्।’ श्रेष्ठले व्यवसायीसमेतको सहभागितामा निर्धारित पछिल्लो भाडादर लागु गराउन प्रशासन जोडसाथ लाग्नुपर्ने बताए। ‘सरकारले तोकेकै भाडादर इलामे जनताको हितमा छ, व्यवसायीले कुनैपनि बहानामा यात्रुलाई दुुःख दिएर राजमार्गमा गाडी अवरोध गर्नु दादागिरीमात्रै हो,’ श्रेष्ठले थपे, ‘बैठकमा बसेर भाडामा सहमति गर्ने अनि सडकमा गएर कुर्लिन त लाज लाग्नुपर्ने हो।’ उनले पोहोर–परारतिर कोरोना महामारीका बेला बढी भाडा लिएजस्तो अवस्था अहिले नभएको पनि स्मरण गराए।शनिबार पनि इलाम र झापाका केही मजदुर र व्यवसायीले संयुक्त विज्ञप्ति जारी गरी माग पूरा नभएसम्म सवारीका साधन चल्न नदिने चेतावनी दिएका छन्।  

सिडिओ श्रवणकुमार पोख्रेलले भाडादर सम्बन्धमा कुनैपनि विवाद नरहेको जनाए। ‘कसैले भाडाको निहुँमा राजमार्ग अवरोध गरेमा हामीलाई तुरुन्त खबर गर्नुस्, हामी एक्सनमा गइहाल्छौं,’ उनले सर्वसाधारण यात्रुलाई आग्रह गर्दै भने, ‘जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजमा सूचना र सम्पर्क नम्बर राखिएका छन्, कुनै समस्या परे तत्काल खबर गरिहाल्नुहोला।’ उनले नयाँ भाडादरमा व्यवसायीको समेत सहमति रहेको तर कसैले ‘लुकेर’ सवारी साधनमा अवरोध प्रयास गरेको सूचना आएको जनाए। 

प्रकाशित: १३ जेष्ठ २०८० १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App