१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पानीको परम्परागत श्रोतहरु सरसफाई गरी मनाइयो सिथि नखः पर्व

टोल टोलमा रहेका पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार भक्तपुरमा सिथि नखः पर्व मनाइएको छ। टोल टोलमा रहेका पोखरी, इनार, कुवा, ढुंगेधारा आदिको सरसफाई गरी पर्व मनाइएको हो।

गृष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथि (यो वर्ष जेठ ११ गते बिहीबार) पर्वका दिन यहाँका नेवार समुदायले यसरी सामाजिक कार्य गरी पर्व मनाएका हुन्। सरसफाईमा यहाँका वडा अध्यक्षदेखि सर्वसाधारण, शिक्षक, विद्यार्थी काममा खटिएका थिए।

भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले पर्वको दिन टोलबासीहरुले टोलमा रहेको ढुंगेधारा सरसफाई गरेको सुनाए। ढुंगेधारामा रहेका घाँसपात, हिलो आदि सफाई गरेका हुन्। आफ्नो टोलवासीले मात्रै नभई भक्तपुरभरिका नेवारले यसरी नै आफ्नो घर नजिकको पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी पर्व मनाउने गर्दै आएको स्मरण उनले गरे।

पहिला पहिला घरघरमा धारा नभएको बेला यही कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी प्रयोग गर्ने गरिन्थ्यो। पछि घरघरमा धारा आएपछि यसको प्रयोग कम हुन गएको थियो। तर पछिल्ला वर्षहरुमा यसको महत्त्व फेरि बढेको छ। किनकि सहरमा जनसंख्या बढे सँगै खानेपानीको समस्या हुनको थालको छ। यही कारण विकल्पका रुपमा फेरि इनार, कुवा, ढुंगेधारा र पोखरीको महत्त्व बढ्न थालेको हो।

भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित ज्ञान विजय निमाविले पनि पर्वकै अवसरमा नजिकैका नःपुखु (पोखरी) सरसफाई गरेका थिए। स्कुलका शिक्षकशिक्षिका, विद्यार्थीहरु त्यसका लागि खटेका थिए। सिथि नखः पर्वमा सफा गरेका कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी चार दिनपछि मात्र चलाउने परम्परा रहेको छ।

सिथिःनखको दिन घरघरमा भोज खाने मात्र नभई सरसफाई पनि गर्ने गरिन्छ। यस दिन घरघरमा वः (बारा) पकाएर विशेष रुपमा खाने गरिन्छ। बाराका साथै यो दिन चटामरी, पापड, मालपुवा र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने चलन छ।

संस्कृतिविद् जननीप्रसाद मूल सिथि नखः पर्व लिच्छविकालदेखि सुरु भएको बताउँछन्। त्यस बेलादेखि नै पानीको मुहान, ढुंगेधारा, इनार, घर, चोक, नालीको सरसफाइ गर्ने पर्वका रूपमा विकास भएको उनी बताउँछन्।

खानेपानीका स्रोतको संरक्षण तथा सरसफाईमा मौलिक परम्परा र संस्कृतिको पुनः स्थापना रुपमा सिथि.नखः पर्व मनाइने उनले जानकारी गराए। साथै उनले यसले पर्वबारे युवावर्गलाई सांस्कृतिक मान्यताबारे सचेत गराउनुपर्ने बताए। साथै सिथि नखः पर्वले पानी र सरसफाईको महत्त्व पनि बोध गराउने पर्व भएको उनको बझाई छ।

एक अध्ययनले उपत्यकामा दुई सय ३३ वटा परम्परागत ढुङ्गेधारा अझै चालू रहेको देखाएको छ। एक सय ५६ लोप भइसकेको देखाएको छ। परम्परागत इनारहरु ललितपुरमा तीन सय ८८, मध्यपुर थिमिमा ९८ र भक्तपुरमा मात्रै तीन सय ९८ रहेको तथ्यांक छ।

प्रकाशित: ११ जेष्ठ २०८० १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App