४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बाजुराका तीन खोलामा बेलिब्रिज बन्ने

बाजुराको तीन स्थानमा बेलिब्रिज निमार्ण गरिने भएको छ।

पुल निर्माण भएका अनाई, दानसाँघु र भौनेरा खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो। ती खोलाका कारण सडक निर्माण भएर पनि पुल नहुँदा बर्षादको बेला यातायात सेवा अवरुद्ध हुने गरेको थियो। बेलिब्रिज निर्माण पछि सडक बाह्रै महिना चल्ने अवस्था हुनेछ।

बेलिब्रिज मार्तडी कोल्टी सडक खण्ड अन्तर्गत बाउलीको अनाई खोला, कोल्टीको दानसागु खोला र मार्तडी, आटीचौर थामलेक सडक अन्तर्गत भौनेरा खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएको छ।

बेलिब्रिज निर्माणका लागि बाजुराका राजनीतिक दलहरुले लामो समयदेखि माग गर्दै आएका थिए। बाजुरा निर्वाचन क्षेत्र (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित नरेशकुमार शाही सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बनेपछि केन्द्रीय मन्त्रालयबाट पनि तोकेता आएको हो। बेलिब्रिज यसै वर्ष भित्र निर्माण गरिने बताइएको छ।

बाउली अनाई, दानसाँघुमा बेलिब्रिज बने मार्तडी कोल्टी कवाडी सडक नियमित सञ्चालनमा हुने छ। भने भौनेरामा बेलिब्रिज निर्माण भए साँफे मार्तडी सडक अवरोध हुँदा पनि वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने छ।

तीन स्थानमा बेलिब्रिज निर्माणपछि जिल्ला सदरमुकाम मार्तडीबाट अन्य स्थानीय तहसँग जोडिएका ग्रामीण सडक पनि सञ्चालनमा रहने अवस्था छ। बेलिब्रिज (पुल) निमार्णका लागि जिल्ला र आसपासका जिल्लाहरूमा जगेडामा रहेका बेलिब्रिजलाई सो क्षेत्रमा लिई जोड्न संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्देशन समेत दिइसकेका छन्।

हालसम्म पुल निमार्ण हुन नसकी सडक सञ्चालसँग नजोडिएका ठाउँमा तत्काल बेलिब्रिज निमार्ण गरी सडक यात्रालाई सहज बनाउने गरी मन्त्री स्तरीय निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पुल महाशाखाका उपसचिव कृष्णराज अधिकारीले बताएका छन्।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाजुराका तीन वटै ठाउँमा बेलिब्रिज तत्काल निर्माण गर्न जेठ ३ गते मन्त्री स्तरको निर्णय गरेका थिए। सोही अनुरूप मन्त्रालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई असार मसान्त भित्रै ती ठाउँमा बेलिब्रिज निमार्ण गर्न निर्देशन दिएको बताएका छन्।

यता सडक डिभिजन कार्यालय साफेबगरका कार्यालय प्रमुख विवसबाबु सदादेवका अनुसार मन्त्रालयबाट नीतिगत निर्णय भई परिपत्र आएको छ अब तत्काल प्रक्रियामा जाने बताएका छन्। 

त्यस्तैसाँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बल्दे अमकोट द्धारी वैकल्पिक मार्गमा यसै आव काम सम्पन्न गर्ने गरी गत वैशाख २० गते सडक डिभिजन कार्यालय साँफेवगरले ठेक्का आह्वान गरिसकेको छ। कुल लागत १ करोड २९ लाख ९५ हजार ३ सय २४ रुपैयाँ ६६ पैसा रहेको छ।

बाजुरामा केही वर्षदेखि कच्ची सडकबाट यातायातका साधन सञ्चालन भईरहेपनि यात्रा मौसमी हुँदै आएको छ। पुल नभएका ठाउँमा बर्खा सिजनमा यातायातका साधन अवरुद्ध हुने गरेका छन्। कतिपय ठाउँमा आंशिक रुपमा यातायातका साधन सञ्चालन भएपनि खोलामा पुल नहुँदा बर्षादको बेला यहाँका स्थानीयले पैदल यात्रा गर्दै आएका छन्।

सडक बाजुरा बासीका लागि पहिलो समस्या बन्दै आएको छ। कच्ची बाटो मात्र नभई पुल अभावका कारण पक्की बाटो समेत अवरुद्ध हुने अवस्था बाजुरासँग छ। पुल निमार्ण हुने भए पछि यातायातका साधन नियमित हुने र वर्षा सिजनको यात्रा पनि सहज हुने देखिन्छ। सडक र पुल निमार्ण भए पछि बर्सेनि गाडी गुड्ने र मौसमी यात्राको अन्त्य हुनेप्रति नागरिकको अपेक्षा छ।

प्रकाशित: १२ जेष्ठ २०८० १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App