११ फाल्गुन २०८० शुक्रबार
समाज

सिँचाई पुगेपछि बाँझो रहने गर्भेटाँडी जमिन हराभरा

पश्चिम चितवनको पटिहानी नजिँकै गर्भेटाँडी छ । सिँचाईको सुविधा नभएर नै त्यस ठाउँलाई पुर्खाले गर्भेटाँडी नाम राखेका थिए। यहाँ विगतमा एक सिजन खेती गर्नपनि किसानलाई समस्या हुन्थ्यो। तर, हिजोआज सिँचाईको सुविधा पुगेपछि किसानहरु व्यवसायीक रुपमै खेती गर्न थालेका छन्।  

बोटे पशुपन्छि कृषि फर्म दर्ता गराएर इन्दिरा बोटे व्यवसायीक खेतीमा लागेकी हुन्। अहिले उनको बारीमा १५ कठ्ठामा मकै र दुई कठ्ठामा तरकारी छ। त्यहाँ कांक्रा र बोडि हुर्किएका छन्।  अघिल्ला बर्ष बाँझै हुने उनको बारीमा मकै पाक्न लागेका छन्। आड्को दुई कठ्ठामा तरकारी समेत गरेकी छन्। यतिखेर बाँझै रहने अधिकांश जमिनमा खेती रहेको उनी बताउँछिन्। ‘हामीले बर्षमा एक पटक मात्र बाली लगाउँदथ्यौँ, अरु बेला बाँझो नै हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले बाली लगाएर हराबरा गराउन सफल भएका छौँ।’ १५ कठ्ठामा उत्पादन भएको मकै बेचेर धान लगाउने तयारीमा बोटे छन्।  

चितवनमा खडेरीका कारण अधिकांश ठाउँमा मकै सुकेको देखिन्छ तर, यस ठाउँमा मकैका घोगा राम्रो देखिन्छ। कृष्णकुमारी महतोलाई बर्खामा पानी नभएर खेत सुख्खा राख्नुपरेको दिनसमेत ताजै छ। तर, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले डिप ट्यूबेल निर्माण गरिदिएपछि ती दिन नआउने बताउँछिन्। ‘पहिला आकाशको भरले खेती लगाउनुपर्दथ्यो । पानी आए खेती राम्रो हुन्थ्यो। नभए जमिन बाँझै रहन्थ्यो,’ उनले भनिन्, ‘अहिले डिप ट्यूबेल बनेपछि हामीले हिउँदमा तोरी र अहिले मकै समेत लगाउन पायौँ खुशी छौँ।’ रोपाइँ गर्दा पानी नपुगेर आधा गरो छाड्नेसम्मको अवस्था आएको बताईन्।  

कमला ढकालले पनि यतिखेर ५ कठ्ठा जमिनमा मकै लगाएकी छन्। ‘विगतमा बाँझै राख्ने जमिनमा मकै फलेको देख्दा उनी आफै दंग छिन्। अहिले तोरी पनि राम्रो भयो,’ बारीमा फलेका मकै देखाउँदै ढकालले भनिन् ‘यी मकै यति राम्रा भएका छन्। यहाँ त हामीलाई स्वर्ग भएको छ।’ बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उनले बताईन्।  

यहाँ चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले ८७ लाख ४८ हजार लागतमा डिप ट्युबेल निर्माण गरिदिएको हो। यसले ४० देखि ६० बिगाहा क्षेत्रफललाई प्राप्त रुपमा सिँचाई पुग्ने आयोजनाका प्रमुख देवकुमार स्याङबो बताउँछन्। डिप बोरिङहरु पूर्णरुपमा सञ्चालनमा आएसँगै आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको छ।  

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले पश्चिम चितवनमा विभिन्न डिप ट्युब वेल र स्यालो ट्युबवेल निर्माण गरिरहेको छ। दुई वर्षको अवधिमा आयोजनाले सिँचाइ नपुगेको ठाउँमा भूमिगत सिँचाइलाई प्राथमिकता राखेर गरेको छ। आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म ६० वटा ठूला डिप ट्युबवेल सिँचाइ र ३२५ वटा स्यालो ट्युबवेल निर्माण गरेको बताए। भरतपुर महानगरपालिका भित्र चालु आर्थिक बर्षमा मात्रै २१ हेक्टर क्षेत्रफललाई पुग्ने ट्युबेल गाडिएको उनले बताए।

आयोजनाका कार्यक्रम भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा सञ्चालित छन् तर पनि अधिकांश काम भरतपुर महानरपालिकामै केन्द्रित देखिन्छ। ‘हामीले १२ महिना नै सिँचाइ गर्न मिल्ने गरी साना ठुला ट्युबवेल निर्माण गरेका छौँ,’ स्याङबोले भने, ‘यसअघि सिँचाइ नपुगेको कृषि योग्य जमिनमा काम गरिरहेका छौँ।’

चितवनमा अझै ४० हजार हेक्टर जमिनमा सिँचाइ नपुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ तर आयोजनाले ९ हजार पाँच सय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पु¥याउने लक्ष्य लिएको उनले बताए । यस परियोजनाको बजेट ४ अर्ब ४७ करोड रुपैयाँ छ ।  

भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजना मार्फत समन्वय गरेर ७ हजार विगाहा क्षेत्रफलमा सिँचाईको व्यवस्था गरिएको महानगरपालिका प्रमुख रेनु दाहालल बताईन्। ‘भूमिगत सिँचाई, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाईका कार्यक्रम अगाडि बढेका छन्,’ उनले भने, ‘भरतपुरमा सिँचाईमा कृषि क्रान्ति नै भएको छ।’ अवको चार बर्षभित्र महानगरपालिका भित्रका सबै जमिनमा सिँचाई पुग्ने उनले बताए । 

प्रकाशित: १२ जेष्ठ २०८० ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App